नेपाल आइडलको अडिशनमा नेत्रहीनदेखि शरणार्थीसम्म
विराटनगर: हेटौंडाका विराज राई आँखा देख्दैनन् तर गायकीको सोख भने राख्दछन्। गीत गाउने कार्यक्रम लिएर नेत्रहीन समूहसँगै उनी देशाटन गरिरहन्छन्। यो पटक उनको समूह सुनसरीको इटहरीमा थियो। रेडियोबाट सुने-विराटनगरमा नेपाल आइडलको अडिसन हुँदैछ। मन थामिएन।
सोमबार श्रीमती मधु राईसँगै बिहानै विराटनगरको डीएभी स्कुल परिसर पुगे। लक्ष्य थियो-नेपाल आइडलको अडिसनमा भाग लिने। मधुले हात समाएर डोहोर्या उँदै अडिसनस्थलसम्म लगेपछि विराजले धक फुकाएर निर्णायकसामु गीत गाए।
'आँखा नदेखे पनि मलाई गीत गाउने रहरले यहाँसम्म लिएर आयो', राईले भने, 'कार्यक्रम लिएर इटहरीसम्म आएका थियौं नेपाल आइडलको अडिसनबारे रेडियो सुनेपछि मनै थामिएन।'
नेपाल आइडलको अडिसनमा भाग लिन झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट केही युवा काँधमा गितार भिरेर विराटनगर आएका थिए। तिनैमध्येका एक थिए चेतबहादुर विश्व।
'सानैदेखि गीत गाउने अभिलाषा थियो। यो मेरो सोख नभएर दैनिकी पनि बनेको छ', उनले भने, 'यत्रो ठूलो अवसरलाई म गुमाउनै चाहन्नथेँ त्यही भएर बिहानैको गाडी चढेर विराटनगरसम्म आइयो।' उनले नव गायकगायिकाका लागि नेपाल आइडलको 'प्लेटफर्म' ठूलो अवसर भएको बताए।
सोमबार र मंगलबारसम्म चल्ने अडिसनमा सहभागी हुन पूर्वका अधिकांश ठाउँबाट युवायुवतीको विराटनगरमा भीड लागेको छ। अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलप्रति युवापुस्ताको निकै चासो देखिएको छ।
साथीभाइ बटुलेर सप्तरीबाट आएका सोनु दास कार्यक्रमस्थलमै रियाज गरिरहेका थिए। उनलाई अरू साथीभाइले पनि हौसला थपिरहेका थिए। दासले भने, 'आफ्नै ठाउँमा भएको यत्रो ठूलो कार्यक्रममा सहभागी हुन पाउनु एउटा अवसर हो।'
आफूले गीत सुनाउँदा निर्णायकले पनि सकारात्मक प्रतिक्रिया दिएको उनले बताए। विराटनगर-४ की एन्जिला आचार्यले गीत गाउनु आफ्नो 'प्यासन' भएकोले अडिसन दिन आएको बताइन्।
कार्यक्रमस्थलमा बिहानैदेखि युवायुवतीको निकै चहलपहल थियो। गीतसंगीत मन पराउने र व्यावसायिक रूपमा गायनमा लाग्न चाहने पूर्वाञ्चलका युवायुवतीका लागि विराटनगर अडिसन आयोजना गरिएको र राम्रो सहभागिता भएको नेपाल आइडल प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए। पौडेलका अनुसार विराटनगरपछि पोखरा र काठमाडौंमा अडिसन हुनेछ।