एयर मार्सल विवाद
नेपाल र भारतबीच सम्बन्धमा तनाव तथा असमझदारीको एउटा मुख्य कारण अधिकांश नेपाली नेताहरूको भारतप्रति समर्पण र भारतको नेपालबारेको सुरक्षा आवधारणा लिन सकिन्छ । नेपाली जनता भारतप्रति सद्भाव राख्छन् र ऊ सुरक्षित रहोस् भन्ने चाहन्छन् ।
भारतीय सेनामा कार्यरत नेपालीहरूले आफ्नो मुलुकको सुरक्षामा भन्दा भारतीय सीमा सुरक्षामा कैयौं गुणा बढी लिटर रगत बगाएका छन् । यो रगतको मूल्यले के अर्थ राख्छ भारतको नेपाल नीतिमा ? स्पष्ट छैन, तर ऊ अक्सर नेपाललाई भारतको सुरक्षाको हिसाबले खतराको अखडाको रूपमा लिन्छ र आफ्नो जायज-नाजायज उपस्थिति चाहन्छ नेपालमा ।
अहिले भारतीय एअर मार्सलको उपस्थिति चाहन्छ भारत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । पक्कै पनि भारतमा विमान सुरक्षा स्थिति नेपालको तुलनामा राम्रो छ, यद्यपि अपहरणका घटनाहरूमा भारतीय भूमि, विमानस्थल र विमान बढी सिकार बनेका छन् । त्यति भन्दाभन्दै पनि विमान, विमानस्थल र यात्रुहरूको सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता हुनु हुँदैन ।
पूर्ण सुरक्षाको प्रत्याभूति दिने काम सम्बन्धित सरकारको हो । नेपालबाट सन् १९९९ डिसेम्बर २४ मा उडेको भारतीय विमान आईसी ८१४ अपहरण भएपछि भारतले पुनः उडान सुरु गर्न राखेका अनेक सर्तहरू नेपालले पूरा गरे पनि यता आएर उसले भारतीय एअर मार्सलको उपस्थिति र नेपाली विमानस्थलहरूको सुरक्षाको जिम्मा खोजेको छ, प्रत्यक्ष-परोक्ष रूपमा ।
कानुनी व्यवस्था र शान्तिसुरक्षाको दायित्व निर्वाहमा यदि कुनै सरकार आश्वस्त छैन र बाहिरी एजेन्सी ‘आउटसोर्स' गर्न चाहन्छ भने त्यो उसको सर्वाधिक ठूलो असफलता मात्र हैन, सार्वजनिक सुरक्षा स्थापनामा ऊ सक्षम नभएको अर्थ पनि लाग्छ ।
नेपालमा अहिले तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायु सेवाका विमानहरूको उडान सुचारु रूपमा चलिरहेको बेला भारत सरकार किन असुरक्षित महसुस गर्दछ, यसको उत्तर नेपाली जनताले समेत पाउनु आवश्यक छ संसद्मार्फत ।
भारतलगायत यहाँ उडानमा रहेका सबै मुलुकका विमानहरू सुरक्षित रहनुपर्दछ । त्यसको लागि त्रिभुवन विमानस्थलमा अत्याधुनिक सुरक्षा उपकरण जडान गरिनुका साथै सुरक्षा व्यवस्थाको व्यवस्थित सुदृढीकरण आवश्यक छ । तर नेपाल आफ्नो शान्तिसुरक्षा कायम राख्न असफल भएको सन्देश जाने गरी भारतले विमानस्थलको जिम्मा खोज्नु अस्वीकार्य र निन्दनीय प्रसंग हो । त्यसले बाहिरी दुनियाँमा जाने अर्थ गम्भीर हुन्छ ।
दुर्भाग्य केही पात्र या कुपात्र महत्वपूर्ण हैसियतमा हुँदा यस्ता प्रयास अगाडि बढेका छन् नेपालभित्र । नेपालको सार्वभौमसत्ताप्रति बराबर हल्का रूपमा प्रस्तुत भएका बाबुराम भट्टराईले विमानस्थलको सुरक्षाबारे संवेदनहीनता प्रदर्शन गरेका छन् ।
उनकी पत्नी हिसिला यमीले पर्यटनमन्त्रीका रूपमा गोप्य रूपमा एअर मार्सल भित्र्याउने प्रस्तावलाई तत्कालीन विभागीय सचिवले कार्यान्वयन हुनबाट रोकेका थिए । अहिले पुष्पकमल दाहाल, विमलेन्द्र निधि र जीवन शाहीले त्यसबारे के अडान राख्दैछन्, त्यो स्पष्ट हुनु जरुरी छ ।
नेपाल सरकार बाह्य विमानको सुरक्षाप्रति संवेदनशील हुनैपर्छ र उसले उनीहरूलाई त्यसबारे आश्वस्त गर्नैपर्छ । तर विदेशी एयर मार्सलको उपस्थितिसम्बन्धी निर्णय हल्का र गोप्य रूपमा भएमा त्यो सरकारको असफलतासँगै सत्तामा रहनुको औचित्य सावित भएको प्रमाण मानिनेछ ।