क्यानभासमा डिजिटल प्रयोग
काठमाडौं: सन् २००९ मा कलाकर्मी जया शर्माले नेपालमा पहिलो पटक डिजिटल आर्ट प्रदर्शन गरिन्। रङका कारण फोक्सोमा एलर्जी भएपछि सन् २००२ देखि उनले कम्प्युटरमा पेन्टिङ गर्न थालेकी हुन्। सिक्दै पोख्त बन्दै गइन्।
सन् २००८ मा अमेरिकी साथीले विकसित मुलुकमा डिजिटल आर्टको महत्व र प्रचलन बारे बताएपछि जयाले प्रदर्शनीको तयारी गरिन्। पेन्टिङमै स्नातकोत्तर अध्ययन गरेकी उनी ब्रस पनि चलाउँछिन्, कम्प्युटरमा पनि पेन्टिङ गर्छिन्।
नेपालमा ललितकलामा डिजिटल प्रविधि प्रयोग हुन थालेको सन् २००० देखि हो। डिजिटल आर्ट विधाको रूपमा विकास भइसकेको छ। यसमा काम गर्ने कलाकार धेरै छन्। पेन्टिङमा डिजिटल प्रविधिको प्रयोगले नेपाली कलाकारलाई विश्व बजारमा अभ्यस्त बनाएको छ।
कलाकार सुजन चित्रकारका अनुसार अझै नेपाली कलाकारले राम्रोसँग प्रयोग गर्न सकेका छैनन्। जयाजस्ता केही कलाकारले डिजिटल पेन्टिङ गर्छन् भने केही कलाकारले डिजिटल प्रविधिलाई टुल्सको रूपमा मात्र प्रयोग गर्छन्।
हालै काभ्रे भ्रमणमा गएका कलाकार केशवराज खनाल र देवेन्द्र थुम्केलीले डाँडाकाँडा र गाउँको तस्बिर खिचेर ल्याए। उनीहरूसँग त्यहीँ बसेर पेन्टिङ गर्न समय थिएन। क्यामेरामा कैद गरेका र सुन्दर ठाउँका तस्बिर हेरेर उनीहरू क्यानभासमा पेन्टिङ गर्छन्।
कार्यशालाकै लागि पुगेको ठाउँमा त्यहीँ बसेर चित्र बनाउन सकिन्छ। अरू नै कामले कहीँ कतै गएका बेला देखिएका सुन्दर दृश्य त्यहीँ बसेर क्यानभासमा उतार्न सकिँदैन। यस्तो अवस्थामा केशवले ती स्थानका तस्बिर कैद गर्ने गरेका हुन्।
केही कलाकारले क्यानभासमा डिजिटल प्रिन्ट गरेर केही रङ ब्रसले थप्ने गरेका छन्। प्रचलनका नयाँ ट्याबलेटमा कलाकारका लागि सहयोगी फिचरहरू छन्। यसको प्रयोगले ‘कलर इफेक्ट' दिन सकिन्छ। यसले पेन्टिङ गर्ने दक्षता घटाउँछ कि भन्ने डर जुपिटर प्रधानलाई लाग्छ।
यसो भन्दैमा विश्व बजारको ट्रेन्डबाट पछाडि हट्नु हुँदैन। डिजिटल प्रविधिले कलाको माध्यमलाई झन् फराकिलो बनाइदिएको छ। उनी पुस्तकका कभर बनाउँदा डिजिटिल आर्ट नै गर्छन्।
पुस्तकका लागि अरू रङ चलाउनै नपर्ने गरी प्रविधिको प्रयोग हुन थालेको छ। झट्ट हेर्दा डिजिटल प्रविधिले पेन्टिङमा धेरै नराम्रो गरेजस्तो देखिन्छ, तर संसार डिजिटल प्रविधिमा चल्ने भइसकेको समयमा पछाडि पर्नु नेपाली कला जगत्कै लागि उचित हुँदैन।
डिजिटल आर्टले तुरुन्त नतिजा दिनु, समयको बचत हुनु यसको सकारात्मक पक्ष हो। धेरै किसिमका प्रविधि प्रयोग गर्न सकिन्छ। हातले बनाएको चित्रभन्दा धेरै प्रति निकाल्न सकिन्छ। कलाकारले जति मन लाग्छ त्यति प्रति निकाल्दै बेच्न थाल्यो भने यसको महत्व घट्छ।
निश्चित प्रति निकालेर बिक्री गर्ने हो भने हातले बनाएका चित्रभन्दा यसको महत्व कम हुँदैन। ‘कम्प्युटरमा पनि पिक्सेलको कारणले काम गर्न गाह्रो छ, यसलाई कमसल भन्न मिल्दैन', जया भन्छिन्।