नेपाल आइडलको वीरगन्ज अडिसनको तयारी पूरा
वीरगन्ज : नेपालमा पहिलो पटक एपी वान टेलिभिजन च्यानलले भित्र्याएको फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ को वीरगन्ज अडिसन शुक्रबार हुँदैछ।
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ रानीघाट ज्ञानवाटिका माध्यमिक विद्यालयमा हुने अडिसनका लागि तयारी पूरा भइसकेको एपी वान टेलिभिजनका वीरगन्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए।
बिहान ७ बजेदेखि सुरु हुने अडिसन अपरान्ह ४ बजेसम्म चल्नेछ। वीरगन्ज अडिसनका लागि एक सातादेखि वीरगन्ज र आसपासका सहरमा प्रचारप्रसार गरिएको थियो। अडिसन हुने स्थलमा स्टुडियो, मञ्च र स्टल व्यवस्थापनको काम बिहीबार साँझ नै सकिएको साहले बताए।
अडिसनको प्रचारका लागि वीरगन्ज र आसपासका सहरको चोकचोकमा फ्लाक्स बोर्ड र ब्यानर झुन्ड्याउने, पम्प्लेट पोस्टर टाँस्ने काम गरिएको साहले बताए। अडिसनमा करिब दुई हजार पाँच सय जनाले भाग लिने अनुमान गरिएको नेपाल आइडलको इभेन्ट कोर्डिनेटर विनोद ओझाले बताए।
अडिसनमा भाग लिन चाहने इच्छुकका लागि वीरगन्ज, कलैया, निजगढ, चन्द्रनिगाहपुर, गौर, हेटौंडा, बर्दिवास, जलेश्वर, हरिवन, मलंगवा, जनकपुर गरी सात जिल्लाका सहरमा फर्महरू वितरण गरिएको ओझाले जानकारी दिए। वीरगन्ज अडिसनमा मकवानपुरदेखि धनुषासम्मका सात जिल्लाबाट गायनमा रुचि राख्नेहरूले भाग लिने ओझाले बताए।
वीरगन्ज अडिसनका लागि निर्णायकहरू संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी बिहीबार दिउँसै वीरगन्ज पुगेका छन्। नेपाल आइडल गायन प्रतियोगितको अडिसनमा १६ देखि ३० वर्ष उमेरका नेपाली नागरिकले मात्रै निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ।
नेपाल आइडलका लागि यसअघि नेपालगन्ज, बुटवल र नारायणघाटमा अडिसन भइसकेको छ। वीरगन्जको अडिसनपछि विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ गते तथा काठमाडौंमा फागुन ७ र ८ गते अडिसन हुनेछ।
नेपालभरिका विभिन्न सहरमा हुने अडिसनबाट गरी ८० देखि एक सय जना गायकहरूको छनोट गरिने र काठमाडौंमा हुने अन्तिम अडिसनबाट तीमध्ये नेपाल आइडलको स्पर्धाका लागि २० जना छान्ने योजना रहेको इभेन्ट कोर्डिनेटर ओझाले बताए।