१० निर्देशकको नजरमा १० उत्कृष्ट नायिका

१० निर्देशकको नजरमा १० उत्कृष्ट नायिका

चन्दसँगै बसुन्धरा भुसाल, चैत्यदेवीलगायत कलाकारले त्यो विद्रोहलाई साथ दिए । त्यसलाई निरन्तरता दिने थोरै संख्या नेपाली सिनेमामा नायिकाका रूपमा देखिए । घिमिरेलाई सम्झना छ, त्यतिबेलाको परिवेशमा नायिका खोज्न आँखा र कान सधै‌ खुला राख्नुपथ्र्यो । सोचेजस्तो मान्छे भेटिए पनि सिधै प्रस्ताव राख्न सकिँदैनथ्यो । सबै पृष्ठभूमि बुझेर मात्रै प्रस्ताव राखिन्थ्यो । त्यो पनि, सबैजसो अस्वीकृत हुन्थे । साँघुरो सामाजिक सोचका कारण सिनेमामा काम गर्नुलाई ‘बेइज्जती’ मानिन्थ्यो ।

राम्रो अभिनय क्षमता हुँदा–हुँदै पनि उपयुत्ता भूमिका नपाएर कमजोर देखिएको उदाहरण पनि छ। त्यसैले निर्देशकीय अब्बलताले पनि कलाकारको प्रभावशाली प्रस्तुतीमा प्रभाव पार्छ।उज्ज्वल घिमिरे,निर्देशक

यसरी खोज्दा पनि नपाइने समयबाट शुरु भएको नेपाली सिनेमाले आधा शताब्दीपछि रोजी–रोजी नायिका पाउन थालेको छ । यो समयमा सक्रिय प्रतिनिधि १० निर्देशकले आफ्ना रोजाइका नायिका र तिनको प्रवृत्तिबारे अन्नपूर्ण टुडेसँग कुरा गरेका छन् ।

सुन्दरताको फेरिँदो मापदण्ड
सिनेमा हेरिने विधा हो । त्यसैले सुन्दर देखिनु यसको पहिलो शर्त हो । त्यसैले नायिकाको छनोट गर्दा सुन्दरता प्राथमिकतामा पर्छ । तर, सुन्दरता भने सिनेमाको कथा र निर्देशकको सोचका आधारमा फरक पर्छ । सिनेमाका लागि नायिका छनोट गर्दा निर्देशक ऋषि लामिछानेको पहिलो नजर सुन्दर अनुहार र मिलेको शरीरमा जान्छ । दीपा बस्नेतको सोचमा पनि नायिका भन्नेबित्तिकै अग्ली, गोरी, बारुले कम्मर भएको, सन्तुलित शरीर भएकी युवती नै आउँछ । त्यसका लागि दुवै जना करिश्मा मानन्धरलाई ‘रोलमोडेल’ मान्छन् ।

कथाकार र निर्देशकले परिकल्पना गरेको चरित्रलाई विश्वसनीय रूपमा अभिव्यक्त गर्नसक्ने क्षमता हरेक नायिकामा हुनुपर्छ। ऋषि लामिछाने ,निर्देशक

दुवैको मतसँग दिनेश डीसी पनि सहमत छन् । उनी भन्छन्, ‘कथाअनुसार सुन्दरताको खोजी फरक हुन्छ । तर पनि, पहिलो आकर्षणचाहिँ आम मानिसलाई सुन्दर लाग्ने अनुहार र शरीरबाटै शुरु हुन्छ । त्यस्तो सुन्दरता अनुहार, घाँटीको उचित लम्बाइदेखि कम्मरको उपयुक्त आकारसम्मले निर्धारण गर्ने उज्ज्वल घिमिरे बताउँछन् । युवा उमेरमा देखिने शारीरिक आकर्षणले त्यसमा प्रमुख भूमिका खेल्छ नै ।

सुन्दरताको मानक भने एउटै हुँदैन । निर्देशक नारायण पुरी केकी अधिकारीलाई उदाहरण दिँदै भन्छन्, ‘उनी अग्ली छैनन् तर अभिव्यक्तिको सुन्दरता र आँखाको चञ्चलताले उनको अग्लाइ बिर्साइदिन्छ ।’ यसै मतमा सहमत हुँदै सम्झना रौनियार ‘फोटोजेनिक फेस एन्ड फिगर’को आवश्यकतामा जोड दिन्छिन् ।

कथाअनुसार सुन्दरताको खोजी फरक हुन्छ। तर पनि, पहिलो आकर्षणचाहिँ आम मानिसलाई सुन्दर लाग्ने अनुहार र शरीरबाटै सुरु हुन्छ।दिनेश डीसी, निर्देशक

