मुरली धुन छाडेर गए पन्नाकाजी
काठमाडौः पूर्वीय संगीतको पुरानो बाजा मुरलीलाई नेपाली मनमनमा बास गराउने पन्नाकाजी शाक्यको बुधबार टंकेश्वरस्थित आफ्नै निवासमा निधन भएको छ ।
१९८८ सालमा ललितपुरको इमाडोलमा जन्मिएका शाक्य नेपालमा आधुनिक संगीत स्थापित गराउने मुख्य व्यक्ति हुन् । ‘तिरिरी मुरली बज्यो बनैमा' गीतमार्फत शाक्यले मुरलीलाई नेपालीको मनमा भिजाएका थिए ।
रेडियो नेपालको स्थापनादेखि नै आबद्ध उनले २००४ सालदेखि नै गीत गाउन थालेका थिए । हिन्दुस्तानी प्रभाव प्रचुर मात्रामा भइरहेको बेला जनजनमा नेपाली आधुनिक संगीतको सञ्चार गर्नेमध्येका एक धरोहर हुन् उनी ।
गायक योगेश वैद्य सम्झन्छन्, ‘आधुनिक गीत पनि यति राम्रो हुन्छ भन्ने प्रतीत गराउने कलाकार उहाँ नै हो ।' शाक्यको साधारण जीवनशैली वैद्यलाई साह्रै मन परेको थियो । यी दुईले ‘वा माया वा' बोलको नेवारी गीत सँगै गाए ।
नेपाली संगीतमा इमानदारीका साथ लागेका केही कलाकारलाई पछिल्लो समय विरक्तिले छोएको थियो । शाक्यको पनि अवस्था उस्तै थियो । बाहिर गायक भनेर जति सम्मान पाए पनि रेडियो नेपालभित्रै प्रशासनका कर्मचारीले गर्ने हेपाहा व्यवहार उनलाई फिटिक्कै मन पर्दैनथ्यो । कलाकारको उचित सम्मान नभएको देख्दा शाक्य विरक्तिएका थिए । उनले २०४० सालमा रेडियो नेपालबाट स्वेच्छिक अवकाश लिए ।
२०२२ सालमा रेडियो नेपालमा आयोजित आधुनिक गीत प्रतियोगितामा गायनतर्फ शाक्य र संगीततर्फ नारायणगोपाल प्रथम भएका थिए । प्रेमध्वज प्रधानलाई हिजैजस्तो लाग्छ, २०१० सालतिर रेडियो नेपाल जाँदा शाक्यले आफैं हार्मोनियम बजाएर गीत गाएको । पछिल्लो समय मर्निङवाकमा उनीहरूको भेट हुन्थ्यो । नेपाली आधुनिक गीतमा उनको योगदानको व्याख्या गर्ने शब्द प्रधानसँग पनि छैन । कामजस्तै उनको स्वभाव पनि सरल थियो । प्रधान भन्छन्, ‘यति लामो संगत भयो, अहिलेसम्म उहाँले कसैसँग नमीठो बोलेको थाहा छैन ।'
देव बज्राचार्यले बाल्यकालदेखि शाक्यलाई देखेका थिए । ओमबहालमा सानैदेखि शाक्यको छहारीमा रहने मौका पाएका बज्राचार्य यतिबेला उनको स्वभाव सम्झन्छन्, ‘टोलका मान्छे दाजुलाई देख्नेबित्तिकै सधैं हाँसिहाल्थे ।' आफू नहाँसी अरूलाई हँसाउने स्वभाव थियो शाक्यको ।
उनले बोल्न थालेपछि सबै चुपचाप भएर सुन्थे । रेडियोमा पनि पन्नाकाजी दाइ आए भनेपछि सबै हाँस्थे । भुइँचालोपछि यी दाजुभाइको भेट भएको थिएन । भुइँचालोले ओमबहालस्थित घरमा क्षति भएपछि शाक्य टंकेश्वरस्थित छोरा प्रवेशमानसँग बस्दै आएका थिए । बिरामी बज्राचार्य अचानक दुःखद् खबर पाएपछि आफ्ना प्रिय दाजुको अन्त्येष्टिमा हान्निँदै पुगे ।
बुधबार बिहान ५ बजे छोराकै निवासमा उनको निधन भएको थियो । दिउँसो टेकु दोभानमा अन्त्येष्टि गरिएको छ । जीवनमा पुरस्कारको आशा नगरी स्वच्छ छवि बनाएका कलाकार हुन् शाक्य । धेरै पुरस्कार लत्याएका उनले पछिल्लो समयका केही पुरस्कारमात्र लिए । त्यतिबेला राजा महेन्द्रका प्रिय गायक शाक्यले रेडियो नेपालमा आधुनिक गीत, भजन, स्वदेशगान, लोकगीत, नेपाल भाषाका सयौं गीत गाएका छन् ।
उनले गाएका करिब चार सय गीतमा सयवटा मात्र रेकर्डेड छन् । उनका तीनवटा एकल एल्बम सार्वजनिक छन् । राजा महेन्द्रको शब्दमा रहेको गीत ‘किन किन तिम्रो तस्बिर' पहिलोपटक उनले नै गाएका थिए । पछि त्यसलाई गुलाम अलीले गाए ।
‘लोलाएका ती ठूला' बोलको पुरानो मेलोडी पनि उनले गाएका हुन् । उनका ‘हामीलाई छाडी अब दाइ त एकानी दुवानी', ‘लालीगुराँस फुल्यो है' लगायत गीत चर्चित छन् । शाक्यका पाँच सन्तानमध्ये प्रवेशमान र पवित्रमान संगीतमै सक्रिय छन् ।