'आध्यात्मिकता भएन भने मानिस हिंस्रक हुन्छ'
पोखरा: पर्दा र मञ्चहरूमा सधैं सँगै देखिने कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सोमबार पनि मञ्चमा सँगै थिए। तर, कुनै प्रस्तुतिका लागि होइन, जिज्ञासा मेटाउन।
'यो कार्यक्रमका लागि पनि तपाईंहरू सँगै आउनुभएको कि छुट्टाछुट्टै? ', पहिलो प्रश्न खस्यो। हरिवंशले जवाफ फर्काए जसले हाँसोको फोहोरा छुटाइहाल्यो, 'हामीमात्रै होइन, ७३ जना सँगै आएका हौं।'
नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबारको पहिलो सत्रमा उनीहरूको साझेदारीका ३७ वर्षका कडीमाथि पत्रकार गुणराज लुइँटेलले छलफल चलाएका थिए। 'हाम्रो आत्माको सम्बन्ध भइसक्यो, त्यसैले हामी जुटिरहन्छौं', हरिवंशले भावना पोखे, 'आध्यात्मिक पनि छौं, आध्यात्मिकता भएन भने मानिस हिंस्रक हुन्छ।' मदनकृष्णले त्यसलाई विस्तार गर्दै अर्काका लागि दुख्नु आध्यात्मिकता भएको अर्थ लगाए। भने, 'अरूको घाउमा दुख्नु आध्यात्मिकता हो, त्यो हामी दुईमा छ।'
२०३८ सालमा राष्ट्र बैंकको स्वर्ण महोत्सवका अवसरमा राजारानी आउने कार्यक्रममा प्रहसन देखाउँदा साझेदारी र सहयात्रा सुरु भएको उनीहरूले सुनाए। 'गायक रुवि जोशीले ९० मिनेटभन्दा कार्यक्रम छैन, तिमीहरू दुवैले एउटै कार्यक्रम गर्नुपर्ने भो भन्नुभयो', मदनले ती दिन सम्झिए, 'त्यो वैशाखको कार्यक्रमपछि भदौमा गाईजात्रा आयो, त्यति बेला पनि सँगै काम गरौं भनेर गरियो, अनि सहयात्राले निरन्तरता पायो।'
यमलोक भन्ने हास्यव्यंग्य क्यासेटका चक्का बेचेर घर र मोटरसाइकल जोड्न सकेको हरिवंशले सुनाए। 'चाइनिज इँटाको घर बनाएको थिएँ, यसो हेर्थें क्यासेटका चक्कैचक्काको घर बनेको छ र म त्यसको ढलानमा बसिरहेको छु', उनले भने, 'पहिला त पसलेहरूले लोकगीतको चक्का छैन भन्दै चारवटाभन्दा राख्न मानेनन्, पछि पसलमा बजाएको सुन्नेहरूको भीड लाग्न थाल्यो, क्यासेट बिक्री भयो।'
उनका अनुसार त्यो बेला डेढ लाख क्यासेट बिक्री भएको थियो र उनीहरूले प्रतिचक्का नौ रुपैयाँ रोयल्टी पाएका थिए। त्यसैबाट कलाको व्यावसायिकता हुन सकेको मदनको ठहर थियो। उनले भने, 'हास्यव्यंग्यलाई हेय गरिन्थ्यो, जोक्कर्याइँ भनिन्थ्यो। सामाजिक सन्देशहरू दिएर हामीले हास्यव्यंग्यलाई गरिमामय बनाउन सक्यौंजस्तो लाग्छ।'
अर्काे सत्रमा रुन्चे साहित्य शीर्षकमा बुद्धिसागर र अमर न्यौपाने बहसमा जुटे। उनीहरूलाई कथाकार राजेन्द्र पराजुलीले सहजीकरण गरे। न्यौपानेले बहसको शीर्षकमै अहसमति जनाए। भने, 'रुन्चे होइन कारुणिक साहित्य भन्नुपथ्र्याे।' उनले आँसुबिना हाँसोको अर्गानिक मूल फुट्न नसक्ने बताए।
साहित्यमा आँसु, करुणा मिसिनुपर्ने र हृदयलाई छुनुपर्ने उनको भनाइ थियो। बुद्धिसागरले पनि साहित्य हृदयसँग गाँसिने कुरा भएको बताए। 'मान्छे त्यत्तिकै रुँदैन, हाम्रा किताब पढेरमात्रै होइन, संसारमै साहित्य पढेर धेरै मान्छे रुन्छन्', उनले भने, 'आमा पढेर को हाँस्छ ? माधवी पढेर को हाँस्छ, वल्ड म्यान एन्ड सी पढेर को हाँस्छ ? '
१४ गतेबाट सुरु भएको साहित्य मेला सोमबार सकिएको छ। आयोजक बुक वर्म फाउन्डेसनका निर्देशक नीरज भारीले अर्काे वर्ष पनि पोखरामै साहित्य महोत्सव गर्ने घोषणा गरे। र्यान्डम रिडर्स सोसाइटीसँगको सहकार्यमा भएको महोत्सवको अन्तिम दिन राजन मुकारुङ, सरस्वती प्रतीक्षा र खगेन्द्र संग्रौलासँग गनेस पौडेलले वागी विचारमाथि बहस चलाए।
त्यस्तै अर्को सत्रमा एन्टी सोसल मिडियाबारे ऋचा भट्टराईले नाम्गे जाम, जीवन क्षेत्री र सुविन भट्टराईसँग कुराकानी गरिन्। साहित्यमा समयचेतमाथि नारायण ढकाल, भूपाल राई र सरिता तिवारीले छलफल गरे। शकुन्तला जोशीले छलफल चलाइन्।
पत्रकार अमित ढकालले चाँदीका घेरा शीर्षकमा रहेर स्वास्थ्यमन्त्री गगन थापा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गरे। समृद्धि राईले भारतीय लेखक दुर्जय दत्तसँग रोमान्टिकताबारे कुरा खोतलिन्।
वसन्त थापा गायक रामेशसँग गफिए। टुंग्याउनीमा भूपाल राई, सरिता तिवारी, शकुन्तला जोशी, राजन मुकारुङ, भूपिन, कल्पना चिलुवाल, निभा शाह, नवराज पराजुली र कुमार नगरकोटीले कविता सुनाए।