गल्ती होला भनेर नडराउनुस्ः हमाल
दमौलीः महानायक राजेश हमाल आउने खबर पाएका व्यास–१, गल्बुबेसीको मादी श्री आवासीय माविका विद्यार्थी उत्साही थिए । बाबुआमाको पालाका प्रिय नायक आफ्नासमेत प्रिय भएकाले विद्यालयका बालबालिका उनको प्रतीक्षा गरिरहेका थिए । बिहान ११ बजे हमाल आउने कार्यक्रम थियो ।
विद्यार्थीहरू हमालको स्वागतका लागि लाइनमा बसेका थिए । १२ बज्न लाग्दासमेत हमालको अत्तोपत्तो नभएपछि निराश भए । तर त्यतिबेलै हमाल सवार गाडी विद्यालयको गेटअघि रोकियो । त्यसपछि त के, सानाठूला सबै विद्यार्थीले खुसी व्यक्त गर्दै ताली बजाएर उनलाई स्वागत गरे ।
एक साता अघिदेखि नै हमाल आउने भनेर शिक्षकले खबर गरेकाले बालबालिकाले आफ्ना प्रश्नका चाङ तयार पारेका थिए । हमाललाई आफ्ना केही कुरा भन्न मञ्चमा निम्त्याइएको के थियो, उनी भावुक बन्न थाले ।
आफ्नो बाल्यकाल स्मरण गरेका हमालले आफूमा भएको प्रतिभा नलुकाउन आग्रह गरे । ‘गल्ती होला भनेर नडराउनुस्’, उनले भने, ‘गल्तीबाट पाठ सिकेर अघि बढ्न सकिन्छ ।’ उनले सानैदेखि आफूमा भएको क्षमता चिन्ने प्रयास गर्नुपर्ने सुझाव पनि दिए ।
‘तपाईंहरूलाई अरूजस्तो आफू हुन सकिनँ भन्ने लाग्दो हो’, साना बालबालिकाअगाडि स्टेजको माइक्रोफोन समात्दा हौसिएका हमालले सान्त्वना दिँदै भने, ‘तपाईंहरू सबै युनिक हुनुहुन्छ । त्यसैले अरूले कस्तो गर्योभन्दा पनि आफूले कस्तो गर्न सक्छु भन्ने चिन्न थाल्नुस् ।’ यसका लागि अभिभावक तथा शिक्षकसँग आफ्ना कुरा भन्न हिच्किचाउन नहुने उनले सुझाए ।
आफ्नो मन्तव्य सकेपछि पारिलो घाममा आफूलाई सुन्दै गरेका विद्यार्थीमाझ पुगेका महानायकले पालैपालो विद्यार्थीको जिज्ञासा लिन भ्याए । कक्षा ५ मा पढ्ने एक बालकले सानोमा तपाईं कुन खेल खेल्नुहुन्थ्यो भनेर प्रश्न गर्दा हमाल आफ्नो विगततिर फर्कन पुगे । ‘सानोमा रसियामा हुँदा म आइस हकी खेल्थेँ’, नेपालमा लोकप्रिय खेल फुटबल भएको थाहा पाएका हमालले थपे, ‘त्यतिखेर नेपालमा भएको भएचाहिँ फुटबल नै खेल्थेँ होला ।’
कतिपय विद्यार्थीले भूकम्पपीडितका लागि तपाईंले के गर्नुभयो भनेर सोध्दा हमालले आफूले गरेका प्रयासबारे फेहरिस्त लगाए । कक्षा ४ का एक छात्रले हमाललाई उमेरबारे सोध्दा हमालको अनुहारमा रोमाञ्चकता प्रस्टै झल्किन्थ्यो । उमेर कट्दै जाँदा भर्खरै बिहे गरेका हमालले ‘आफूले चलचित्र खेल्न थालेको २७ वर्ष भए पनि उमेरचाहिँ २५ वर्ष पुगेको’ भन्दा विद्यार्थीसहित विद्यालयमा उपस्थित अभिभावक तथा शिक्षक पनि हाँसेका थिए ।
लोकप्रिय नायक हमाल आफ्नाअघि आएपछि विद्यार्थीले उनलाई चलचित्रको संवाद नभनी किन छाड्थे ? अब प्रश्न लिन्न भनेका हमालले धेरैजसो चलचित्रमा भन्ने गरेको डाइलग ‘हे...’ दोहोर्याइहाले । सानैदेखि सुनेको डाइलग उनकै मुखबाट सुन्न पाउँदा विद्यार्थीले बजाएको तालीको गडगडाहट परसम्म सुनिएको थियो । हमालले सबै विद्यार्थीलाई पनि त्यही डाइलग दोहोर्याउन लगाएका थिए ।
विद्यालयका प्रधानाध्यापक छेसाङ तामाङले महानायकका अनुभवमार्फत विद्यार्थीका लागि प्रयोगात्मक सिकाइ उपलब्धिमूलक भएको बताए । विद्यालयका संस्थापक माधव घिमिरेले विद्यार्थीसँगको भलाकुसारीका लागि आफूले पहल गरेको बताउँदै अन्तरक्रियाबाट उत्साही भएको बताए । विद्यालयका अध्यक्ष हिरनलाल डोटेलले बालबालिका महानायकसँग रमाउँदा उनीहरूका लागि व्यावहारिक सिकाइ पनि भएको बताए ।