‘समाज’का सम्पादक
अबिच्युअरी
मणिराज उपाध्यायको नाम मैले जुन दिन सुनेँ, मणिबाबु भनेर सुनेँ र उहाँलाई त्यही नामले चिनेँ । मणिबाबुको नाम सबैभन्दा पहिले मैले स्वर्गीय प्रकाश काफ्लेको मुखबाट सुनेँ । प्रकाश काफ्ले त्यो बेला मेरा सम्पादक । उहाँ ‘प्रकाश’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो, जागृतप्रसाद भेटवाल प्रकाशक । ०४२ सालमा ‘छलफल’ साप्ताहिकको दर्ता खारेजीसँगै रघु पन्त जेल परेपछि ‘छलफल’को ठाउँमा ‘प्रकाश’ साप्ताहिक चलाउन प्रकाश काफ्ले हेटौंडाबाट काठमाडौं आउनुभयो । र, म राजविराजबाट काठमाडौं पसेको थिएँ ।
प्रकाश काफ्लेभन्दा पहिलेका मेरा सम्पादक सुशील प्याकुरेल केही महिनाअघि नै सुनकोसी छापाखाना चलाउन राजविराजबाट काठमाडौं आउनुभएको थियो । ‘छलफल’ र ‘प्रकाश’ साप्ताहिक कालीमाटीको सुनकोसी छापाखानामा छापिन्थे । म एकैसाथ पहिलेका सम्पादक सुशील प्याकुरेल र ‘प्रकाश’ साप्ताहिकका सम्पादक प्रकाश काफ्लेसित काम गर्न थालेँ ।
प्रकाश काफ्ले कुरैकुरामा दुईजनाको नाम लिइरहनुहुन्थ्यो । एकजना गोपाल गोतामे, त्यो बेलाका जल्दाबल्दा स्तम्भकार । मैले उहाँलाई देख्न पाइनँ ।
तर, प्रकाश काफ्ले हेटौंडा जाँदा हरेकपल्ट गोतामेलाई भेट्न वीरगन्ज पुगेर साझा बस चढी काठमाडौं फर्कनुहुन्थ्यो । प्रकाश काफ्लेको मुखबाट बारम्बार निस्कने अर्को नाम थियो– मणिबाबु अर्थात् मणिराज उपाध्यायको । मणिबाबु त्यो बेलाको जल्दोबल्दो सम्पादक– समाज दैनिकको ।
मणिराज उपाध्यायलाई कसैले पनि पूरा नामले बोलाएको वा कुरा गरेको मैले सुनिनँ । उहाँलाई समवयका सहधर्मी बालमुकुन्ददेव पाण्डे, मदनमणि दीक्षित, गोपालदास श्रेष्ठ र गोविन्द वियोगी हुन् वा त्यो बेलाका परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायदेखि सञ्चार राज्यमन्त्री कमल थापासमेत मणिबाबु भन्थे । मणिराज उपाध्यायले पनि कसैलाई पूरा नामले बोलाएको मैले सुन्न पाइनँ । उहाँका लागि शैलेन्द्रकुमार उपाध्याय ‘शैलेन्द्रबाबु’ थिए ।
कमल थापा ‘कमलबाबु’ थिए र हुँदाहुँदा मसमेत उहाँका लागि ‘गोपालबाबु’ भएँ । मणिबाबु आफूले माया गरेका मान्छेलाई कहिलेकाहीँ ‘बाबु’ नलाईकन पहिलो नाममात्र लिनुहुन्थ्यो । त्यस्ता थोरै मान्छेमा एकजना हुनहुन्थ्यो- प्रकाश काफ्ले । ‘समाज’मा लामै समय काम गरेपछि कहिलेकाहीँ म र ओम खड्का पनि त्यो कोटिमा परेका थियौं । त्योभन्दा अघि उहाँको यस्तो स्नेह हाम्रा अग्रज पत्रकारहरूले पाए कि पाएनन्, मलाई थाहा भएन ।