निश्चल बस्नेतको मत भने फरक छ । उनी सुन्दरतालाई कामसँग जोड्नुपर्ने बताउँछन् । भन्छन्, ‘हरेक मानिसमा आफ्नै विशिष्ट गुण र क्षमता हुन्छ । सिनेमामा अभिनयबाट नै सुन्दरता पहिचान हुन्छ ।’ बस्नेतकै विचारसँग सहमत भएर सिनेमाको कथाअनुसार सुन्दरताको परिभाषा फरक पर्ने बताउँछन् सुवर्ण थापा । उनकै तर्कमा बल दिँदै हेमराज बीसी भन्छन्, ‘कसैको अभिनय एकदमै राम्रो होला तर ‘लुक्स’ सुहाउँदो छैन भने लिन सकिँदैन । त्यसैले जुन चरित्रमा उत्रिने हो, त्यसमा सुहाउँदो हुनुपर्छ ।’

अब्बल बन्दै अभिनय
अभिव्यक्ति कला भएकै कारण सिनेमाका लागि अभिनय प्राथमिक शर्त हो । नायिकाको क्षमता मापन पनि अभिनयबाटै हुन्छ । कथाकार र निर्देशकले परिकल्पना गरेको चरित्रलाई विश्वसनीय रूपमा अभिव्यक्त गर्नसक्ने क्षमता हरेक नायिकामा हुनुपर्ने लामिछाने बताउँछन् । त्यसका लागि वास्तविक वा काल्पनिक पात्रलाई आफूमा सवार गराउन सक्ने क्षमता हुनुपर्ने डीसीको ठम्याइ छ । यस्तै, सिनेमाको प्रकृतिअनुसार नृत्य र द्वन्द्वमा पनि पोख्त हुनुपर्नेमा उनको जोड छ ।


आफ्नो काममा दत्ताचित्ता भएको पुस्ताले सिनेमाको सफलता होइन, आफूले चरित्रमा गरेको न्यायलाई ध्यान दिने गरेको छ।
दीपा बस्नेत,निर्देशक

पछिल्लो समय नायिकाको पुरानो परिभाषामाथि बहस शुरु भइसकेको छ । त्यसैले कुनै पनि चरित्रलाई न्याय गर्ने क्षमता भएका नायिका समयको माग बन्दै गएका छन् । सिनेमामा सक्रिय नयाँ पुस्ताका नायिका तयार पारेका छन् पुरीले । अहिलेका समयका नायिका पात्रको चरित्रमा डुब्न आफैँ ‘फिल्ड’मा जान्छन् । चरित्र भेट्छन्, संगत गर्छन् । वाच्य र शारीरिक भाषा अध्ययन गर्छन् । त्यसो गर्दा अभिनयमा प्राकृतिकपन आउँछ । दर्शकमा विश्वास पैदा हुन्छ । पुरी भन्छन्, ‘पहिला नायिकाको जोड सुकिला कपडामा हुन्थ्यो, अभिनय निकाल्ने काम निर्देशकको हो भन्ने ठानिन्थ्यो ।

नयाँ पुस्ताले त्यो अवधारणा परिवर्तन गरिरहेको छ ।’ यसले निर्देशकलाई थप सिर्जनात्मक सोचका साथ काम गर्ने वातावरण पनि बन्न थालेको उनको ठम्याइ छ । दीपेन्द्र के खनालले आफ्नो पुस्तासँग काम गर्दाको अनुभव पनि त्यही हो । जस्तोसुकै ‘अफ’ चरित्रमा पनि काम गर्छु भन्ने समर्पण अहिलेको पुस्ताका नायिकामा देखिएको उनी बताउँछन् । भन्छन्, ‘अहिले आफू पर्दामा सुन्दर देखिऊँ भन्ने भन्दा पनि आफ्नो काम सुन्दर देखियोस् भन्नेमा ध्यान जान थालेको छ ।’ अभिनय क्षमतामा देखिएको समर्पण र अब्बलताकै कारण नायिकाको परिभाषा नै फेरिँदै गएको तर्फ इंगित गर्दै निश्चल बस्नेत तर्क गर्छन्, ‘आफूले पाएको भूमिकामा न्याय गर्न चुनौती स्वीकार गर्ने पुस्ता तयार भएको छ ।’

समय ख्याल गर्ने, कामलाई संवेदनशील रूपमा लिने, सरल ढंगले काम गर्ने, कामको पूर्णताका लागि दुःख खेप्न तयार हुने स्वभावका नायिका नजरमा पर्छन्। दीपेन्द्र के खनाल,निर्देशक

