संशोधन कि सहमति र सहकार्य

 संशोधन कि सहमति र सहकार्य

हिजो जुन जुन राजनीतिक शक्तिको सहमतिमा संविधान जारी भएको थियो, ती शक्ति अहिले संविधानको स्वामित्व ग्रहण गर्न आनाकानी गरिरहेका छन् । मधेसकेन्द्रित राजनीति गर्दै आएका केही राजनीतिक दल र जनजाति मुद्दाकेन्द्रित राजनीति गर्ने केही दलले त सुरुदेखि नै वर्तमान संविधान स्वीकार्य गरेका थिएनन् ।

उनीहरूले त राजधानीमा एकपक्षले दीपावली मनाइरहँदा आफ्नो प्रभाव क्षेत्रमा ब्ल्याक आउट नै गरेका थिए । संविधानप्रति सन्तुष्ट वा असन्तुष्ट जुनसुकै दल भए पनि अहिले उनीहरूकै गैरजिम्मेवार गतिविधिले सिंगो देश बन्धक बनिरहेको छ । संविधान कार्यान्वयन प्रक्रिया रोकिएको छ । राजनीतिक क्षेत्र अन्योलमा रुमलिरहँदा त्यसको स्वाभाविक रूपमा नकारात्मक प्रभाव अन्य क्षेत्रमा पनि परेको छ ।

अवस्था कतिसम्म गम्भीर बनिसकेको छ भने शान्ति, समृद्धि, सुशासन होइन कि कतै जनताको आन्दोलनबाट प्राप्त अधिकारहरू गुम्ने त होइन ? आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता जस्ता उपलब्धि नै संकटमा पर्ने त होइन ? आशंकाहरू बढेका छन् ।

वर्तमान संविधानमा २०७४ माघ ७ सम्म तीन तहको निर्वाचन गर्ने व्यवस्था छ । यदि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन गरिएन भने त्यसबेला संवैधानिक संकट उत्पन्न हुने निश्चित छ । गर्न त त्यसबेला सबै दल मिलेर २०७४ माघ ७ सम्म तीन तहको निर्वाचन गर्ने संवैधानिक व्यवस्था संशोधन गरी दलहरूले २०७५ माघ ७ बनाउलान् तर त्यसले जनतामा कस्तो सन्देश दिनेछ ? त्यति मात्र होइन, त्यसरी संविधान संशोधन गर्ने अधिकार यो संसद्लाई छ छैन भनी अदालतमा समेत प्रश्न उठ्नेछ ।

देशको राजनीतिक संकट समाधान गर्ने राजनीतिक दलहरूले नै हो । त्यो पनि अहिले भएकै दल र दलका नेतृत्वले नै हो । रातारात अरू कुनै दल वा शक्ति आइहाल्ने वा विदेशीले समस्या समाधान गरिदिने भन्ने हुँदैन । देशमा भएको राजनीतिक परिवर्तनको नेतृत्व अहिले भएकै दलले गरे । यिनै दलले संविधान जारी गरे । अब संविधानको कार्यान्वयन पनि यिनीहरूले गर्ने हो ।

अहिले भएको शक्ति भनेको कांग्रेस, एमाले, माओवादी, मधेसवादी र राप्रपा नै हुन् । संविधान जारी हँदा यीमध्ये एउटा शक्ति मधेसवादीलाई सहमतिमा ल्याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या देखियो । भोलि मधेसवादीलाई सहमतिमा ल्याई एमाले वा राप्रपाजस्ता शक्तिलाई बेवास्ता गरियो वा अरू मिलेर कांग्रेस, माओवादी वा यीमध्ये कुनै एउटा शक्तिलाई बेवास्ता गर्ने कार्य भयो भने पुनः समस्या आइहाल्छ ।

त्यसैले हाम्रो देशको राजनीतिक शक्ति सन्तुलनको यथार्थ भनेको उल्लिखित राजनीतिक शक्तिबीच सहमति र सहकार्य नै हो । जनताको अभिमत पनि सहमति र सहकार्य गर भन्ने हो, निषेधको राजनीति होइन । यो वास्तविक यथार्थलाई आत्मसात गर्दै दलहरूबीच पुनः सहमति र सहकार्य जरुरी छ । सहमति गर्दा केही प्राप्त गर्ने र केही छोड्ने गर्नै पर्दछ ।