मणिबाबुको नाम सुन्न थालेको करिब डेढ वर्षपछि म एक दिन ‘समाज’ दैनिकमा पुगेँ । मलाई ‘समाज’मा पठाउने मेरा गुरु र पत्रकारिताका अगुवा रामकृष्ण रेग्मी र शरच्चन्द्र वस्ती हुनुहुन्थ्यो । शरच्चन्द्र वस्ती ‘गोरखापत्र’ दैनिकमा र रामकृष्ण रेग्मी ‘रासस’मा काम गर्नुहुन्थ्यो । ‘नेपाल प्रेस इन्स्टिच्युट’मा पत्रकारिता पढ्दा दुवै मेरा गुरु हुनुभयो । उहाँहरूले मलाई ‘समाज’मा गएर इन्टर्नसिप गर्न हौस्याउनुभयो र मणिबाबुलाई फोन पनि गरिदिनुभयो ।
‘समाज’मा इन्टर्नसिप गर्न गएदेखि नै हरेक दिन मणिबाबुले मलाई दोहोर्याई–दोहोर्याई र कहिलेकाहीँ तेहर्याएर समाचार लेख्न लगाउनुभयो । सुरुका दिनमा मेरा लागि यो अभ्यास अपमानित गर्ने खालको र झर्कोलाग्दो थियो । तर, म इन्टर्नसिपमा थिएँ । त्यसैले चुप लाग्थेँ ।
त्यो बेला ‘गोरखापत्र’बाहेक नियमित प्रकाशित हुने दैनिक पत्रिका ‘समाज’मात्र थियो । राजनीतिक पत्रिकामा काम गरेकाले मणिबाबुसित ‘समाज’मा काम गर्न पाउँदा मलाई आफ्नो सीप तिखारिन्छ भन्ने लागेको थियो । मेरा दुवै गुरुले पनि सायद यही सोचेर मलाई ‘समाज’मा पठाउनुभयो । चार पन्नाको भए पनि काठमाडौंको समाजमा ‘समाज’ दैनिकको आफ्नै छाप, प्रभाव र इज्जत थियो ।
०४४ सालको जेठ वा असारतिर म पत्रकारिता सिक्न ‘समाज’ दैनिकमा पुग्दा मणिबाबु कार्यालयमा कसैसित कुरा गरिरहनुभएको थियो । नमस्कार गरेर आफू इन्टर्नसिप गर्न आएको बताएपछि मेरा लागि ‘समाज’मा कामको ढोका खुल्यो । मणिबाबुले ‘समाज’ दैनिक २०११ सालदेखि नियमित रूपले प्रकाशन भइरहेको, स्वतन्त्र रूपले समाचार र विचार दिने पत्रिका भएको बताउनुभयो । ‘समाज’ दैनिकमा के काम गर्ने र कसरी गर्ने भनेर मलाई मणिबाबुले नै बताउनुभयो ।
‘खाम दिन्छन् तर नलिनु, खाम वा कसैसित पैसा लिएको दिन समाजको ढोका सधैंका लागि बन्द हुन्छ’, मणिबाबुले ‘समाज’को इतिहास र त्यहाँ काम गर्ने तरिका बताउँदा उहाँको अनुहार धप्प बलेको थियो । तर, न त्यहाँ दम्भ थियो, न त स्वरमा कुनै किसिमको आदेश । आफ्नो कुरा नरम स्वरमा स्पष्ट रूपले बताउने मणिबाबुको शैली मैले पहिलो दिन नै अनुभव गर्न पाएँ– समाचार मिलेन गोपालबाबु !