थापाको मूल्यांकन पनि फरक छैन । भन्छन्, ‘अहिलेका पुस्ताका कतिपय नायिकाले निर्देशकले सोचेभन्दा पनि राम्रो गरी आफूलाई पात्रमा ढाल्न सक्छन् । त्यस्तै छिनभरमै फरक–फरक चरित्र निर्वाह गर्न सक्ने नायिका पनि छन् ।’ त्यसरी अभिनय गर्नसक्ने नायिकालाई डीसी ‘लङ रेन्ज’ जान सक्ने मान्छन् । भन्छन्, ‘सामान्यतः नायिकाको आयु छोटो हुन्छ । यहाँ मात्रै होइन, संसारभर नै । तर, हाम्रोमा गौरी मल्ल र करिश्मा मानन्धर लङ रेन्ज आउनुभयो । नयाँ पुस्ताका नायिकामा पनि केही त्यस्तै सम्भावना भएका छन् ।’

मेनुका प्रधानको अब्बल ‘भर्सटायल’ अभिनयको उदाहरण दिन्छन् उनी । आफ्नो काममा दत्तचित्त भएको पुस्ताले सिनेमाको सफलता होइन, आफूले चरित्रमा गरेको न्यायलाई ध्यान दिने गरेको बस्नेत बताउँछिन् । केकी अधिकारीको उदाहरण दिँदै उनी भन्छिन्, ‘उनलाई कुनै सिनेमा हिट हुनु वा नहुनुले फरक पारेकै छैन । हिट नहुँदा पनि निर्देशकहरूले उनलाई लिन छाडेका छैनन् ।’ त्यसो त, नेपाली सिनेमामा एकै पटक प्रभावशाली अभिनय गर्ने नायिका नआएको मूल्यांकन छ उज्ज्वल घिमिरेको । केही सिनेमा खेलेपछि मात्र विस्तारै प्रभाव देखिने गरेको उनको भनाइ छ ।

पहिले नायिकाको जोड सुकिला कपडामा हुन्थ्यो, अभिनय निकाल्ने काम निर्देशकको भएको ठानिन्थ्यो। नयाँ पुस्ताले अवधारणा परिवर्तन गर्दैछ। नारायण पुरी ,निर्देशक

त्यसमा सिनेमाको कथा र निर्देशकको क्षमताको हात रहने खनालको मत छ । ‘राम्रो अभिनय क्षमता हुँदाहुँदै पनि उपयुक्त भूमिका नपाएर कमजोर देखिएको उदाहरण पनि छ । त्यसैले निर्देशकीय अब्बलताले पनि कलाकारको प्रभावशाली प्रस्तुतीमा प्रभाव पार्छ,’ उनी भन्छन् । पछिल्लो पुस्तामा जस्तोसुकै मिहिनेत गरेर पनि आफ्नो कामलाई अब्बल प्रमाणित गर्ने सोच रहेको उनले अनुभूति गरेका छन् ।

व्यवहारमा व्यावसायिकता
सोच र व्यवहार मिलेर सम्बन्ध बन्छ । सिनेमा सामूहिक कार्य भएकाले सम्बन्धको निकै महत्व हुन्छ । त्यसैले नायिकाबाट पनि स्वभावतः राम्रो व्यवहारको अपेक्षा सिनेमामा गरिन्छ । बस्नेत भन्छन्, ‘सिनेमा भनेको टिमवर्क हो । एउटाको व्यवहारले पूरै प्रोजेक्टमा प्रभाव परिरहेको हुन्छ । त्यसैले उचित व्यवहारको अपेक्षा गरिन्छ नै ।’

फोटोजेनिक फेस एन्ड फिगर’को निकै महत्तव हुन्छ। त्यसभन्दा महत्तवपूर्ण अभिव्यक्ति क्षमता हो।
सम्झना उप्रेती रौनियार ,निर्देशक

कलाकारले कामलाई कसरी लिन्छ र कस्तो व्यवहार गर्छ भन्ने कुराले नै यस क्षेत्रमा उसको भविष्य निर्धारण हुने खनाल बताउँछन् । समयलाई ध्यानमा राख्ने, हरेक कामलाई संवेदनशील रूपमा लिने, सरल ढंगले काम गर्ने, कामको पूर्णताका लागि दुःख खेप्न पनि तयार हुने स्वभाव भएकालाई नै सबैले मन पराउने उनको बुझाइ छ ।

रौनियार पनि आफूभन्दा वरिष्ठलाई सम्मान र काम गर्ने वातावरण सहज बनाउने व्यवहार भएका नायिका नै निर्देशकको छनोटमा पर्ने बताउँछिन् । लामिछाने सिनेमालाई पारिवारिक वातावरणमा गरिने काम ठान्छन् । त्यसैले परिवारको सदस्यजस्तै जिम्मेवारी ग्रहण गर्ने र ‘सेयरिङ’ गर्ने नायिकालाई सबैले मन पराउने उनको मूल्यांकन छ ।