कि आफू एक्लैले सक्नुपर्‍यो, यदि आफू एक्लैले सकिँदैन वा आवश्यक बहुमत छैन भने अरूका विचार सुन्नैपर्छ । सबैका माग र एजेन्डाको सम्बोधन गर्नैपर्दछ । यसो गर्दा कांग्रेस, एमाले, माओवादी, मधेसवादी, राप्रपा कुनै पनि पार्टीले भनेजस्तो हुँदैन । केही कुरा प्राप्त गर्ने र केही कुरा छोड्ने गर्नैपर्दछ । यसको विकल्प छैन ।

आखिर ढिलोचाँडो यसो गर्नैपर्दछ भने किन देशलाई बन्धक बनाउने ? मिलन बिन्दु खोजी सहमति गर्न किन ढिलाइ गर्ने ? ढिलाइ गर्दा कसलाई फाइदा भएको छ ? केही सीमित वर्गलाई फाइदा भएको होला, तर सिंगो मुलुक र आम नेपाली जनतालाई घाटा पुगेको छ । देशको राष्ट्रियता, स्वाधीनता र सम्मान कमजोर बन्दै गएको छ ।

जातजाति र क्षेत्रबीच अविश्वास पैदा भएको छ । विदेशी शक्तिले खेल्ने ठाउँ पाएको छ । आर्थिक गतिविधि प्रभावित हुँदा देश कमजोर बन्दै गएको छ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धि संकटमा पर्दै गएका छन् । यी कुरा नेताहरूले बुझेर पनि दलगत र व्यक्तिगत स्वार्थ अनि सत्तामोहका कारण आफ्ना काम र व्यवहारहरूमा सुधारेका छैनन् । उनीहरूले व्यक्तिगत, दलगत स्वार्थ अनि सत्ता र पद प्राप्तिका निम्ति राष्ट्रलाई नै दाउमा राखेका छन् । देश र जनतालाई बन्धक बनाएका छन् र विदेशीका गोटी बनेका छन् ।

यतिबेला राष्ट्र र जनताप्रति दल र तिनका नेता चिन्तित छन् र राजनीति गरेका हुन् भने छिटोभन्दा छिटो आपसी सहमति गरेर समस्याको निकास खोज्नुपर्छ । अनावश्यक हठ र ढिपी गरेर देशलाई बन्धक बनाउनु हुँदैन । अहिले संविधान संशोधनसम्बन्धी विधेयक संसद्मा छ त्यो पास होला वा फेल होला त्यो अलग विषय हो ।

तर सत्य के हो भने दलहरूबीच सहमति भएन भने त्यो संशोधन विधायक पास वा फेल जे भए पनि त्यसले अहिलेको समस्या समाधान गर्न सक्दैन । समस्या अझ बढी जटिल हुन्छ । संविधान त यसअघि पनि बनेको पाँच महिनामै संशोधन भयो तर समस्या समाधान भएन । अब पनि सहमति नभए संकटमा परेको देश निकास होइन थप मुठभेट र संकटतर्फ धकेलिनेछ ।

आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थका निम्ति देशलाई बर्बादीतर्फ धकेल्ने अधिकार कसैलाई छैन । अब देशको माटो छातीमा राखेर निर्णय गर्नुपर्दछ । जनताको सुन्दर सपनामाथि आगो लगाउने अधिकार कसैलाई छैन । कसैले त्यस्तो धृष्टता गर्छ भने उसलाई इतिहासले क्षमा दिने छैन । जनताले माफी दिनेवाला छैनन् । यसैले समय हुँदै समस्याको निकास खोज्न सबै राजनीति शक्ति अग्रसर बन्नुपर्दछ । खरानीको निम्ती घरमा आगो लगाउने मूर्खता गर्नु हुन्न ।

संविधान संशोधन र प्रदेशको सीमा हेरफेर ठूलो विषय होइन । संविधान धर्मशास्त्र पनि होइन, जुन समयअनुकुल संशोधन नहोस् । २००७ सालको संविधान ६ पटक संशोधन भएको थियो । २०१७ सालको संविधान तीनपटक, २०६३ सालको अन्तरिम संविधान १२ पटक संशोधन भएको थियो ।

अहिलेकै संविधान पनि एकपटक संशोधन भइसकेको छ । संघीय प्रदेश, संख्या र सीमा पनि अपरिवर्तनीय विषय होइनन् । आवश्यक पर्दा प्रदेशको संख्या र सीमाहरू प्नि हेरफेर हुन सक्छन् । हो, प्रदेशका संख्या र सीमा बनाउँदा सामथ्र्य र पहिचानजस्ता विषयलाई ख्याल गर्नुपर्ला ?