करिब एक महिना काम गरेपछि ‘समाज’मा मेरो इन्टर्नसिप सकियो । मैले मणिबाबुसित बिदा मागेँ । तर, बूढाले बिदा दिनुको साटो मलाई नियमित रूपले काम गर्न पो लगाए । मणिबाबुले महिनाको १५ सय तलब दिन्छुभन्दा मलाई पत्यार लागेन । त्यो बेला पत्रकारले महिनाको १५ सय रुपैयाँ तलब पाउने कुरा लोभलाग्दो थियो । मेरा लागि मणिबाबुको संगतमा काम गर्न पाइने अवसर झन् ठूलो महत्वको थियो ।
मैले साथीभाइ कसैसित सल्लाह नगरी ‘समाज’मा काम गर्न थालेँ । महिना मरेको दिन मणिबाबुका अगाडि खाममा हालेर ओम खड्का र मलाई ब्रजेश (मणिबाबुका छोरा तथा समाज दैनिकका व्यवस्थापक) ले तलब दिन्थे । मेरा लागि त्यो कमाइमात्र थिएन, सम्मान पनि थियो । ‘समाज’ दैनिकमा काम पाएपछि मैले छापाखानामा कम्पोजिटरको काम छाडिदिएँ र सुनकोसी छापाखानामा छापिने ‘प्रकाश’ साप्ताहिकको कामचाहिँ छोडिनँ ।
‘समाज’को डेस्कमा ओम खड्का काम गर्नुहुन्थ्यो । म रिपोर्टिङमा दिनभरि काठमाडौंका सडक, मन्त्रालय र बेलाबखत हुने ठूला होटलका पत्रकार सम्मेलनमा पुग्थेँ । दिनभरि दौडधुप गरेर हरेक दिन दुईदेखि पाँचवटासम्म समाचार तयार पार्ने मेरो जिम्मेवारी थियो । ओमजी विदेशी समाचार एजेन्सीका समाचार अनुवाद गर्ने र परेको बेला सम्पादकीय लेख्ने गर्नुहुन्थ्यो । कहिले ओमजी र म सँगै ‘समाज’ छिथ्र्यौं तर धेरैजसो म अबेला कार्यालय पुग्थे ।
‘समाज’को कार्यालय डिल्लीबजारमा थियो । म पुग्दा मणिबाबु भुइँतलाको कार्यालयमा भेटिनुहुन्थ्यो । मैले पछिमात्र थाहा पाएँ, उहाँ मलाई र मैले ल्याउने समाचारलाई कुरेर बस्नु हुँदो रहेछ ।
ढोकाबाट छिरेर भित्र पस्नेबित्तिकै मणिबाबुको पहिलो प्रश्न हुन्थ्यो, ‘कहाँ कहाँ गयौ ? ’ बूढा मलाई र ओमजी दुवैजनालाई ओमबाबु र गोपालबाबु भन्थे तर ‘तपार्इं’चाहिँ भन्दैनथे । म ‘समाज’को कार्यालयमा छिरेर सोफामा बसेपछि हामी दुईबीच हरेक दिन हुने संवाद मलाई पहिलो दिनदेखि नै सबैभन्दा अचम्मको लाग्थ्यो । संवादको बान्की यस्तो हुन्थ्यो–
मणिबाबुको प्रश्न, ‘गोपालबाबु, के के भयो ? ’
त्यसपछि म दिनभरि आफूले कभर गरेका समाचार मुखले खरर उहाँलाई भन्थेँ । मेरो कुरो लामो हुन थालेपछि मणिबावु फेरि ‘भन त’ भन्नुहुन्थ्यो । म झनै विस्तारमा कुरा गर्थे । मणिबाबु छोटोमा सबै कुरा भन्न लाउनुहुन्थ्यो । सबै कुरा भनिसकेपछि ‘ल लेख’ भनेर मणिबाबु माथ्लो तलामा जानुहुन्थ्यो । र, निकै बेरपछि कार्यालयमा पसेर कुर्सीमा बस्नुहुन्थ्यो । अनि मैले लेखेका समाचारका शब्द र अक्षर केलाई केलाई पढेर भन्नुहुन्थ्यो, ‘तिम्रो समाचार मिलेन ।’
‘के मिलेन मणिबाबु ? ’ मेरो प्रश्न ।
‘तिमीले अघि मलाई जे भनेका थियौ, त्यो कुरा त लेखेको छैन त !’
‘भनेको कुरा के लेख्नु मणिबावु ? समाचार त लेखेकै छ नि !’, मेरो जवाफ ।
‘होइन, मलाई जे भन्यौ, त्योमात्रै समाचार हो’, मणिबाबुको जवाफ हुन्थ्यो । त्यसपछि पहिले लेखेको समाचार च्यातेर मणिबाबुलाई जे भनेको थिएँ, त्यही कुरा लेख्थेँ । मणिबाबु दंग पर्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो, ‘लौ राम्रो भयो । समाचार सारमा लेख्नुपर्छ ।’ अनि ओमजीतिर फर्केर कुन समाचार पहिलो पन्नाको कुन स्थानमा राख्ने भनेर कहिले सल्लाह माग्नुहुन्थ्यो, कहिले निर्देशन दिनुहुन्थ्यो ।
‘समाज’मा इन्टर्नसिप गर्न गएदेखि नै हरेक दिन मणिबाबुले मलाई यसैगरी दोहोर्याई-दोहोर्याई र कहिलेकाहीँ तेहर्याएर समाचार लेख्न लगाउनुभयो । सुरुका दिनमा मेरा लागि यो अभ्यास अपमानित गर्ने खालको र झर्कोलाग्दो लागेको थियो । तर, म इन्टर्नसिपमा थिएँ । त्यसैले चुप लाग्थेँ । आफूले लेखेका कुरा आफैंले निर्मम भएर काट्नुपर्ने, एउटै कुरा पटकपटक लेख्नुपर्ने, एउटा शब्दको साटो अनेक वैकल्पिक शब्द खोज्नुपर्ने, अनि भाषा मिलेनमिलेको, समाचारको टोन ‘हाई’ र ‘लो’ भएको कुरा हरेक दिन मणिबाबुका मधुर स्वर र कठोर शब्दमा सुन्नुपर्ने !
