चुनाव एक, चुनाव दुई र चुनाव तीन !

चुनाव एक, चुनाव दुई र चुनाव तीन !

देशको शासनसत्ता यतिखेर तिनको हातमा छ, जो निर्वाचनको नाम पनि लिन चाहँदैनन् । उनीहरूलाई ०७४ माघ ७ अगाडि निर्वाचन हुनैपर्छ भनेर संविधानमा लेखिएका बाक्य बालीचोर गाइभैंसीलाई लगाइदिएको मुग्रो झैं सावित भएको छ ।

नौमहिने सत्ता साझेदारीअन्तर्गत कांग्रेस—माओवादी सहमतिमा पहिलो किस्तामा प्रचण्ड सरकार बनेको थियो । यो सरकारको म्याद सकिन अब दुई महिना मात्र बाँकी रहँदा पनि प्रधानमन्त्री प्रचण्डले चुनावलाई नारायणहरि बनाइरहेकै छन् । उनका साझेदार भावी प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भने, प्रचण्डले चैतमा स्थानीय निर्वाचन गराएपछि वैशाखमा प्रधानमन्त्री बन्ने मै हुँ । हामीबीचको सहमति यही हो ।

लोककथाका सुरे र मैतेको स्वाभावसँग ठ्याक्कै मिल्ने प्रचण्ड र देउवाका भनाइ, खासमा अगुल्टो लागेको के जाति बिजुली देख्दा तर्सिए झैं मानिन्छन्, निर्वाचनको सन्दर्भमा ।

पहिलो संविधानसभाबाट देशको सबैभन्दा ठूलो पार्टी बनेको नेकपा माओवादी दोस्रो चुनावमा तेस्रो नम्बरमा झर्‍यो । त्यो पनि तीनजनाको दौड प्रतियोगितामा धेरै ग्यापमा तेस्रो विजयी झैं बनेको माओवादीका अध्यक्ष हुन्, प्रचण्ड । त्यसैले उनकै पार्टीकाहरू भन्छन्, प्रचण्डलाई त्यसपछि चुनाव फोविया भएको सर्वत्र जगजाहेर छ । निकट भविष्यमा प्रधानमन्त्री बन्ने भनिएका अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा खासमा चुनावलाई दरबारमा लगेर बुझाउने मुख्य पात्र हुन् ।

त्यसैबाट यिनी अक्षम घोषित भएर भ्रष्टाचारको आरोपमा झ्यालखानासम्म पुगे । गोरखाका राजा ज्ञानेन्द्रबाट 'न्याय' पाएपछि मात्र टिके प्रधानमन्त्री बनेका हुन् उनी । त्यसैले यिनी देशका त्यस्ता 'वेटिङ' प्रधानमन्त्री मानिन्छन्, जसले आफैंले मिति तोकेर गराउन लागेको चुनावलाई स्थगित गरेर राजाकहाँ बिन्ती चढाउन पुगे । उनको त्यही बिन्तीपत्र प्रजातन्त्रलाई प्रतिक्रियावादी कित्तामा पुर्‍याउने आधार बन्यो ।

अहिले फेरि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिबन्दले यिनै दुई नेताहरू (नेकपा माओवादी अध्यक्ष र नेपाली कांग्रेसका सभापति) को हातमा सार्वभौम नेपाली जनताले बनाएको लोक गणतान्त्रिक संविधानले तोकेको निर्वाचन अडकिन पुगेको छ । यी दुवै नेताहरू निर्वाचन मिति सार्न प्रयत्नरत रहेको घोषणा नगरेबाटै पुनर्पुष्टि भइरहेको छ । उनीहरू मधेस र भारतको स्वार्थ देखाएर देशभित्र अन्तरविरोध चर्काउँदै विभिन्न बहानामा चुनाव नगराउने र सत्तामा टिकिरहने अस्त्र प्रयोग गरिरहेका छन् । के यिनको सत्ता स्वार्थको तानाबाना यसैगरी पूरा भइरहला ? के नेपालको संविधानले तोकेको मिति अर्थात् ७ माघ ०७४ भित्र स्थानीय, प्रदेश र राष्ट्रिय चुनाव भएर संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन होला ? लोकतान्त्रिक गणतन्त्र संस्थागत होला ?

