क्यान इन्फोटेकमा इसेवाबाट टिकट काट्दा २० प्रतिशत छुट
काठमाडौं: आगामी माघ १३ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा सञ्चालन हुन लागेको 'सुबिसु क्यान इन्फोटेक २०१७' मा इसेवाबाट टिकट काट्दा २० प्रतिशत छुट पाइने भएको छ।
सूचना प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीस्थलमा प्रवेश गर्दा लाग्ने शुल्कमा अनलाइन टिकट काट्दा छुट दिइएको हो। इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ।
माघ १६ गते आइतबारको दिनलाई भने बिजनेस डे का रूपमा घोषणा गरिएको हुँदा उक्त दिन विद्यार्थी सहुलियत नहुने र सबैलाई सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।
विद्यार्थी सहुलियत र सर्वसाधारण दुवैमा इसेवाबाट अनलाइन टिकट काट्दा २० प्रतिशत छुट पाइने इसेवाका बजार अधिकृत लालप्रसाद अर्यालले बताए। विगत वर्षमा पनि सर्वसाधारणलाई प्रविधिको प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले अनलाइन टिकेटिङमा विशेष छुट दिँदै आएको थियो।
साथै मेलामा रहेका इसेवाका स्टलबाट सेवा लिँदा विशेष बोनसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। प्रदर्शनीस्थलमा रहेका इसेवाका स्टल पी ५ बाट ब्यालेन्स लोड गर्दा २० रुपैयाँ बोनस पाइने अर्यालले बताए।