नेपाल आइडलका आकर्षण

नेपाल आइडलका आकर्षण

गायनबाट सुपरस्टार बन्ने प्लेटफर्मको रूपमा चर्चित 'आइडल' रियालिटी सो नेपालमा पनि भित्रिएको छ । सन् २००१, ६ अक्टुबरमा बेलायती टेलिभिजनमा फ्रिम्यान्टल मिडियाले पहिलोपटक पप आइडल प्रसारण गरेको थियो । रियालिटी टेलिभिजन गायन प्रतियोगितालाई बेलायती टेलिभिजन प्रोड्युसर साइमन फलरले सिर्जना गरेका हुन् । न्युजिल्यान्डको टेलिभिजन शृंखला पपस्टारलाई बेलायतले मान्यता लिएर प्रसारण गर्न थालेको हो ।

२००१ को जनवरीमा प्रसारण भएको यो शृंखलाबाट प्रेरित साइमनले 'पप आइडल' निर्माण गरेका थिए । पपस्टारले भन्दा पप आइडलले राम्रो दर्शक पाएपछि यस कार्यक्रमको लोकप्रियता झनै बढ्यो । पप आइडललाई लोकप्रिय बनाउने कारण यसका निर्णायकको भूमिका र यसका विजेता विल यंगको सफलता पनि थियो ।

पप आइडलकै आधारमा रहेर अमेरिकामा अमेरिकन आइडल सुरु भयो । पप शब्द लिएर पप आइडल चलाएकोमा पपस्टार सिर्जना गरेका जोनाथन डलिङले विवाद गरेपछि कानुनी रूपमा पप आइडल बन्द भयो । पोल्यान्डले पहिलोपटक आइडल संरचना 'एडप्ट' गरेर आइडल शीर्षकको गायन प्रतियोगिता सञ्चालन गर्‍यो । पप आइडलको पहिलो शृंखला बन्द भएपछि सन् २००२ मा आइडल सार्वजनिक भएको हो । अमेरिकन आइडल शृंखला सुरु भएपछि अमेरिकामा यो निकै लोकप्रिय भयो ।

यसलाई अमेरिकी टेलिभिजनको इतिहासमै धेरै लोकप्रिय कार्यक्रममध्ये मानिन्छ । अहिले विश्वका ४६ मुलुकले आइडल शृंखलाको अनुमति लिएका छन् । सन् २००४ देखि भारतमा पनि इन्डियन आइडल सुरु भयो । पहिलो इन्डियन आइडल अभिजित सावन्त बनेका थिए ।

नेपालमा इन्डियन आइडलको लोकप्रियता तेस्रो संस्करणदेखि देखिएको हो । तेस्रो सिजनमा नेपालीभाषी प्रशान्त तामाङले सहभागिता जनाएपछि प्रशान्तलाई जिताउन नेपालीले अभियान नै चलाएका थिए । टोलटोलमा प्रोजेक्टरमार्फत इन्डियन आइडल हेरिएको थियो । प्रशान्तले इन्डियन आइडल जितेपछि नेपालीमा उत्सव छाएको थियो । इन्डियन आइडलको छ संस्करण सम्पन्न भइसकेको छ ।

अहिले सातौं सिजन चलिरहेको छ । अमेरिकामा १५ संस्करण सम्पन्न भइसकेको छ भने जर्मनीमा १४औं संस्करण चलिरहेको छ । फ्रान्स, दक्षिण अफ्रिका, इन्डोनेसिया, अस्ट्रेलिया, ब्राजिललगायतका देशमा आइडलको लोकप्रियता उत्तिकै छ ।

एपी वन टेलिभिजनमार्फत नेपालमा पहिलोपटक आयोजना हुन लागेको नेपाल आइडलका लागि नेपालीको व्यग्रता निकै पहिलेदेखि नै देखिन थालेको थियो । नेपाल आइडलको अडिसन शनिबारदेखि सुरु हुँदैछ । अनुमति चाहने समूहका बारेमा राम्रो अध्ययन गरेरमात्र फ्रिम्यान्टलले अनुमति दिने गरेको छ । जसमा देशअनुसारको सम्झौता हुन्छ । नेपाल आइडल विजेताले २० लाख रुपैयाँ, १५ लाख रुपैयाँ बराबरको भीडीयो एल्बम र ३१ लाख ४५ हजार रुपैयाँ बराबरको गाडी पुरस्कारले पनि नेपाल आइडलको आकर्षण बढाएको छ । यति ठूलो पुरस्कार राशि दिने यो नै पहिलो नेपाली रियालिटी सो हो ।