एक वर्षभित्र चुनाव भएर संविधानअनुसार देश अगाडि बढेन भने अनिश्चयको भुमरीमा पर्ने निश्चित छ किनभने संविधानले निर्वाचनको माध्यमबाट मात्र अगाडि बढ्न सकिने बाटो देखाएको छ । त्यसैले अविलम्ब निर्वाचन देशको लागि अनिवार्य मात्र होइन, अपरिहार्य छ । निर्वाचन नै अहिले त्यस्तो एकमात्र बाटो हो, जसले पूरै देशलाई मार्गप्रशस्त गर्न सक्छ । त्यसैले अहिलेको आवश्यकता भनेकै निर्वाचन, निर्वाचन र फेरि पनि निर्वाचन नै हो !

राजनीतिशास्त्रका एक पूर्वप्राध्यापकले भने, लोकतन्त्रको पर्याय नै निर्वाचन हो । जनआन्दोलनबाट देशमा लोकतन्त्र स्थापना र संविधान बनेको हो तर निर्वाचन भएपछि मात्र यसको चक्र पूरा हुन्छ र लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रभावकारिता देखाउन थाल्छ ।

समयमा निर्वाचन गर्न नदिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरू नेपाललाई भताभुंग बनाएर निहित स्वार्थ पूरा गर्ने दुस्प्रयत्न गरिरहेका छन् । तिनकै मतियार बनेर सत्तासीन पार्टीहरू सत्ताको चरम दुरुपयोग गरिरहेका छन् । चुनाववाट भाग्न गरिएको प्रपन्चले आखिरमा तिनैलाई सिध्याउनेछ ।

ती प्राध्यापकले लोकगणतन्त्रमा निर्वाचनको महत्त्व उच्च रहेको बताउँदै भने, जुनसुकै पार्टी÷नेतालाई पनि वैधानिक बन्न जनताबाट अनुमोदित हुनैपर्छ र त्यो निर्वाचनबाट मात्र सम्भव छ । जनताले, जनताका लागि, जनताबाटै शासनसत्ता सञ्चालन हुने पद्धति नै लोकतन्त्र हो ।

चुनाव त्यस्तो प्रक्रिया र पद्धति हो, जसले सत्तामा बसेकाको वैधानिकतालाई पनि अनुमोदन गर्छ । विपक्षी नेताहरूले जनता परिचालन गरी आफ्नो लोक गणतन्त्रप्रतिको प्रतिबद्धता पुनर्पुष्टि गर्ने पनि निर्वाचनमार्फत नै हो । यसबीच भएगरिएका राष्ट्रिय महत्त्वका काम र संरचनालाई वैधानिकता दिने पनि निर्वाचनले नै हो । अर्थात् मुलुकमा भएको परिवर्तनलाई संस्थागत गर्न पनि छिटोभन्दा छिटो चुनाव जरुरी छ ।

संविधानले समयसीमा तोकेको पनि ताजा जनादेशबाट अगाडि बढ भनेरै हो । परिवर्तित संसद् निर्वाचन गराउन संविधानले बनाएको तदर्थ समिति मात्र हो । दुई वर्षको समयसीमा तोकिएको पनि चाँडो निर्वाचन गर भनेर नै हो तर सत्तालुप्त नेताहरूले अन्तिम मितिको मात्र उच्चारण गरिरहेका छन् । जबकि यो जतिसक्दो चाँडो गर्न समयावधि तोकिएको हो । परिवर्तित संसद्का सदस्यहरूले त्यसलाई फगत जागिरको समयसीमा बढेको ठानेर हालीमुहाली गर्न चाहिरहेका छन् ।

