स्वरैकल्पना र यथार्थको रस्साकस्सी
पोखरा: 'अब यो सेसनमा प्रस्तोता जो माइक हातमा लिएर बसेको छ, उसले प्रश्न गर्दैन। जो वक्ता भनेर डाकिएका हुनुहुन्छ, उहाँहरू तीनजनाले प्रस्तोतालाई प्रश्न गर्नुहुन्छ', माइक लिनेबित्तिकै लेखक नारायण वाग्लेले भने, 'तर यो स्वैरकाल्पनिक कुरा हो।' बहसमा प्रवेश गर्नुअघि उनले विषयलाई बुझाउने प्रयास गरे।अब हामी यथार्थको धरातलमा ओर्लौ भन्दै उनले प्रश्न तेस्र्याउन थालिहाले।
'यथार्थ आफैंमा रोचक छ।हामीले देखिराखेको, भोगिराखेको यति धेरै कथाहरू छन्।तपाईं स्वैरकल्पनामा रमाउने कारण यथार्थबाट भाग्नलाई हो, यथार्थ सामना गर्न नसकेर हो ? ' स्वैरकाल्पनिक लेखनका स्रष्टा कुमार नगरकोटीलाई वाग्लेले सोधे।
जवाफ भने स्वैरकाल्पनिक आएन।कुमारले भने, 'अस्तित्व आफैंमा गैरआख्यान हो।त्यो एकदमै दिक्कलाग्दो छ।आकर्षक छैन।भागेको होइन, आफ्नो छुट्टै ब्रह्माण्ड सिर्जना गर्न खोजेकोमात्रै हो।'
त्यसपछि वाग्लेले सामाजिक यथार्थवादको ढाँचामा लेख्दै आएका नयनराज पाण्डेतिर फर्किएर सोधे, 'यथार्थ त समाचारमै पढ्न पाइन्छ, कथामा किन पढ्ने ? ' नयनले कुनै पनि मुद्दा जनताको मनसम्म स्थापित गर्न समाचारभन्दा साहित्य प्रभावशाली हुने विचार सुनाए।उनले भने, 'कल्पना पनि यथार्थभन्दा बाहिर जाँदैन, जानु पनि हुँदैन।भावनाको आकाशमा, अन्तरिक्षमा जति कल्पनाको उडान भरे पनि खुट्टाको बूढी औंलाले जमिन छोइरहनुपर्छ।'
नगरकोटीले त्यसको प्रतिवाद गरे।उनले भने, 'बूढी औंला खतरनाक चिज हो।म त बूढी औंला लिएर उड्छु।' सहभागी पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विष्णुप्रसाद पौडेलले नगरकोटीसँग विमति जनाए, 'उड्नोस् जति उडे पनि तर छायाँ त देख्न पर्यो नि।' नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको एउटा सत्र स्वैरकल्पनाको संसारमाथि केन्द्रित थियो।प्रस्तोता वाग्लेले उपन्यासकार नारायण ढकाललाई सोधे, 'स्वैरकल्पना किन चाहिन्छ।' यथार्थ देखेर वाक्क लागेको बेला, निराश भएको बेला स्वैरकल्पना लेखन सुरु भएको ढकालले जानकारी दिए।
फेस्टिभलको सुरुमा 'गन्धर्व गीत' शीर्षकमा शोधकर्ता कुसुमाकर न्यौपानेले गायकद्वय हरिबहादुर गन्धर्व र नारायण गन्धर्वसँग वार्तालाप गरे।अर्को सत्रमा 'समृद्धि ः कति नजिक? ' विषयमा पत्रकार सुधीर शर्मा र समाजशास्त्री चैतन्य मि श्रले चिन्तन गरे।शनिबारै भारतीय लेखक उदय प्रकाशको कथासंग्रहका नेपाली अनुवाद 'नेलकटर'को विमोचनसमेत गरियो।अनुवादक यज्ञश र उदयले किताब विमोचन गरेका थिए।सीके लालले उनीहरूसँग अनुवादका विषयमा बहस गरे।
साहित्यकार कमलमणि दीक्षितको योगदानबारे अर्को सत्रमा भाषाविद् केदार शर्माले प्रस्तुतीकरण दिए।बैरागी काइँला, धु्रवचन्द्र गौतम र राजेन्द्र दाहालले कमलमणिका योगदानबारे चर्चा गरे।भारतबाट आएका युवा लेखक दुर्जोय दत्तसँग उनका पुस्तकप्रतिको आशक्तिबारे समालोचक हिमा विष्टले कुराकानी गरिन्।अनुवादक वसन्त थापाले अनुवाद र भाषाका कुरा अर्को सत्रमा गरेका थिए।
कवितामा क्लिष्टता वा विम्बको अतिप्रयोग र पुनरावृत्तिबारे कविहरू निभा शाह, भूपिन र तीर्थ श्रेष्ठले बहस गरे।शनिबारकै अर्को सत्रमा लेखक अमर न्यौपानेले व्यवसायी र लेखक जीवा लामिछाने तथा विश्व साइकल यात्री पुष्कर शाहसँग संसार घुम्ने तरिकाबारे कुराकानी गरे।
पत्रकार यज्ञशले सम्पादकहरू हरिहर विरही, राजेन्द्र दाहाल तथा अमित ढकालसँग पत्रकारिताको विगत, वर्तमान र अबको मार्गबारे बहस चलाए।महोत्सवको अन्तिम दुई सत्रमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रहसन देखाए भने नारायण वाग्लेले गायक अमृत गुरुङसँग गायन, जिन्दगी र जन्मथलो पोखराबारे कुराकानी गरे।