नेपालगन्ज अडिसन उत्साहजनक
नेपालगन्जः नेपालमा पहिलोपटक एपी वान टेलिभिजनले भित्र्याएको फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आडल' नेपालगन्जबाट सुरु भएको छ । यसपछि देशका मुख्य अरू सात सहरमा आइडलको अडिसन हुनेछ ।
नेपालगन्ज अडिसनमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा रहेका गायनमा रुचि राख्नेहरूको उत्साहजनक सहभागिता थियो । बिहान १० बजेदेखि सुरु भएको अडिसनमा सहभागी हुन प्रतियोगी झिसमिसे उज्ज्यालोमै लाइन लागेका थिए । अडिसनस्थल प्रवेशका लागि गेट खुल्नुअघि प्रतियोगीले समूहसमूहमा गीत गाउँदै कार्यक्रमस्थल संगीतमय बनाएका थिए ।
छोटो समयको तयारी र सूचनामा पनि गायनमा रुचि राख्नेहरूको उल्लेख्य सहभागिता देखेर आफूहरू उत्साहित भएको नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले बताए । ‘यो क्षेत्रबाट नेपालगन्ज अडिसनमा देखिएको उत्साहबाट नेपाल आइडलको सिंगो टिम उत्साहित भएको छ । प्रतियोगीहरूको गायकी र निर्णायकहरूको प्रतिक्रिया सुन्दा हामीले अपेक्षा गरेभन्दा राम्रो अवस्था पायौं', पौडेलले भने ।
यहाँको सांस्कृतिक र सामाजिक विविधताभित्र अलग प्रकारको उत्कृष्ट प्रतिभा खोज्ने आफूहरूको चाहना नेपालगन्ज अडिसनबाट सफल हुने पौडेलको विश्वास छ । नियमित प्रसारणको तयारीमा रहेको नेपालकै पहिलो एचडी टेलिभिजन एपी वानले नेपाल भित्र्याएको नेपाल आइडलको सुरुवात नेपालगन्जबाट भएकोमा यस क्षेत्रका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाले निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । पहिलो अडिसनमा १६ वर्ष पुगेर ३० वर्ष ननाघेको प्रमाण नभएका कयौंले प्रतिस्पर्धा गर्न पाएनन् । उमेर हदका कारण धेरैले गायनकला हुँदाहुँदै पनि प्रतिस्पर्धा गर्न नपाउँदा निरास भएर फर्किएका थिए । नेपाल आइडलमा उमेरको हद किन ?
भन्ने प्रश्नमा प्रोजेक्ट हेड पौडेलले भने, ‘यो रियालिटी शो फ्रेन्चाइज आइडलको विश्वव्यापी नियम नै हो । हामीले तलमाथि गर्न मिल्दैन । उमेर नपुगेकाको हकमा आगामी वर्षमा नेपाल आइडलको ढोका खुल्ला रहनेछ ।'
अडिसन बुटवलमा माघ १५, नारायणघाटमा माघ १८, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवम् काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ । प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक छन् । प्रतियोगिताको स्तर र पुरस्कार राशिले पनि धेरैलाई आकर्षित गरेको छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँ बराबरको महिन्द्रा कुप एक सय कार, २० लाख रुपैयाँ नगद र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।
प्रसारणको तयारीमा रहेको नेपालकै पहिलो एचडी टेलिभिजन एपी वानले नेपाल भित्र्याएको नेपाल आइडलको सुरुआत नेपालगञ्जबाट भएको हो ।
सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर स्थापित छ ।
अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो । अमेरिका, अस्ट्रेलिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, भारतपछि फ्रेन्चाइज ‘आइडल' को नेपाली संस्करण नेपाल आइडल सुरु भएको हो ।