विश्व चर्चित कार्यक्रमको फ्रेन्चाइज लिएर नेपालमा सञ्चालन गरिएको पनि यो पहिलो कार्यक्रम हो । यसमा केवल गायनमात्र नभई प्रतियोगीको पारिवारिक पृष्ठभूमि, भावनात्मक पक्षको बारेमा पनि देखाइनेछ । यसले दर्शकलाई भावनात्मक रूपमा कार्यक्रमसँग जोड्ने विश्वास गरिएको छ ।

नेपाल आइडल सातामा दुई शृंखला प्रसारण गर्ने गरी कुल ३२ शृंखला प्रस्तुत गरिँदै छ । टेलिभिजनले सातामा एक दिन 'नेपाल आइडल एक्स्ट्रा' भनेर छुट्टै प्रसारण गर्नेछ । प्रतियोगिताको निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने सुशील नेपाल र रीमा विश्वकर्मा कार्यक्रम प्रस्तोताका रुपमा रहने छन् ।

कार्यक्रम प्रस्तोताका उत्साह

रीमा विश्वकर्मा

गीत गाउन आउँदैन । अभिनयसँग सम्बन्धित भएको भए नौलो लाग्दैनथ्यो । तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलमा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म एकदमै उत्साही छु । सांगीतिक क्षेत्रमा आफूलाई स्टारको रूपमा देख्न चाहनेहरूको लागि यो सुनौलो मौका हो । उनीहरूको प्रतिभालाई परिपक्व बनाउने एउटा मञ्च हो । जसरी गायन क्षेत्रमा लाग्नेहरूका लागि यो मञ्च विशेष छ, त्यसरी नै मेरो लागि पनि विशेष छ ।

मेरो करियर टेलिभिजनबाटै सुरु भएको हो । समाचार वाचनबाट टेलिभिजनमा देखिएकी थिएँ । यो शोमा मेरो स्क्रिप्ट बिनाको प्रस्तुति दर्शकले देख्नुहुनेछ । यसले मेरो करियरलाई बुस्ट गर्ने विश्वास लिएकी छु । टेलिभिजनलाई म सधैं करियर मान्ने भएकाले फेरि टेलिभिजनको फ्रेमभित्र फर्किने मौका पाएकी छु । कार्यक्रम प्रस्तोताको हिसाबले दर्शकसँग प्रत्यक्ष अन्तक्रिया गर्ने अवसर पाइने हुँदा खुसी लागेको छ । मेरा फ्यानहरूसँग साक्षात्कार हुने मौका पाउँदैछु ।

सुशील नेपाल

नेपाल आइडलको लागि हरेक नेपाली उत्साही छन्, यसमा म पनि पर्छु । २० वर्षको कार्यअवधिमा धेरै शो गरेँ । अन्तर्राष्ट्रिय आइडलको फ्रेन्चाइज गर्न पाउनु मेरो लागि जति खुसीको कुरासँगै एउटा चुनौती पनि हो ।

आइडल टिमसँग केही दिनदेखि कार्यक्रमको तयारी गरिरहेको छु ।

नयाँ टेलिभिजन, नयाँ कार्यक्रम, नयाँ अनुभव हुँदैछ । नेपालमा अहिलेसम्म दुईवटा बेसमा रहेर रियालिटी शो भइरहेका छन् । एउटा गायन र अर्को नृत्य । प्रायः नेपालका चर्चित रियालिटी शोमा कार्यक्रम प्रस्तोताको रूपमा काम गरेको छु ।

सबै अनुभवमा यो सबभन्दा ठूलो चुनौती लागेको छ । आशा छ, दर्शक र सहभागीलाई सन्तुष्ट बनाउन सक्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.