भूकम्पपीडितलाई घरमै पैसा
ओखलढुंगा: भूकम्प गएको झन्डै २१ महिनापछि दुर्गम पोकलीका भूकम्पपीडित परिवारले अनुदानको पहिलो किस्ता गाउँमै पाएका छन्।
सांसदद्वय रामहरि खतिवडा र हर्कबोल राईको पहलमा अनुदान रकमको पहिलो किस्ता पचास हजारसहित अन्य एकीकृत सेवा गाउँमै दिइएको हो। स्थानीय प्रशासनद्वारा सोमबारबाट सञ्चालित तीनदिने अभियानक्रममा नागरिकता, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्यशिविरलगायत सेवा दिइएको छ।
सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको पोकलीमा पहिलोपल्ट एकीकृत सेवा पुर्याइएको हो। ‘हाम्रो समय र पैसाको बचत भएको छ, ढिलै भए पनि गाउँमै यस्तो सुविधा पाएकोमा खुसी लागेको छ', ७९ वर्षीय ज्ञानप्रसाद घिमिरेले भने। कच्ची सडकले छोएको यस गाविसबाट रामेछाप, सिन्धुली, उदयपुर हुँदै सदरमुकाम ओखलढुंगा पुग्नुपर्ने ब्यध्यता छ।
सांसदहरू खतिवडा र राईले घिमिरेलाई अनुदान रकम प्रदान गरेर र प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले कमला तामाङलाई नागरिकता प्रदान गरेर प्रशासनिक सेवा सुरुवात गरेका थिए। कांग्रेस सांसद खतिवडाले आफ्नो तलब र व्यक्तिगत पहलमा हेलिकप्टरको खर्च व्यवस्था मिलाएको जानकारी दिए।
एमाले सांसद हर्कबोल राईले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै दलीय स्वार्थभन्दा माथि उठेर काम गरेका कारण प्रशासनले जनताको आँगनमै सेवा पुर्याउन सहयोग गरेको बताए।