पहिलेदेखि नै पत्रकारिता गरिरहेको र भाषा राम्रो छ भनेर आफैं मक्ख परिराखेको त्यो बेलाको मजस्ता मान्छेलाई यो खप्न सकिने खालको थिएन । तर, मणिबाबुको काम लगाउने यो शैलीबाट दिनदिनै मैले धेरै कुरा सिकेँ । मेरो भाषा निखारिँदै गयो, समाचारलाई सूत्रमा लेख्ने बानी बस्दै गयो ।
आफ्नो पत्रिकामा काम गर्ने पत्रकारलाई काम सिकाउने मणिबाबुको यो शैलीबाट मैले लेख्न र सम्पादन गर्न सिकेँ । हिजोआज म कहिलेकाहीँमात्र लेख्छु तर अहिले पनि म समाचार लेख्दा त्यसैगरी लेख्न कोसिस गर्छु जसरी मणिबाबुले सिकाउनुभएको थियो ।
‘समाज’मा मैले २०४४ सालदेखि २०४८ सालसम्म काम गरेँ, जुन समय नेपालको ऐतिहासिक कालखण्ड थियो । अनि मेरो जीवनको ऊर्जावान् उमेर । ‘समाज’को व्यावसायिक पत्रकारिता अनि ‘प्रकाश’ र ‘दृष्टि’ साप्ताहिकको राजनीतिक पत्रकारिताको त्यस अवधिमा दुई घटना नेपालकै लागि ऐतिहासिक थिए । पहिलो भारतले नेपालमा लगाएको नाकाबन्दी र दोस्रो २०४७ सालको जनआन्दोलन ।
भारतले व्यापार तथा वाणिज्य सन्धि नवीकरण नभएको बहानामा नाकाबन्दी सुरु गरेपछि नेपालमा कष्टका दिन सुरु भए । भारत सरकारले नाकाबन्दी लगाएपछि त्यस बेलाका प्रतिबन्धित कम्युनिस्ट र कांग्रेस पार्टीका नेताले न भारतको विरोध गरे, न समर्थन । शैलेन्द्रकुमार उपाध्याय परराष्ट्रमन्त्री थिए । कूटनीतिका खेलाडी उपाध्याय बेलाबेला खासखास पत्रकारलाई बोलाएर नेपाल-भारत सम्बन्धमा भइरहेको वार्ता र असहमतिका बुँदा अफ द रेकर्डमा ब्रिफिङ गर्थे ।
त्यस्ता अफ द रेकर्ड अनि अनौपचारिक ब्रिफिङमा मणिबाबु नपर्ने कुरै थिएन । कतिपल्ट मणिबाबु यस्ता ब्रिफिङमा आफैं जानुभयो थाहा भएन, तर भारतले लगाएको नाकाबन्दीविरुद्ध ‘समाज’मा बाक्लै समाचार आउँथे । कतिपय समाचार मणिबाबु आफैं लेख्नुहुन्थ्यो र हामीलाई दिनुहुन्थ्यो, कतिपय समाचार टिपाएर मलाई लेख्न लगाउनुहुन्थ्यो । शैलेन्द्रकुमार उपाध्यायलाई मणिबाबु बेलाबेला फोन गर्नुहुन्थ्यो, समाचार लिनुहुन्थ्यो र कतिपय बेला सोझै भन्नुहुन्थ्यो, ‘तपार्इं र तपाईंजस्ता पञ्चले राजालाई समेत डुबाउने भए शैलेन्द्रबाबु !’
