क्यान्सरविरुद्ध सचेतना र्याली
काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा शनिबार आयोजना गरेको भव्य सचेतना साइकल र्यालीमा हजारभन्दा बढी साइक्लिस्ट सहभागी भएका छन् । साइकल र्यालीको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा गरेका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयबाट सुरु भएको र्यालीमा एक हजार एक सय ७० साइक्लिस्ट सहभागी थिए । 'राइड फर लाइफ' नारा रहेको साइकल र्याली बिहान ८ बजे सुरु भएको थियो । र्याली नयाँबानेश्वर, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोकबाट जाउलाखेल पुगेर पुनः त्यही बाटो कुपन्डोल, त्रिपुरेश्वर, सहिदगेट, कान्तिपथ, घन्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै तीनकुने आइपुगेर समापन भएको थियो ।
र्यालीमा मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी पदाधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, चिकित्सक, समाजसेवी, कूटनीतिज्ञ, साहित्यकार, कलाकारलगायत विभिन्न क्षेत्र र पेसामा आबद्ध व्यक्ति सहभागी थिए । र्यालीमा सबै उमेरसमूहका व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो । र्यालीमा सहभागी हुन बालबालिकादेखि प्रौढ उमेरका व्यक्तिहरू बिहानै साइकल चढेर तीनकुने आइपुगेका थिए ।
अन्नपूर्ण साइकल र्यालीका लागि लुम्बिनीबाट समेत सहभागी आएका थिए भने विश्वयात्रामा निस्किएका युक्रेनका साइकल यात्री रुस्लान र विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलर पनि र्यालीमा सहभागी थिए ।
र्याली उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले क्यान्सरसँग जुधिरहेकालाई हिम्मत दिलाउन र सकारात्मक भावना जागृत गर्न साइकल र्यालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले एक वर्षभित्र ७५ जिल्लामा महिलाको पाठेघरको क्यान्सर परीक्षण सुरु गर्ने तयारीमा सरकार रहेको बताए । 'यो वर्ष हामी ७५ जिल्लामै कम्तीमा महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने तयारीमा छौं', मन्त्री थापाले भने । थापाले यो प्रक्रिया टुंगिएपछि क्यान्सर उपचार सहज बन्ने विश्वाससमेत व्यक्त गरे ।
'क्यान्सरको उपचारलाई आममानिसको पहुँचभित्र ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ', मन्त्री थापाले भने, 'क्यान्सरविरुद्ध अस्पताल र सरकारले मात्र जुधेर हुँदैन, व्यक्तिगत रूपमा हामी पनि जिम्मेवार हुनुपर्छ ।'
र्यालीको समापन अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाले गरेका थिए । अध्यक्ष थापाले र्यालीमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै 'क्यान्सरले मानिस मर्दैन, समयमै उपचार गरे यसबाट जोगिन पनि सकिन्छ' भन्ने सन्देश फैलाउन र्याली आयोजना गरिएको बताए । उनले अन्नपूर्ण मिडिया नेटवर्कले आगामी वर्ष पनि र्यालीलाई निरन्तरता दिने बताए ।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा भएको साइकल र्यालीको सहप्रायोजक सनराइज बैंक थियो । अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता सर्वसाधारणलाई क्यान्सरविरुद्ध सचेत गराउन साइकल र्याली आयोजना गर्दै आएको छ । अघिल्लो वर्षको र्यालीमा पनि सयौं साइकल यात्री सहभागी थिए । नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ । क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सरविरुद्धको दिवस मनाइँदै आएको छ ।