यस्तो नठान्दा हुन् त तदर्थ संसद्ले ६ महिनाभित्रै आवश्यक ऐन–नियम बनाएर निर्वाचनमा गई जनताबाट अनुमोदित हुने कामलाई अगाडि बढाउँथे होलान् । तर सरकारमा कब्जा जमाएका कांग्रेस र माओवादी नेताहरू आलेटाले गरेर निर्वाचनलाई टाढा धकेलिरहेका छन् । त्यसो नहुँदो हो त सर्वप्रथम निर्वाचन आयोगलाई नै पूर्ण बनाउने थिए । पाँच सदस्यीय आयोगमा अहिले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र सदस्य इला शर्मा मात्र रहेकी छन् । तीन सदस्यहरू नियुक्त नै भएका छैनन् र सरकार निर्वाचन सञ्चालन गर्ने आयोगप्रति मूकदर्शक बन्दै टाङ अड्याएर बसिरहेको छ । के कुरा दोहोर्‍याइरहनु आवश्यक छैन भने जनशक्तियुक्त निर्वाचन आयोगले मात्रै संविधानले अपेक्षा गरेको स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सक्छ ।

सरकार मात्र होइन, परिवर्तित सांसद निर्वाचनप्रति बेवास्ता गरिबसेका छन् । त्यस्तो नगर्दा हुन् त सदन नै सशक्त बनेर निर्वाचनप्रति संवेदनशील हुने थियो । राज्य व्यवस्था समिति आएका नौमध्ये अत्यावश्यक पाँच विधेयकहरू छलफल गरी पारित गराउन रातदिन भनी लाग्ने थिए । तर राजनीतिक दल, निर्वाचन आयोग, मतदाता, स्थानीय तह र निर्वाचन कसुर सजायसम्बन्धी विधेयकहरूलाई पारित गरेर निर्वाचन गराउने वातावरणमा तीव्रता दिने थियो । यसबाट के सावित हुन्छ भने भाषणमा निर्वाचन गराउँछु भन्ने प्रचण्ड सरकार गम्भीर भएको भए ऊ एजेन्डासाथ निर्वाचनमा होमिने थियो ।

जबकि केपी ओली सरकारले मंसिरमै चुनाव गराउन कार्यसूची तयार गरिसकेको थियो । तर ओलीलाई यही कारणले सत्ताबाट थुतियो । विदेशी शक्तिले नेपालको शासन व्यवस्थालाई चुस्त र स्वाधीन बन्न दिइरहेको छैन । यसमा नेपालकै कतिपय नेतालाई प्रभावित गरिरहेको पुनर्पुष्टि हुँदैछ । कांग्रेस माओवादीको अपर्झट सत्ता साझेदारको मक्सद साँच्चै निर्वाचन गराउने हुन्थ्यो भने प्रचण्ड सरकार निर्वाचनप्रति मूकदर्शन बनिरहने थिएन ।

लोकतान्त्रिक प्रणालीमा चुनाव भनेको पाकेको त्यस्तो धान हो, जसलाई काटेर फेरि नयाँ धान रोपिन्छ । अर्को बाली लगाउनु भनेको नयाँ जनअनुमोदन हुनु हो । लोकतन्त्रमा पुरानो अनुभवी भनेर मात्र त्यसको गुन्जाइस हुँदैन । जति पुरानो र परिपक्व भने पनि उसले जनताको अनुमोदन लिनैपर्छ तर यसै कुराबाट कांग्रेस र माओवादीका नेता तर्सिरहेका छन् । भर्खरै देखियो, अमेरिकामा चुनाव गर्ने दिनलाई नै त्यहाँको संविधानको अंग बनाइएको छ ।

