नेपाल आइडलको अडिसन स्थलमा घुइँचो
विराटनगरः नेपाल आइडलको देशव्यापी अभियानअन्तर्गत विराटनगर अडिसनमा सबभन्दा धेरैले सहभागिता जनाएका छन् । स्थानीय डीएभी स्कुल परिसरमा सोमबार र मंगलबार चलेको अडिसनमा १५ सयभन्दा बढी सहभागीले आफ्नो गायनकला प्रस्तुत गरे ।
विराटनगर अडिसनमा सहभागी हुन पूर्वाञ्चलका प्रमुख सहरी क्षेत्रबाट गीतसंगीतमा रुचि राख्ने युवकयुवतीको घुइँचो लागेको थियो । ‘सहभागीमध्ये राम्रो गाउन सक्नेले काठमाडौंमा हुने अर्को चरणमा भाग लिने अवसर प्राप्त गर्नेछन्', प्रोजेक्ट हेड सुरेश पौडेलले भने, ‘नेपाल आइडलको यो पाचौं अडिसन हो । देशभर उत्साहजनक सहभागिता रहे पनि विराटनगरमा सहभागीको संख्या सबभन्दा बढी रह्यो ।' पौडेलले पूर्वाञ्चलका धेरै क्षमतावान् युवकयुवती नेपाल आइडलका लागि छनोट भएको पनि जानकारी दिए ।
कार्यक्रमस्थलमा मंगलबार बिहानैदेखि अडिसनस्थलमा सहभागीको घुइँचो लागेको थियो । पूर्वको धरान, इटहरी, दुहबी, दमक, बिर्तामोड, इलाम, फिदिम, राजविराज, सिराहा, गाईघाटलगायत विभिन्न स्थानबाट गायनकला प्रस्तुत गर्न युवकयुवती विराटनगर आएका थिए । विराटनगरपछि पोखरा र काठमाडौंमा अडिसन हुनेछ ।
नेपाल आइडल प्रोजेक्ट हेड पौडेलले यो प्रतियोगितालाई पूर्वका युवकयुवतीले क्षमता प्रदर्शनका लागि राम्रो अवसरका रूपमा बुझेको आफूले पाएको बताए । ‘विराटनगर अडिसनमा देखिएको सहभागिताबाट हामी उत्साहित बनेका छौं', उनले भने । अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान टेलिभिजनबाट प्रसारण हुने यो गायन रियालिटी सो युवापुस्तामा अहिले आकर्षणको विषय बनेको छ ।