प्रशासन कार्यालयमै ठगिन्छन् सेवाग्राही

प्रशासन कार्यालयमै ठगिन्छन् सेवाग्राही

विराटनगरः काम लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेका विराटनगर ६ का सुदीप लम्साललाई एक हुल युवा आएर घेरा हाले ।

कार्यालयमा छिर्न अवरोध गर्दै गेटमा घेरा हालेका युवाले एकाएक सोध्न थाले, ‘तपाईं नागरिकता बनाउन आउनु भएको हो ? तपाईंलाई राहदानी चाहिएको छ ? कि हुलाक टिकट चाहिएको हो ? हो भने सुरुमा हामीसँग सहयोग लिएर मात्र भित्र छिर्दा तपार्इंको काम तुरुन्त हुन्छ हैन भने काम लिन सक्नुहुन्न ।' युवाले यासो भनिरहँदा लम्साल टुलुटुलु हेरिरहे ।

लम्सालले काम नभई साथी भेट्न मात्र आएको बताएपछि पाँच÷छजना युवाको समूह अर्का सेवाग्राहीतिर लागे । ती सेवाग्राहीलाई पनि उनीहरू त्यसै भनिरहेका थिए । ‘प्रशासनको गेट अगाडि बसेर ती युवाको चर्तिकला धेरैबेर हेरें', लम्सालले भने, ‘कोही आए जालमा फसाउन सकिन्छ कि भनेर बसेका हुँदा रहेछन् ।' उनका अनुसार प्रशासन कार्यालयमा सेवा लिन पुग्ने धेरै सेवाग्राही दलालबाट सास्ती पाउँदा रहेछन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सेवा लिन जाने सेवाग्राहीले सुरुमै दलालको सामना गर्नुपर्छ । सेवाग्राहीलाई दलालले हैरानी दिने गरे पनि जिल्लाका सबै सरकारी कार्यालयको काम कारबाहीको अनुगमन गर्ने र कमजोरी भेटेमा कारबाही गर्नेसम्मको अधिकार पाएको नियमनकारी निकाय प्रशासन कार्यालय भने यस विषयमा मौन छ ।

सेवा लिन पुग्ने सेवाग्राहीलाई कार्यालयको गेटबाहिरै रोकेर दलालले आफ्नो कब्जामा लिएर ठग्ने गर्छन् । कब्जामा लिएपछि आफूले काम गरिदिने भन्दै पैसा लिएर सेवाग्राही ठग्ने दलालको मोरङ प्रशासनमा बिगबिगी छ । प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन तथा प्रतिलिपी लिन र शान्ति सुरक्षाको माग गर्दै पुग्ने सेवाग्राहीलाई फकाईफुल्याई गरेर आफ्नो जालमा पारेपछि काम गरिदिएको बहानामा दलालले रकम लिने गरेका छन् ।

विराटनगरका राजु श्रेष्ठले दलालले धेरै सेवाग्राहीलाई ठगिरहे पनि प्रशासनले नियन्त्रणमा चासो नदिएको बताउँदै भने, ‘नागरिकता, राहदानी बनाइदिएको, प्रतिलिपी निकालिदिएको, निवेदन लेखिदिएको लगायत बहानामा एकजना सेवाग्राहीसँग पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गर्छन् ।'

सूचनाको हकका अभियन्ता श्रेष्ठका अनुसार दलालको ठूलो हुल प्रशासन कार्यालयको गेट अगाडि अड्डा जमाएर बसेका हुन्छन् । सेवाग्राहीलाई प्रलोभनमा पार्ने र सरकारी सेवा लिएबापत उनीहरूबाट पैसा असुल्ने काम गरिरहेका हुन्छन् । ‘बुझ्ने सेवाग्राही आफैं कार्यालयमा पुगेर सेवा लिन्छन्,' उनले भने, ‘नबुझ्ने दलालको चुंगलमा फसिहाल्छन् ।'

प्रशासनजस्तो कार्यालयमा नागरिक बडापत्र र सुझाव पेटिका अद्यावधिक नहुँदा सेवाग्राही कोबाट कसरी सेवा लिनुपर्छ, सेवा कसरी पाउन सकिन्छ भन्ने कुराको सूचना पाउनबाट पनि वञ्चित बनिरहेको बताउँदै श्रेष्ठले भने, ‘जिल्ला प्रशासन कार्यालयको अनुगमन र त्यहाँ भएका अनियमितताका बारेमा अनुगमन गरेर कसले कारबाही गर्ने ? '

