‘प्रेमगीत २' थाइल्यान्ड प्रस्थान
काठमाडौः चलचित्र ‘प्रेमगीत २'को बाँकी छायांकनका लागि २३ सदस्यीय टोली शुक्रबार थाइल्यान्ड उडेको छ ।
थाई पर्यटकीयस्थलमा १५ दिनसम्म र म्यानमारमा पाँच दिन छायांकन हुनेछ । निर्देशक रामशरण पाठक, अभिनेता प्रदीप खड्का र अभिनेत्री अश्लेषा ठकुरी, प्रोडक्सन डिजाइनर बुद्धिलाल मगर, छायांकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक रिनशा राईसहितको टोली बैंकक उडेको हो । निर्देशक पाठकका अनुसार काठमाडौंमा अर्झै दुई दिनको छायांकन बाँकी छ ।
थाइल्यान्डमा विदेशी चलचित्रको छायांकन प्रशस्तै हुने भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारमा भने सन् २०११ पछि विदेशी चलचित्र छायांकन भएको छैन । सम्भवतः प्रेमगीत २ बर्मामा लोकतन्त्र बहालीपछि छायांकन हुने पहिलो विदेशी चलचित्र हो ।
सवा दुई करोड रुपैया लागत भनिएको यो चलचित्र प्रेमगीतकै शृंखला हो । नेपालको काठमाडौं, पोखरा, लुम्बिनी र रारामा यसको छायांकन भइसकेको छ ।