पछि मणिबाबुले शैलेन्द्रबाबुका अफ द रेकर्ड ब्रिफिङमा मलाई पठाउन थाल्नुभयो । त्यसपछि म नियमित रूपले त्यस्ता मिटिङ र ब्रिफिङमा जान थालेँ । अहिलेको शीतल निवासमा त्यो बेला परराष्ट्र मन्त्रालय थियो । शैलेन्द्रकुमार बडो मस्त मानिस थिए तनावरहित, तर सुरुको ब्रिफिङमा मलाई देखेर आश्चर्यचकित भए । पञ्च र मन्त्रीहरू मलाई पञ्चायतविरोधी पत्रिकामा काम गर्ने राजतन्त्रको समेत विरोधी पत्रकारका रूपमा चिन्थे ।
तर, ‘समाज’मा अफ द रेकर्ड ब्रिफिङमा आधारित समाचार छापिएपछि भने शैलेन्द्रलाई राहत भएछ । पछि शैलेन्द्रले मणिबाबुलाई यो कुरा भनेछन् । मणिबाबुले यही कुरालाई समातेर ‘तिमीहरू असल मान्छेलाई समेत शत्रु देख्छौ’ भनेर हाम्रैअगाडि टेलिफोनमा लताडे ।
नाकाबन्दी लम्बिँदै गएपछि, २०४५ सालको भुइँचालोमा पञ्चहरूबाहेक कसैलाई राहत वितरण गर्न नदिएपछि र उद्धारका नाममा केही पञ्चले रातारात लाखौं कमाएपछि पञ्चहरूबीच मतभेद बढ्दै गयो । कांग्रेस र कम्युनिस्टले मरीचमान सरकारको खुलेर विरोध गर्न थाले । विस्तारै सरकारविरोधी वातावरण बढ्न थाल्यो । सांकेतिक रूपमा पत्रिकाहरूले राजाको समेत विरोध गरेर लेख्न थाले ।
भुइँचालोपछि सरकारले पत्रिकाहरू सेन्सर नगरी छाप्न नदिने निर्देशन जारी गर्यो । ‘दृष्टि’ साप्ताहिकको प्रुफ कपी नै अञ्चलाधीश कार्यालय पुर्याएर सेन्सर गराउनुपथ्र्यो । तर, मणिबाबुले अञ्चलाधीशलाई फोन गरेर भनिदिए, ‘समाजले राजाको विरोध गर्दैन भन्ने तपाईंलाई थाहै छ, मेरो पत्रिका सेन्सर नगरी छापिन्छ । पढेपछि केही पाउनुभयो भने फोन गर्नुहोला ।’ बूढाको त्यो साहस हामीले गर्नसक्ने कल्पनाबाहिरको थियो । मणिबाबुको टेलिफोनको हुँकार सुनेर ओमजी र म छक्क पर्दै थियौं ।
बूढाले हामीतिर फर्केर भने, ‘राजा भनेका खोपीका देउता हुन्, खोपीका देउतालाई चलाउन हुँदैन । कांग्रेस र कम्युनिस्टका समाचार लेख्दा समाचारको भाषा ठाडो नहोस् भनेर विचार गर्नू ।’ त्यसपछि बूढाले त्यस बेलाका सञ्चार राज्यमन्त्री कमल थापालाई फोन गरेर भने, ‘कमलबाबु यो के गरेको ? ’ उताबाट कमल थापाले मणिबाबुलाई भनेको कुरा न बूढाले हामीलाई भने, न त हामीले सुन्न खोज्यौं । तर ‘समाज’ दैनिकलाई सरकारले सेन्सर गर्ने आँट गरेन ।
म कालीमाटीमा सुनकोसी छापाखानानजिकै बस्थेँ । बिहानै ‘प्रकाश’ साप्ताहिकका लागि समाचार लेख्थेँ । दिउँसो समाचारका लागि घुमफिर गरेर ‘समाज’मा पुग्थेँ । ०४५ सालको चैततिरको कुरा हो । एक साँझ तत्कालीन मालेका एक नेताले जसरी पनि रातभरिमा छाप्नुपर्ने भनेर मेरो हातमा एउटा पर्चाको हस्तलिपि दिए ।
