राजेशलाई हेर्न हजारौं
नुवाकोटः नुवाकोटको बट्टारमा जारी चौथो नुवाकोट महोत्सवको आठौं दिन शुक्रबार महानायक राजेश हमालले स्थानीय दर्शकलाई नचाए भने हास्यकलाकार मनोज गजुरेलले देशको परिस्थितिप्रति व्यंग्य गर्दै नुवाकोटवासीलाई हँसाए ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ देखि सुरु भएको महोत्सव सकिन दुई दिन बाँकी रहँदा महोत्सवस्थल बट्टार बसपार्कबाट राजेश हमाल र मनोज गजुरेललाई मञ्चसम्म पुग्न हजारौं दर्शक छिचोल्नु परेको थियो ।
हमाल र गजुरेलको प्रस्तुति हेर्न शुक्रबारमात्रै १४ हजारभन्दा बढी दर्शक टिकट काटेर आएको संघका द्वितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । हालसम्म महोत्सवमा दर्शकको संख्या एक लाख ३५ हजार पुगेको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले बताए । आठ दिनमा दुई करोड पाँच लाख रुपैयाँको कारोबार भएको पनि उनले जानकारी दिए ।
महानायक हमाल ‘झम्के फूली नाकैमा बुलाकी' र ‘पानी मीठो त्रिशूली खोलाको' बोलको लोकगीतमा नाचेका थिए । नुवाकोट महोत्सवमा पहिलोपटक पुगेका महानायक हमालले १० वर्षअगाडि नुवाकोट आएको स्मरण गर्दै नुवाकोटवासी औधि मन परेको बताए । लगातार ३० मिनेट प्रस्तुति दिएका उनी नृत्य गर्दै दर्शकदीर्घामा पुग्दा वातावरण उल्लासमय बनेको थियो । उनलाई नजिकबाट हेर्न, छुन र फोटो खिच्न खोज्नेको भीड सम्हाल्न आयोजकलाई हम्मे परेको थियो ।
कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले विभिन्न नेताको क्यारिकेचर एवं प्रस्तुतिसहित ४५ मिनेट दर्शकलाई हँसाए । समसामयिक विषयमा व्यंग्य गर्दै उनले राष्ट्रियताको पक्षमा आफ्नो प्रस्तुति दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामा, चीनका राष्ट्रपति सी जिनपिङलगायतको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए ।
गायिका सुनिता दुलालको गीतमा पनि हजारौं दर्शक झुमेका थिए । शुक्रबारको कार्यक्रममा भीमसेन खतिवडा र अमृता लुंगेलीमगर, सरिता प्रजापति लगायतका गायकगायिकाले पनि दर्शकलाई मनोरञ्जन दिए । महोत्सवको आठौं दिन नेपाली कांग्रेस नुवाकोटका सभापति एवं सांसद जगदीश्वरनरसिंह केसीले नुवाकोटमा जारी रहेको महोत्सव जिल्लाको सम्भावनालाई उजागर गर्नमा केन्द्रित हुनुपर्ने बताए ।
महोत्सवमा स्थानीय कृषि उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीका सामग्रीहरूसमेत प्रदर्शनीमा राखिएका छन् ।