पत्रकार भण्डारीको पुस्तक 'नेपालमै सकिन्छ' सार्वजनिक
काठमाडौं (अन्नपूर्ण): टेलिभिजन पत्रकारितामा लामो अनुभव सँगालेका रोहित भण्डारीको दोस्रो पुस्तक 'नेपालमै सकिन्छ' सार्वजनिक भएको छ । पुस्तकमा सानै कामबाट सफलता प्राप्त गरेका व्यक्तित्वहरूको कथा समेटिएको छ। उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रवीन्द्र मि श्र, समाजसेवी उत्तम सञ्जेल तथा ‘सम्भव छ’ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तक हालै लोकार्पण गरेका हुन्।
लोकार्पणमा बोल्दै पत्रकार रवीन्द्र मि श्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरू समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेका लागि महत्वपूर्ण सामग्री भएको बताए।
सकारात्मक सोच, नयाँ विचार तथा उद्यमशीलतासम्बन्धी टिप्स समेटेर तयार गरिएको पुस्तकले जोकोहीमा आत्मविश्वास जगाउने भन्दै उद्यमी कर्ण शाक्य तथा समाजसेवी उत्तम सञ्जेलले सकारात्मक सोचका पुस्तकहरू बजारमा आउनु खुसीको कुरा भएको बताए।
कार्यक्रममा ‘सम्भव छ’ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने मानसिकता समाजमा रहेकाले सकारात्मक अभियानहरूको आवश्यकतामा जोड दिए।
यसअघि प्रेरणादायी पुस्तक 'सम्भव छ' लेखिसकेका भण्डारीको यो पुस्तकमा उद्यमशीलतासम्बन्धी टिप्स, डीभी÷पीआर छोडेर नेपाल फर्किएका तथा मास्टर्स डिग्री सकेर सानातिना व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय व्यक्तिहरूका सन्दर्भ समेटिएको छ। जयकाली प्रकाशनले पुस्तक बजारमा ल्याएको हो।