जसले गर्दा हरेक चार वर्षको नोभेम्बर महिनाको दोस्रो मंगलबार अमेरिकाका राष्ट्रपतिलगायत दुवै सदनको निर्वाचन निश्चित हुन्छ । तर नेपालमा मिति नतोकिएको बहानामा देशलाई भद्रगोलबाट मुक्ति नदिने षड्यन्त्र चरम छ किनभने नेपाली लोकतन्त्रलाई बलियो बन्न नदिने प्रतिक्रियावादीहरूको प्रयत्नलाई निर्वाचनले नै उदांग पारिदिनेछ । लोकतन्त्रलाई निर्वाचनले नै बलियो बनाउँछ ।

छिमेकी भारतको बिहार र यूपी पहिलाको तुलनामा अब बिहार र उत्तरप्रदेश रहेनन् । किनभने त्यहाँ भइरहेका आवधिक निर्वाचनले न लालुको बिहार रह्यो न त यूपी नै ! निर्वाचन लोकतन्त्रका खराब कुरा फिल्टर गरेर जनपक्षीय बनाउने प्रभावकारी औजार हो । निर्वाचन लोकतन्त्रको त्यस्तो डाइलासिस गर्ने मेसिन हो, जसले लोकतन्त्रको रगतमा मिसिएका अपराधी, भ्रष्ट, डन, नातावाद कृपावादरूपी दोषहरूबाट छानिदिन्छ । मिसिन दिँदैन । यूपी र बिहारको डाँकुराजदेखि फटाहागिरीसम्मलाई विस्थापित गरी समयसमयमा भइरहेको निर्वाचनले नै बौद्धिक र जनताका पक्षमा लाग्ने नीतिश कुमारलाई स्थापित गरिदियो ।

अहिले ती राज्यमा क्रमशः सुशासन फस्टाउँदैछ । भारतकै दिल्लीमा चुनाव जित्ने आम आदमी पार्टी छोटो समयमा चुनावले सत्तामा पुगेको नयाँ जनपक्षीय शक्ति हो । त्यसैले समयमा भइरहने चुनाव यस्तो अचुक विधि र औजार हो, जसले खराब चिजको फिल्टर गर्छ, गर्छ । यही कारण विश्वभर निर्वाचन निश्चित समय र मितिमा गरिन्छ ।

नेपालमा सँघारमा रहेको चुनाव किन महत्त्वपूर्ण छ भने एक निर्वाचनविद्ले भने, यसका पाँच कारण छन्-

१. चुनावले गणतन्त्रलाई संस्थागत गर्छ । रूपान्तरित संसद् चुनाव गर्नकै लागि रहेको हो । यसको अरू म्यान्डेट पनि छैन ।

२. चुनावले गणतन्त्र संस्थागत गर्छ । गणतन्त्रका अंगहरू भनेकै स्थानीय निकाय, प्रदेश, राष्ट्रिय सभा, संसद् हुन् । अहिले यी सबै खाली छन् । यसले गर्दा गणतन्त्र पूरै शरीरवाला बन्न नपाएकाले आफ्नो क्षमता प्रदर्शन गर्न सकेको छैन । यो निर्वाचन प्रक्रियाबाट मात्र चुस्त बन्न सक्छ ।

३. निर्वाचित निकायहरू भएपछि स्रोतसाधन परिचालन प्रचुर मात्रामा हुन सक्छ । यो वर्ष विकास बजेटको १० प्रतिशत पनि खर्च हुन सकेको छैन । किनभने सरकारी बजेट खर्च गर्न सुशासन, पारदर्शिता, सार्वजनिक लेखाजोखा आवश्यक पर्छ । कुनै निकायमा पनि निर्वाचित प्रतिनिधि नभएकाले गणतान्त्रिक संयन्त्र र प्रणालीले प्रणालीअनुरूप काम गर्न पाएको छैन ।

