नेपाल आइडलः गायनसँगै चरित्रको खोजी
नारायणगढः चितवनको कविलास गाविस वडा नम्बर एक जुगेडी घर भएका २० वर्षीय मिलन चेपाङ चितवनको रत्ननगर नगरपालिका वडा नम्बर तीन ज्यामिरेस्थित नवोदय आवासीय माध्यमिक विद्यालयमा कक्षा दसमा अध्ययनरत छन् ।
मंगलबार बिहानै उनी नारायणगढस्थित बालकुमारी उच्चमाध्यमिक विद्यालयमा प्रथम नेपाल आइडलका लागि अडिसन दिन आइपुगे । बिहान सात बजे सुरु हुने भनिएको अडिसन प्राविधिक कारणवश दिउँसो एक बजेबाट सुरु भयो । दिउँसो तीन बजेतिर अडिसन दिने पालो पाएका चेपाङ अडिसन दिएपछि खुसीहुँदै बाहिरिए । पहिलो अडिसनबाट छानिएका चेपाङले यो सफलताबाट आफू अत्यन्तै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
‘अडिसनबाट छानिएँ, खुसी लागेको छ' अडिसनबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘आठ वर्षको उमेरदेखि गीत गाउन थालेको हुँ । सफल गायक बन्ने धोको छ ।’ विद्यालयका कार्यक्रम र एफएम रेडियोको फोनइन कार्यक्रमहरुमा गीत गाएको अनुभव बटुलेका चेपाङले अडिसनमा चलचित्र छक्कापञ्जाको देख न चम्पा, सुन न चम्पा बोलको गीत गाएका थिए ।
उनले अर्को गीत चलचित्र प्रेमगीतको टाइटल गीत म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस् सुनाए । दुई जना भाई र एक जना बहिनीका दाजु मिलन चेपाङ आगामी सफलताका लागि निकै मिहिनेत गरेर अघि बढ्ने बताउँछन् । फ्रेमण्ट्ले मिडिया र नाइन्टीन टिभीको अन्तर्राष्ट्रिय फ्रेञ्चाइज् नेपाल आइडलको नारायणगढ अडिसनमा करिब आठ सय जनाले अडिसन दिएका छन् ।
नेपाल आइडल अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो भएकोले अडिसनमा गायन प्रतिभासँगै चरित्रको खोजी गरिएको नेपाल आइडलका परियोजना प्रमुख सुरेश पौडेल बताउँछन् । देशभरका सात वटा शहरको अडिसन राउण्डबाट बढीमा एक सय जना काठमाडौँ राउण्डका लागि छनौट हुने उनले जानकारी दिए ।
‘तीमध्ये २४ जनामात्र थिएटर राउण्डका लागि छानिनेछ' छनौट प्रक्रियाबारे जानकारी दिँदै पौडेलले भने, ‘थिएटर राउण्डबाट १६ जना पियानो राउण्डका लागि छनौट हुनेछन् ।' पियानो राउण्डको प्रत्येक एपीसोड एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने र हरेक एपीसोडबाट एक जना प्रतियोगिताबाट बाहिरिने उनको भनाई छ । अन्तिम तीन जनाबीचको ग्राण्डफिनालेबाट पहिलो नेपाल आइडल चयन हुनेछन् ।
एपी वान टेलिभिजनबाट छिट्टै प्रसारण हुने बहुप्रतीक्षित गायन प्रतियोगिता नेपाल आइडलका विजेताले ३१ लाख ४५ हजार रुपैयाँ पर्ने महिन्द्रा केयुभी एक सय ब्राण्डको कार, २० लाख रुपैयाँ नगद र १५ लाख रुपैयाँ बराबरको आइडल एलबम पुरस्कारका रुपमा प्राप्त गर्नेछन् ।
नेपाल आइडल पावर्ड बाई अग्नि ग्रुपको एसोसिएट स्पोन्सरमा होम ग्लोरी किचेन एप्लाइन्सेज् र हिमाल स्टिल रहेका छन् । नेपालगञ्जबाट गत साता सुरु भएको अडिसन यात्रा बुटवलहुँदै चितवनको नारायणगढमा सम्पन्न भइसकेको छ ।
नारायणगढस्थित बालकुमारी उच्चमाध्यमिक विद्यालयमा भएको अडिसनमा पाँच सयभन्दा बढी युवायुवतीले भाग लिने अनुमान गरिएपनि अडिसन दिनेको लर्को लागेको थियो । नेपाल आइडलको अर्को अडिसन माघ २१ गते शुक्रबार बीरगञ्जको ज्ञान वाटिका उच्चमाध्यमिक विद्यालयमा हुँदैछ ।
यसैगरी, माघ २४ र २५ गते विराटनगरस्थित श्री आदर्श उच्चमाध्यमिक विद्यालय, माघ २९ र फागुन एक गते पोखराको गैरापाटनस्थित नवीन उच्चमाध्यमिक विद्यालय एवं फागुन सात र आठ गते ललितपुरको जावलाखेलस्थित डीएभी स्कुलमा नेपाल आइडलको अडिसन हुँदैछ । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, संगीतकार न्ह्यू बज्राचार्य र कालीप्रसाद बास्कोटा रहेका छन् ।