नेपाल आइडल : नेपाली संगीतका लागि क्रान्ति
काठमाडौं : विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण ‘नेपाल आइडल’को अडिसन यसै साताबाट सुरु हुँदै छ ।
नेपाल आइडलका बारेमा जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । ‘देशभर लुकेर रहेका प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिने अभियानमा हामी लागेका छौं’, अन्नपूर्ण मेडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, ‘यो प्रतियोगिता नेपाली संगीत र टेलिभिजनका लागि क्रान्ति पनि हो ।’
नेपाल आइडलका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम ल्याउने प्रयास सफल भएको बताए । ‘नेपालमा संगीतप्रति रुचि राख्ने धेरै भएकाले नेपाल आइडल प्रस्तुत गरेका हौं’, पत्रकार सम्मेलनमा उनले भने ।
कार्यक्रममा नेपाल आइडलको एनिमेटेड लोगो, प्रोमो र नेपाल एवं भारतका विभिन्न सेलिब्रेटीले नेपाल आइडलका बारे दिएको अभिव्यक्ति पनि प्रस्तुत गरिएको थियो । इन्डियन आइडलका अध्यक्ष सत्तिस दत्त, निर्णायक अनु मलिक, उदितनारायण झालगायत धेरैले पहिलो पटक प्रस्तुत हुन लागेको नेपाल आइडल सफल र रोमाञ्चकारी हुने विश्वास व्यक्त गरेका छन् ।
गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको यो रियालिटी शोलाई एपी वान टेलिभिजनले प्रस्तुत गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाहरूले निःशुल्क प्रतिस्पर्धा गर्न पाउनेछन् । माघ १२ गते नेपालगन्जबाट सुरु हुने अडिसन बुटवलमा माघ १२, नारायणघाटमा माघ १५, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा फागुन १ एवं काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ । प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् ।
प्रतियोगिताको स्तर र पुरस्कार राशिले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम प्राप्त गर्नेछ ।
सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो ।
अमेरिका, अष्ट्रेलिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल सुरु हुन लागेको हो ।