नुवाकोटमा प्रहरी-प्रदर्शनकारीबीच झडप : प्रहरी नायब निरीक्षकसहित १४ प्रहरी घाइते
नुवाकोट : पुर्नसंरचनाप्रति असहमति जनाउंदै आन्दोलित नुवाकोटका चार गाविसका स्थानीयले शुक्रबार जिल्ला विकास समितिको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपहुँदा स्थिति तनावग्रस्त बनेको छ।
जिल्लाबाट सिफारिस भएको लिखु गाँउपालिका हटाएको विरोधमा आन्दोलनमा उत्रिएका नुवाकोटको खानीगाउंलगायत चार गाविसका हजारौं सर्वसाधारणले चर्को नाराबाजीसहित एकैपटक जिविस कार्यालयमा आक्रमण गर्दा लाखौँको धनमाल नष्ट भएको छ। प्रहरीले आक्रमण रोक्ने क्रममा दोहोरो झडप भएको हो।
प्रहरीले प्रदर्शनकारीले मुलढोका नै तोडफोड गरेर आक्रमणमा उत्रिएपछि २२ राउण्ड अश्रुग्यास र १२ थान रवर गोली प्रहार भएको छ । स्थानीयको आक्रमणमा प्रहरी नायब निरीक्षक लेखनाथ आचार्यसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।
आक्रमणमा थानसिङका विनोद पाठकसहित दुई जना प्रदर्शनकारी घाइते भएका छन्। पाठकको तिघ्रामा रबरको गोली लागेको छ । नुवाकोट रेडक्रसका समुन्द्रबावु अधिकारीले १४ जना घाइतेको प्राथमिक उपचार गराइरहेको जानकारी दिए।
पूर्वी भेगबाट सदरमुकाम आइपुगेका आन्दोलनकारीले जिल्ला विकास समिति नुवाकोटको दुई वटा भवनमा तोडफोड र आगजनी गरेपछि प्रहरीले लाठी, अश्रुग्यास र रवरको गोली चलाएको हो । आन्दोलनकारीहरुले जिल्ला विकास समितिभित्र पसेर टेवल, कम्प्युटर, सिसालगायतका सामग्री तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जिविसमा धर्ना दिन आएका आन्दोलनकारीहरुले मुल ढोका फुटाएर तोडफोड गरेपछि सार्वजनिक सम्पत्तिको रक्षा गर्नको लागि हवाई फायर गर्नुपरेको बताए । जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गर्न निर्देशन दिएको भएपनि आक्रोशित भिडले तोडफोड र आगजनीमा उत्रिएको उनले बताए ।
आन्दोलनकारीहरुले जिल्ला विकास समिति नुवाकोटको दुई वटा गाडी तोडफोड गरेका छन् । वा १ झ ७२४७ नम्बरको हुण्डाई र वा १ झ ९७५४ नम्बरको स्कोर्पियो पिकअपमा तोडफोड हुँदा लाखौँको क्षति भएको छ ।
दुई वटा भवनका ५५ वटा झ्यालका सिसा फुटाइएको र दर्जनौं टेवुल, दराज, सोफासेट, कुर्सी, बोर्डलगायतका लाखौंका सामग्री ध्वस्त पारिएको पण्डितले बताए । प्रदर्शनकारीले कार्यालयमा कर्मचारी भएकै अवस्थामा तोडफोड र आगजनी गर्न थालेपछि कतिपय कर्मचारी आत्तिएर चिच्याउन थालेका थिए ।