इन्टरपोलका प्रतिनिधिलाई भक्तपुर दरबार क्षेत्रमा ‘गाला डिनर’
भक्तपुर : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनका सहभागीको स्वागतार्थ बिहीबार भक्तपुर दरबार क्षेत्रमा ‘गाला डिनर’ दिइएको छ ।
सांगीतिक कार्यक्रमसहित उक्त गाला डिनरको लागि भक्तपुर दरबार क्षेत्रलाई दुलहीझैं सजाइएका थियो ।
दरबार क्षेत्रका सम्पदास्थलहरुमा रंगीचंगी बत्तीको व्यवस्था गरिएको छ । जसले गर्दा भक्तपुर दरबार क्षेत्र रंगीन देखिएको थियो ।
डिनरको लागि भक्तपुर दरबार क्षेत्रको खुला ठाउँमा दर्जनभन्दा बढी राउण्ड टेबलको व्यवस्था गरिएको थियो । त्यस्तै पृष्ठभूमिमा विश्व सम्पदा पचपन्न झ्याल दरबार, स्वर्णद्वार (गोल्डेन गेट), भूपतीन्द्र मल्लको सालिक र ठूला घन्टा पर्ने गरी मञ्च बनाइएको थियो । जहाँ नेपाल प्रहरीलगायतका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
प्रशस्त प्रकाशको व्यवस्था गरिएको भक्तपुर दरबार क्षेत्रमा गाला डिनर सुरु भएपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो।
‘डिनरका सहभागीहरुको सुरक्षालाई दृष्टिगत गरी भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हो’, महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले भनिन्, ‘सर्वसाधारणलाई दरबार क्षेत्रको सट्टा वैकल्पिक बाटो प्रयोग गर्न भनेका छौं ।’
करिब दुई घन्टा भएको गाला डिनर सुरु हुनुअघि भक्तपुर नगरपालिकाले सम्मेलनका सहभागीहरुको स्वागत गरेको थियो । भक्तपुर नपाले प्रतिनिधिहरुको सम्मानमा भक्तपुरको मौलिक नाचगान प्रस्तुत गरेको थियो ।
डिनरका सहभागीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट पूर्वमेयर एवं सांसद प्रेम सुवालले मायाको चिनो प्रदान गरेका छन् । त्यस्तै कार्यक्रममा सहभागीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतले पनि स्वागत एवं धन्यवाद ज्ञापन गरेका थिए ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पपछि पनि भक्तपुर दरबार क्षेत्र सुरक्षित रहेको छ । भक्तपुर दरबार क्षेत्रस्थित बत्सला मन्दिर भूकम्पमा पूर्ण भत्केको थियो भने राष्ट्रिय कला संग्रहालय रहेको सिंहध्वाका दरबारमा चर्काएको छ । त्यसको सुरक्षाको लागि अहिले काठका ठूल्ठूला टेको लगाइएका छन् ।