दाहालले निर्वाचन मितिबारे खुलाउन चाहेनन्
काठमाडौः स्थानीय तहको निर्वाचनमा विद्युतिय मेसिनको प्रयोगबारे दलहरुको धारणा बुझन निर्वाचन आयोगले मंगलवार गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मितिबारे केही खुलाउन चाहेनन । सत्तासीन दलका नेता र सञ्चारकर्मीले निर्वाचन कहिले हुन्छ भनी प्रधानमन्त्री दाहालसँग जिज्ञासा राख्दा पनि दाहालले मितिबारे बोल्न चाहेनन । निर्वाचनको तयारी गर्न भनिएपनि सरकारले मिति नतोक्दा आयोग समेत अन्योलमा छ ।
प्रधानमन्त्री दाहालले ‘चुनाव हुन्छ, दुविधा राख्नुहुन्न' भनी प्रश्नकर्तालाई कार्यक्रमममा जवाफ फर्काएका थिए । तर कुन मितिमा स्थानीय तहको निर्वाचन हुन्छ भनी दाहालले नबताएपछि कार्यक्रममा सहभागीहरु चुनाव हुनेमा आशंका व्यक्त गर्दै कार्यक्रमबाट बाहिरिएका थिए । ‘सबैलाई समेटेर समयमै चुनाव गर्छौ, प्रधानमन्त्री दाहालले भने,‘स्वच्छ, निष्पक्ष र धांधलीरहित चुनाव कसरी गर्ने भन्ने मुख्य कुरा हो ।' सत्तासीन नेकपा संयुक्तकी कल्याणी साह लगायतका प्रतिनिधिहरुले निर्वाचन कहिले हुन्छ भनी प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।
आयोगले बेलायती कम्पनी स्मार्टमेटिक कम्पनीद्धारा बनाइएको विद्युतिय मेसिनको प्रयोगबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा कम्पनीका तर्फबाट रोबोर्ट र लर्ड ब्राउनले मेसिनको उपयोगिता र विशेषताबारे जानकारी गराएका थिए । आयोगका सहसचिव नवराज ढकालले मतदाता नामावली संकलन,प्रशोधन लगायतका काम विद्युतिय उपकरणबाट हुने गरेको भन्दै आगामी निर्वाचनमा विद्युतिय मेसिनबाट मतदान गर्नु उपयुक्त हुने बताए ।
बेलायती कम्पनीको मेसिनले १ सय २० भन्दा बढी चुनाव चिन्ह देखाउन सक्ने,आफुले हालेको मत प्रिण्ट गरेर अर्को बाक्समा राख्न सकिने र उक्त मेसिनको प्रयोगका लागि ईन्टरनेट आवश्यक नपर्ने भएकाले नेपालका लागि धेरै नै उपयुक्त हुने ढकालले बताए । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई,ढुवानी, भोटिङ्ग र गणनामा धेरै नै झण्झट हुने भएकाले विद्युतिय मेसिनबाट मतदान गराउनुपर्ने आवश्यक्ता रहेको बताए । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुले मेसिनका विविध पक्षबारे जिज्ञासा राखेका थिए ।