पञ्चायती व्यवस्था, राजतन्त्र र राजाको विरोधमा लेखिएको त्यो पर्चा पाँच हजार प्रति छाप्नुपर्ने थियो । त्यो पर्चा सुनकोसीबाहेक अन्त छाप्न नसकिने भएकाले कम्पोज गर्न र छाप्न मेरो हातमा दिइएको थियो । म दुवै काममा पोख्त थिएँ । छापाखानामा काम गर्ने अरू कसैले थाहा पाए पुलिसले सुइँको पाउने र छापाखाना नै जफत हुने खतरा थियो ।
खाना खाएर राति १० बजे भीमसेन राजवाहक र म छापाखानामा गयौं । भित्रको उज्यालो बाहिर नआओस् भनेर पर्दामाथि पत्रिकाले झ्याल र ढोकालाई बारबेर गर्यौं । पर्चा कम्पोज गर्यौं, छाप्यौं र राति नै पुर्याउनुपर्ने ठाउँमा पुर्याएर बिहानपख घर गयौं । केही दिनपछि त्यो पर्चा जताततै छरियो । माले पार्टीका नामबाट छापेको त्यो पर्चा पुलिसले पनि फेला पार्यो । कुन छापाखानामा कुन खालका अक्षर छन् भनेर खोजीनीति गरेर त्यो पर्चा सुनकोसी छापाखानामा छापिएको पत्ता लगायो ।
पुलिसले छापाखानाका म्यानेजरलाई पक्रेर ठानामा लगी दुईचार थप्पड हानेछ । म्यानेजरले यस्तो काम गोपालबाहेक अरू कसैले गर्न सक्दैन भनिहालेछन् । विचरालाई हामीले पर्चा छापेको थाहा थिएन । त्यसपछि मलाई पक्रिन म्यानेजरलाई भ्यानमा हालेर पुलिस मेरो पछि लाग्यो । त्यो दिन म राजा समावेश हुने एउटा भोजमा जानुपर्ने थियो । मणिबाबुले अघिल्लै दिन ‘दौरा सुरुवाल लाएर आउनू है’ भनेकाले म दौरा सुरुवाल र कोटमा ठाँटिएर हिँडेको थिएँ ।
म ‘समाज’मा काम सकेर निस्कँदै गर्दा पुलिसको भ्यान गल्लीबाट भित्र पस्दै थियो । मैले कोही मणिबाबुलाई भेट्न आयो होला भन्ने ठानेर त्यता हेरिनँ पनि । म्यानेजरले र पुलिसले दौरा सुरुवाल लाएको मानिस मै हुँ भनेर चिनेनछन् । मलाई त पुलिसले खोजी गरेको कुरा राति डेरामा पुगेपछि मात्र थाहा भयो । दिउँसो पुलिस आएर कोठामा पर्चाको अवशेष खोजेछ । माइली छोरी जन्मेको दुई महिना पनि भएको थिएन ।
भोज खाएर राति कोठामा जाँदा गल्लीमा सासूआमा मलाई पर्खेको देखेर म छक्क परेँ । हतारहतार सासूले मलाई अर्को गल्लीमा पठाउनुभयो । मेरी सासूलाई अशोक र सुशील कोइरालालाई लुकाउन बानी परेकाले होला, मैले पक्राउ पर्नुअघि नै मेरो लागि लुक्ने ठाउँ तयार भएको थियो ।
लुकेरै बसेँ । भोलिपल्ट म ‘समाज’ जानसक्ने कुरा भएन । दीपक गजुरेल र ओमजीका अगाडि मणिबाबुले गोपालले त्यस्तो पर्चा छापेको हो भने मै पुलिसकहाँ पठाइदिऊँला भनेर पुलिसलाई बिदा गर्नुभएछ । तर, दोस्रो दिन पनि ‘समाज’ नगएपछि बूढाले मलाई जसरी पनि सम्पर्क गर्नू भनेर खबर पठाए ।