इतिहास, भूगोल, जनसंख्या र संस्कृतिजस्ता विषयहरूलाई ध्यान दिनुपर्ला । औचित्य र आवश्यकताअनुसार परिवर्तन गर्न सकिन्छ । फेरि परिवर्तन गर्न सकिन्छ भनेर राष्ट्र र जनतालाई अहित हुने गरी संघीयता र संविधानवादका मूल्यमान्यतालाई तिलाञ्जली दिएर संशोधन गर्न पनि हुन्न । त्यसैले यी विषयलाई अत्यन्त ठूलो र जटिल विषय बनाई राजनीतिक गतिरोध उत्पन्न गर्नु हँदैन ।

दलहरूले सहमति गरेर समस्याको पहिचान गर्ने र समाधान पनि गर्न सके संविधान कार्यान्ययन पनि हुन्छ, चुनाव हुन्छ र देशमा शान्ति र आर्थिक समृद्धिले गति लिनेछ । प्राप्त अधिकार संस्थागत हुनुका साथै थप अधिकार प्राप्तिको बाटो खुल्नेछ ।

अब देशको राजनीतिले शक्ति सन्तुलन र जनताको चाहनालाई ख्याल गर्दै सहमति गरेर अगाडि बढ्नु पर्दछ । गतिरोध बढाउने होइन, निकास निकाल्नुपर्दछ । सहमति गरेर समस्याको पहिचान गर्ने र समाधान पनि गर्न सके संविधान कार्यान्ययन पनि हुन्छ, चुनाव हुन्छ र देशमा शान्ति र आर्थिक समृद्धिले गति लिनेछ ।

प्राप्त अधिकार संस्थागत हुनुका साथै थप अधिकार प्राप्तिको बाटो खुल्नेछ । त्यसैले अहिलेसम्म जजसले जेजस्ता हठ वा इगो पालेका भए पनि अब ती सबै हठ र इगो छोडेर देश र जनताको हितलाई केन्द्र बिन्दुमा राख्दै सहमतिका निम्ति प्रयत्न गर्नुपर्दछ । त्यो सहमति खोज्ने मुख्य दायित्व सत्तारुढ दलको हो । सरकारको नेतृत्व अहिले माओवादी र कांग्रेसले गरिरहेका छन् ।

उनीहरूले सरकार बाहिर भएका एमालेसहित अन्य दललाई सहमतिमा ल्याउँदै सरकारलाई समर्थन गरे पनि असन्तुष्ट मधेसवादी र राप्रपाको समेत विश्वास जितेर नयाँ शिराबाट सहमति र सहकार्य गर्दै अगाडिमै कल्याण छ । यदि नयाँ परिवेशमा नयाँ उचाइबाट राजनीतिक शक्तिबीच सहमति र सहकार्य भयो भने त्यसले संविधान कार्यान्वयनमा देखिएको अवरोध अन्त्य गर्नेछ ।

संविधानप्रति सबैले अपनत्व महसुस गर्नेछन् । निर्वाचनको वातावरण बन्नेछ । तीन तहको निर्वाचन सम्पन्न भएसँगै देश संघीय संरचनाको कार्यन्वयनमा जानेछ । राजनीति स्थायित्व भएपछि देशमा विकास र समृद्धि हुनेछ । अगाडि बढेको राजनीतिक अधिकार प्राप्ति र पछाडि परेको आर्थिक अवस्थाबीच सन्तुलन हुनेछ । त्यसैले सहकार्य र सहमतिका आधारमा समस्याको समाधान खोजौं ।
राई राप्रपाका सहायक महामन्त्री हुन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.