फूलैफूलको मौसम तारादेवीलाई
काठमाडौं: स्वर किन्नरी तारादेवीको ११औं स्मृति दिवसमा आइतबार उनका गीत प्रस्तुत गरेर स्मरण गरिएको छ। तारादेवी स्मृति प्रतिष्ठानको आयोजना र सांस्कृतिक संस्थानको सहआयोजनामा राजधानीमा नयाँ र पुराना पुस्ताका कलाकारले उनका गीत गाएका हुन्। २०२२ सालमा तारादेवीको अनुहार हेर्न मीरा राणा रेडियो नेपाल पुगेकी थिइन्। त्यही भेटबाटै मीराको सांगीतिक यात्रा सुरु भएको थियो।
तारादेवीलाई गुरु मान्ने मीरा बिरामी अवस्थामा पनि स्मृतिसभामा उपस्थित भई गीत पनि गाइन्। रुघाले ग्रस्त मीराले जति गाह्रो भए पनि आफ्नी गुरुलाई श्रद्धाञ्जलिस्वरूप ‘शुभकामना भरी' गीतको दुई पंक्ति गाएर सुनाएकी थिइन्। यस गीतलाई गायिका संगीता शाक्यले पूरा गरिन्। चेतन कार्कीले पनि आफूलाई गीतकारको रूपमा स्थापित गराउने श्रेय तारादेवी, नातिकाजी र भुवन चन्दलाई दिए। उनको पहिलो गीतमा तारादेवी र भुवन चन्दको आवाजमा रेडियो नेपालमा रेकर्ड भएको थियो।
नेपाली रजतपटकी पहिलो गायिका पनि हुन् तारादेवी। भैरवबहादुर थापाकी चेली तारादेवीले नातिकाजी, शिवशंकरजस्ता पुराना संगीतकारदेखि नयाँ पुस्ताका संगीतकार अनिल शाहीसँगसमेत काम गरेकी छन्। उनले नातिकाजीको संगीतमा सबैभन्दा बढी एक सय ५३ गीत गाएकी छन्।
कार्यक्रममा तारादेवीको गीत नसुनेका बालिकाहरूले समेत उनका गीत गाए। निकिता घिमिरेले 'नौ सय खोला तरेर' गाइसकेपछि चेतन कार्कीले हर्षित हुँदै आशीर्वाद दिए। रेकिशा केसीले ‘फूलैफूलको मौसम तिमीलाई', अनामिका सिंहले ‘मनको निश्छलतामा' गाउँदा अग्रज संगीतकर्मीको मुहारमा प्रसन्नता देखिन्थ्यो।
प्रतिष्ठानले नयाँ पुस्तासम्म तारादेवीलाई बचाउन बालिकाहरूलाई गीत गाउन लगाएको थियो। गायिका संगीता शाक्यले फूलको थुँगा गाउँदा हलभरि संगीतको बेग्लै तरंग फैलियो। नयाँ र पुराना पुस्ताले तारादेवीका १४ वटा गीत प्रस्तुत गरेका थिए। तारादेवीको गीत संरक्षण गर्न गत वर्षमात्र प्रतिष्ठान स्थापना भएको हो।