स्रोतका अनुसार प्रशासनकै कर्मचारीको मिलेमतोमा नागरिकता र राहदानी लिनुअघि भर्नुपर्ने फारम कार्यालयको गेट बाहिर दलालमार्फत किनबेच हुने गरेको छ । क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला प्रशासन कार्यालय सँगसँगै भए पनि हुलाक कार्यालयमा १० रुपैयाँमा पाइने फारममा टाँस्नुपर्ने हुलाक टिकट दलालले भने १५ रुपैयाँमा बिक्री गरिरहेका हुन्छन् ।

‘नागरिकता र राहदानी लिनुभन्दा अघि भर्नुपर्ने फारम कार्यालयबाहिर खुल्लेआम दलालले बिक्री गरिरहेका हुन्छन् । ‘हुलाक टिकट ५० प्रतिशत महँगोमा किनबेच हुन्छ,' स्रोतले भन्यो, ‘सेवा लिन पुग्ने सेवाग्राहीलाई प्रशासन कार्यालयको गेटबाहिरै दलालले घेराहालेर ठगिहाल्छन् । यस्ता विषयमा गुनासो गर्दा पनि सुनुवाइ हुँदैन ।'

प्रशासनका एक कर्मचारीका अनुसार कतिपय कर्मचारी दलालको ‘सेटिङ' मा काम गर्न पल्किएका छन् । ‘दलालमार्फत आएका सेवाग्राहीको काम छिटो गरिदिने यहाँका कर्मचारीको पुरानै परिपाटी रहेछ', ती कर्मचारीले भने, ‘स्वतस्फुर्त सेवा लिन आएकालाई भने विभिन्न बहानामा अल्झाउने र समयमा काम नगरिदिने तथा अनाआवश्यक हैरानी दिने काम कर्मचारीबाटै भइरहेको हुन्छ ।' दलालमार्फत सेवा लिन आएका सेवाग्राहीबारे एसएमएसमार्फत कर्मचारीलाई जानकारी हुने गरेको बताउँदै उनले भने, ‘सेवाग्राहीसँग लिएको पैसा केही कर्मचारी र दलालको मिलेमतोमा बाँडफाँड हुँदो रहेछ ।'

राहदानी बनाइदिने भन्दै सेवाग्राहीसँग पैसा असुलेर ठगी गरेका मोरङको डाँगीहाट ५ का ३५ वर्षीय लक्ष्मण भण्डारीलाई प्रहरीले गत सोमबार पक्राउ गरे पनि कारबाही नगरिकन छोडिदिएको छ । उनी लामो समयदेखि दलालको काम गर्दै आएका व्यक्ति रहेको प्रशासनका एक कर्मचारीले बताए ।

दलाल हटाउँदै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न नागरिक सहायता कक्ष स्थापना गर्नुपर्नेमा आफूहरूको जोड रहेको ती कर्मचारीले बताए । कतिपय दलाल कार्यालयभित्रै पसेर सेवाग्राहीलाई काममा सहयोग गरिदिने बहानामा प्रलोभनमा पार्छन् । मोरङ प्रशासनबाट दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका छन् ।

राहदानी बनाइदिने भन्दै सेवाग्राहीसँग पैसा असुलेर ठगी गरेका मोरङको डाँगीहाट ५ का ३५ वर्षीय लक्ष्मण भण्डारीलाई प्रहरीले गत सोमबार पक्राउ गरे पनि कारबाही नगरिकन छोडिदिएको छ । उनी लामो समयदेखि दलालको काम गर्दै आएका व्यक्ति रहेको प्रशासनका एक कर्मचारीले बताए । प्रहरी स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा दुईजनासँग राहदानी बनाइदिने भन्दै १३ हजार रुपैयाँ लिएका भण्डारीलाई पैसा फिर्ता गर्ने सर्तमा कुनै कारबाही नगरिकन छोडिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले दलाललाई कार्यालयमा भने प्रवेश निषेध गरिएको बताए । ‘कार्यालयको गेटबाहिर के हुन्छ भन्ने सबै कुरा थाहा हुँदैन,' उनले भने, ‘सेवाग्राहीलाई ठगिरहेको विषयमा अनुगमन गरेर त्यस्ता दलालमाथि भने तत्काल कारबाही अघि बढाइने छ ।'




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.