निर्वाचन आयोगमा तीन आयुक्तको नाम सिफारिस
काठमाडौं : शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगका लागि तीन आयुक्तको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद् बैठकले पूर्वसचिव ईश्वरीप्रसाद पौडेल, पूर्वसहसचिवहरु नरेन्द्र दाहाल र सुधीरकुमार शाहको नाम निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको हो।
बैठकमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सभामुख ओनसरी घर्तीमगर, प्रधानन्यायाधीश सुशीला कार्की, प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच आयुक्त रहने संवैधानिक व्यवस्था भए पनि अहिले प्रमुख आयुक्त अयोधिप्रसाद यादव र आयुक्त इला शर्मामात्र छन् ।
शुक्रबारको सिफारिस संसदीय सुनुवाई समतिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । तीन आयुक्त नियुक्ती सँगै निर्वाचन आयोगले पूर्णता पाउने छ।
परिषद्ले सिफारिस गरेका पौडेल कांग्रेस कोटाका हुन् भने दाहाल एमाले कोटाबाट आयुक्तमा सिफारिस भएका हुन् । आयुक्तको रुपमा सिफारिस भएका शाह भने माओवादी निकट हुन् ।
संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता समेत सदस्य रहने भएकाले राजनीतिक भागबण्डामा एमालेको कोटाबाट दाहाल आयुक्तमा सिफारिस भएका हुन् ।