‘पत्रकारले यसरी भाग्नु हुँदैन, तिमी जसरी हुन्छ, पक्राउ नपरी आजै अफिसमा आऊ’, बूढाले फोनमा ठाडो आदेश दिए । ‘हस् मणिबाबु’ भनेर फोन राखी लुक्दै दिउँसो म ‘समाज’को कार्यालय पुगेँ । तारेको आलु र च्युराको खाजा ख्वाएपछि बूढाले मलाई सोधे, ‘किन राजाविरोधी पर्चा छापेको ? ’ त्यो पर्चा मैले छापेको हो भन्ने कुरामा बूढाको मनमा कुनै द्विविधि थिएन । मैले मलिनो स्वरमा सोधेँ, ‘मैले त्यस्तो काम गरेँ भनेर मणिबाबुलाई पनि विश्वास लागेको हो ? ’ बूढाले मलाई बडो गम्भीर भएर हेरे अनि भने, ‘त्यो तिमीले जान्ने कुरा हो तर तिमी समाजको पत्रकार हौ, यसरी भागेर नहिँड ।’
‘पुलिसले पक्राउ गर्यो भने के हुन्छ भन्ने कुरा मणिबाबुलाई थाहै छ, म कसरी खुलेर हिँड्नु ? ’, मेरो जवाफपछि बूढाले एकछिन के गमे थाहा छैन । त्यसपछि ओमजी र मेरै अगाडि फोन डायल गरे र भने, ‘कमलबाबु यो के गरेको ? अरू कोही नपाएर मेरै मान्छेलाई पक्रनुपर्ने ? ’ हामीले सुनेनौं तर अन्दाजबाट के प्रस्ट भयो भने कमल थापाले पटकपटक मेरो नाम लिएर पर्चा मैले नै छापेको कुरा गरे ।
लामो फोन गलफत्तीपछि मणिबाबुले फोनमै भन्नुभो, ‘अरू कुरा म जान्दिनँ, मेरो मान्छेका नाममा जारी गरेको पक्राउ पुर्जी खारेज गर्नुपर्यो ।’ त्यस गलफत्तीको आधा घन्टापछि फेरि फोनको घन्टी बज्यो । फोन सञ्चार राज्यमन्त्री तथा शक्तिशाली पञ्च युवानेता कमल थापाको थियो । उता थिए कमलबाबु र यता थिए मणिबाबु । फोनमा कुरा सकिएपछि मणिबाबु मतिर फर्किएर मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘पर्चा त गोपालबाबुले नै छापेको रछ, भोलि बेलुकासम्म लुकेरै बस्नू ।
पक्राउ पुर्जी राजदरबारमा जाहेर नगरी खारेज नहुने खालको रछ । पर्सिदेखि ढुक्कले काम गर्नू तर अब यस्तो काम नगर्नू ।’ कांग्रेस र कम्युनिस्टले युवालाई भड्काएको र बरालेको मणिबाबुको बुझाइ थियो । त्यसपछि मेरो प्राणमा सातो आयो । पुलिसले त्यो बेला पक्रेको भए कि त मेरो जीउका दुईचारवटा करङ बांगिने थिए, कि त दुईचारवटा हड्डी चर्कने थिए ।
सम्पादकका रूपमा मणिबाबुले मलाई गरेको त्यो सुरक्षा र कमल थापाले मणिबाबुको वचन थाम्न लिएको भारबाट म आजसम्म पनि आभारी छु । कमल थापालाई भेटेर यस विषयमा कुरा गर्ने मेरो मनको धोको पनि आजसम्म अधुरै छ ।
०४८ सालमा संविधान जारी भएपछि मैले ‘समाज’ छाडेँ । तर, मणिबाबु मेरो पत्रकारिताको नसनसमा जहिले पनि बसिरहनुभयो । केही वर्षपछि (सम्भवतः २०५२ सालमा) ‘समाज’ दैनिक बन्द भयो । मणिबाबु देवघाटमा बस्न थाल्नुभयो । ब्रजेश (मणिबाबुका छोरा) सित नम्बर लिएर मैले फोन गर्दा त्यो बेला फोन लागेन । भेट्न खोजेर पनि ‘समाज’ छाडेपछि मैले मणिबाबुलाई दुईतीन पटकभन्दा बढी भेट्न सकिनँ, पाइनँ ।
मणिबाबुलाई भेटेर भन्न मन थियो, ‘मणिबाबु मेरो जीवनलाई तपार्इंले बचाउनुभयो । व्यावसायिक बाटोमा मोडिदिनुभयो र नै नेपालको मिडियामा आज पनि म रमाएको छु ।’ तर, मणिबाबुलाई एक्लै भेटेर भन्न मन लागेको यति कुरा भन्न पाइनँ । श्रद्धाञ्जलि मणिबाबु ।