४. लोकतान्त्रिक संस्था कर्मचारीबाट कहिल्यै परिचालन गर्नु हुँदैन । तर यहाँ जनप्रतिनिधिले गर्नुपर्ने काम चार कार्यकालदेखि कर्मचारीबाट भइरहेको छ, जो एकदमै गलत हो । जनप्रतिनिधिको विकल्प कर्मचारी हुन सक्दैन किनभने कर्मचारी तनखा तोकेर काममा भर्ती गराइएका श्रमिक हुन्, जसको अनुहार र स्वरूप हुँदैन । जननिर्वाचित नभएकाले ऊ जनताप्रति उत्तरदायी पनि हुँदैन ।

५. निर्वाचनले लोकतान्त्रिक अभ्यास र नेतृत्व विकास देशव्यापी रूपमा गराउँछ । तर आजको मितिमा निर्वाचनको अभावमा ५० लाख युवाहरू विदेश पलायन भएका हुन् । उनीहरूले मुलुकमा आफ्नो भविष्य देखेनन् किनभने नेतृत्व, सीप विकासको अवसर दिने लोकतान्त्रिक अभ्यास र अवसरको संस्कृति नै चुनावको अभावमा यहाँ सिर्जना हुन सकेन । फलस्वरूप गाविस अध्यक्ष वा वडाध्यक्ष हुने व्यक्तिहरू सांसदको लोगो लगाएर त हिँडे तर तिनले आफ्नो नालायकी चुनाव रोकेर प्रदर्शन गरिरहेका छन् । चुनाव भयो भने त्यसले नेतृत्व विकास, प्रजातान्त्रिक अभ्यास गराउँछ । प्रतिस्पर्धाबाट क्षमतावान्हरू माथि आउन सक्छन् ।

सामाजिक रूपमा नेताको रूपमा स्थापित हुन सक्छन्, अहिलेका नेताजस्ता चिनाएपछि मात्र पदले ठूला ठानिने होइन । क्षमता र कामले ख्याति कमाउने बन्न सक्छन् ।

चुनाव भएन भने के हुन्छ ? राजनीतिशास्त्रका ती निर्वाचन विज्ञले भने, देशको राष्ट्रिय र अन्तर्राष्ट्रिय वैधता खस्किँदै जान्छ । निर्वाचन नगरी सरकार चलाउँदा त्यो राजतन्त्र, सैनिकतन्त्र वा अन्य अलोकतान्त्रिक अधिनायकवादमा परिणत हुन्छ । निर्वाचन नगरी दलहरू सत्तामा बसिरहँदा, राजनीतिक निर्णयहरू गरिरहँदा जनतामा वितृष्णा जाग्छ र समाजमा अस्थिरता उत्पन्न हुन्छ । अनिर्वाचित चण्डाल चौकडीहरू सत्तामा दोहोरिइरहँदा प्रतिभावान् जनता देश छोडेर अन्यत्रै हिँड्न थाल्छन् र समाजमा अपसंस्कृतिको विकास हुन थाल्छ । देश कमजोर र खोक्रो बन्दै जान्छ ।

यस्तो बेलामा प्रतिपक्ष तथा देशका जागरुक र चेतनशील नागरिकको कर्तव्य हुन्छ, एक निर्वाचन दुई निर्वाचन र तीन निर्वाचनको रट लगाउँदै जनतालाई सचेत गराइरहनु । तर्क, विचार, प्रमाणहरू प्रवाहित गरेर सरकार चाहिँदो होइन, नचाहिँदो काममा लागिरहेको भण्डफोर गरिरहनु । सभा–जुलुसहरू गरेर सत्तापक्षलाई उदांग पार्दै निर्वाचन गराउन बाध्य पारिरहनु । प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता मात्र होइन, समाजका बुद्धिजीवी, पेसाकर्मी, नागरिक समाज र सत्तारुढका जेन्युइन नेता तथा कार्यकर्ताले बिहान पनि चुनाव, दिउँसो पनि चुनाव र साँझ पनि चुनावकै अभियान सञ्चालन गरिरहनुपर्छ । यसले जनताको मनमा उनीहरू स्थापित हुनेछन् र आउँदो चुनावमा त्यसको प्रतिफल पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.