क्यान्सरविरुद्धको जागरण र्यालीमा कलाकारको धारणा
अन्नपूर्ण पोस्ट्ले आयोजना गरेको क्यान्सरविरुद्धको जागरण साइकल र्याली 'राइड फर लाइफ'मा कलाकारहरूको पनि उल्लेख्य सहभागिता रहेको छ।
कोही साइकल र्यालीमा सहभागी भए पनि केही कलाकार ऐक्यबद्धता जनाउन उद्घाटन कार्यक्रममा उपस्थित भए। सहभागी केही कलाकारले आफ्नो अनुभूति पनि बाँडेका छन्।
साइकल किन्न रहर लाग्यो
धीरज राई, पपगायक
अन्नपूर्ण पोस्ट्ले गरेको क्यान्सरविरुद्धको साइकल र्यालीमा सहभागी भएपछि मैले साइकल किन्ने मनस्थिति बनाइसकेको छु। वास्तवमा यो कार्यक्रम एकदमै राम्रो लाग्यो।
विभिन्न क्षेत्रका व्यक्तित्वलाई एकै ठाउँमा ल्याएर कार्यक्रम गर्नु जति रमाइलो हुन्छ, त्यत्तिकै चुनौतीपूर्ण पनि हुन्छ। तर, अन्नपूर्णले सफलतासाथ कार्यक्रम सम्पन गर्यो। यसले पक्कै पनि सहभागीहरू र सम्बन्धित सबैलाई ऊर्जा दिएजस्तो लाग्यो।
सबै कलाकार एक ठाउँमा भेट्ने अवसर पनि मिल्यो र निकै ठूलो जमातमा क्यान्सरसम्बन्धी चेतना भरिदियो। यो कार्यक्रम साँच्चै नै सन्देशमूलक र ऊर्जाशील लाग्यो।
साँच्चिकै सन्देशमूलक
सुबिन लिम्बू, पूर्वमिस नेपाल
सुरुमा त सामान्य कार्यक्रम होलाजस्तो लागेको थियो तर सहभागी देख्दा भव्य लाग्यो। बच्चादेखि वृद्धवृद्धासम्मको सहभागिता देखेर चकित भएँ। कुनै पनि उमेरसमूहका मानिस एकै ठाउँमा भेला हुनु चानचुने कुरा होइन।
यस्तो कार्यक्रमले पक्कै पनि मानिसमा क्यान्सर सचेतनासम्बन्धी सन्देश पुर्याउँछ। हामीले क्यान्सर लाग्नेबित्तिकै मरिन्छ भन्ने सोचाइ बदल्नु आवश्यक छ।
क्यान्सर निको बनाउन सकिन्छ र क्यान्सर लाग्न नदिन बेलैमा सचेत हुनुपर्छ। अन्नपूर्ण पोस्ट्ले गरेको कार्यक्रम साँच्चै सन्देशमूलक रह्यो।
निरोगी बन्ने अस्त्र साइकल
शुभेच्छा थापा, अभिनेत्री
मलाई एउटा साइकल र्यालीमा यति धेरै मान्छे जम्मा होलान् भन्ने लागेकै थिएन। साइकल र्यालीमा मानिसको उत्साह देखेर खुसी लाग्यो। यस्तै कुराहरूले मानिसलाई जागरुक बनाउने हो।
ठूलो संख्यामा सन्देश पुर्याउने हो। यस्ता कार्यक्रम गरिनुपर्छ ताकि यस्ता सन्देश हरेक मानिसमा पुगोस्। बेलैमा सचेत बन्न सके क्यान्सर रोक्न सकिने रहेछ।
स्वस्थ रहनका लागि साइक्लिङ निकै उपयोगी मानिन्छ। निरोगी बन्ने एउटा अस्त्र भनेको साइकल चढ्नु रहेछ भन्ने लाग्छ। कार्यक्रम एकदमै सान्दर्भिक र सन्देशमूलक लाग्यो।
सराहनीय काम
नवल खड्का, अभिनेता
वास्तवमा क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न जरुरी छ। यो एउटा आवश्यकता पनि हो। हामीले बेलैमा यस्ता चेतनामूलक कार्यक्रम गरेर क्यान्सरमुक्त मुलुक बनाउनुपर्छ।
क्यान्सरबाट कसरी बच्ने, कसरी स्वस्थ बन्ने, यसबाट बच्ने उपायहरू के के छन्, बेलैमा जान्न आवश्यक छ। हामी सबै मिलेर भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।
निश्चित रूपमा यसले मानिसलाई सन्देश दिन्छ र फाइदा पुर्याउँछ। अन्नपूर्ण पोस्ट्ले अग्रपंक्तिमा रहेर गरेको कार्यकम सराहनीय छ। सहभागी बन्न पाउँदा मलाई खुसी लागेको छ।