घिमिरे त मिडियासँग गर्ने व्यवहारबाट पनि नायिकालाई मूल्यांकन गरिने बताउँछन् । ‘बोलीचाली, समय, कामप्रति समर्पणका साथै निर्देशकलाई दिने क्रेडिटले पनि नायिकालाई मूल्यांकन गरिन्छ,’ उनी भन्छन् । तर, व्यावसायिक विकाससँगै व्यवहारमा पनि व्यावसायिकता प्रवेश भइरहेको अनुभव पनि छ निर्देशकहरूको । ‘व्यावसायिक सम्बन्ध हुँदा एकले अर्कालाई दुःख दिने व्यवहार गर्ने होइन कि सकेसम्म छिटो र राम्ररी काम गर्नेतिर ध्यान दिन थालेको देखेको छु,’ बीसी भन्छन्, ‘त्यसैले काममा व्यक्तिको व्यवहारले त्यति फरक पर्दैन । अहिले विकल्प धेरै भएकाले पनि व्यावसायिक व्यवहार हुन थालेको छ ।’

 अहिलेका कतिपय नायिका निर्देशकले सोचेभन्दा पनि राम्रो गरी आफूलाई पात्रमा ढाल्न सक्छन्। यस्तै, छिनभरमै फरक–फरक चरित्र निर्वाह गर्नसक्ने नायिका पनि छन्। सुवर्ण थापा,निर्देशक

कलाकारको व्यवहारबारे सामन्यतया थाहा हुने भएकाले पनि त्यस्ता कलाकार विस्तारै बेवास्तामा पर्ने उनको बुझाइ छ । पुरी पनि उनीसँग सहमत छन् । भन्छन्, ‘अहिलेका हिरोइनसँग घमण्ड देखिँदैन । सिनेमा तयार भइसकेपछि प्रोमोसन, स्पेसल स्क्रिनिङमा पनि सहभागी भएर निर्माणलाई सघाउन तत्पर हुन्छन् । यसले व्यावसायिक व्यवहार हुन थालेको अनुभव हुन्छ ।’

वृद्धि हुँदै पारिश्रमिक
नेपाली सिनेमामा ०६० को दशकसम्म नायिकाले पारिश्रमिकमा आफूलाई बलियो बनाउन सकेनन् । ०५० र ०६० को दशकको झण्डै १५ वर्षको अवधि सम्झँदै घिमिरे भन्छन्, ‘त्यतिखेर नायिकाहरूले घटाघटमा काम गरे । कसरी सबैभन्दा बढी सिनेमामा काम गर्ने भन्ने होड भयो । त्यसले नायिकाको पारिश्रमिकको अवस्था कमजोर नै रह्यो ।’ त्यतिबेला उनले नायिकाहरूलाई धेरैको चक्करमा लाग्नुभन्दा पनि थोरै तर उपयुक्त पारिश्रमिक लिएर अभिनय गर्न सुझाए । तर, कसैले पनि मानेनन् ।

अहिले नेपाली सिनेमाका नायिकाको पारिश्रमिकमा उल्लेख्य वृद्घि भएको छ। पाँच वर्षअघिको तुलनामा अहिले धेरै राम्रो पारिश्रमिक पाउन थालेका छन्।हेमराज बीसी ,निर्देशक

त्यसको प्रभाव अहिलेसम्म पनि परिरहेको छ । तुलनात्मक रूपमा नायिकाहरूको पारिश्रमिक कम छ । तर, पछिल्लो समय नायिकाहरूले पनि पारिश्रमिकमा अडान राखेर काम गर्न थालेकामा उनी खुशी छन् । नायिकाले पाँच लाखसम्म पारिश्रमिक बुझेको उनलाई थाहा छ । तथापि, मिडियामा हल्ला आएझैँ पारिश्रमिक नायिकाले पाउन नसकेको डीसी दाबी गर्छन् । भन्छन्, ‘पारिश्रमिक व्यक्तिगत कुरा भएकाले यसले यति नै लिन्छ भनेर भन्न त मिल्दैन । ७५ हजारदेखि साढे चार लाखसम्म लिएको थाहा पाएको छु ।’ सिनेमामा काम गर्ने नायिका मात्र नभई कुनै पनि कलाकारले ब्यानर र निर्देशक हेरेर पैसा लिने गरेको उनी बताउँछन् ।

बीसीको अध्ययनमा अहिले नेपाली सिनेमाका नायिकाको पारिश्रमिकमा उल्लेख्य वृद्धि भएको छ । ‘पाँच वर्ष अघिकै तुलनामा पनि अहिले धेरै राम्रो पारिश्रमिक पाउन थालेका छन्,’ उनी भन्छन् । निश्चल पनि उनीसँग सहमत छन् । सिनेमाको बजेटका आधारमा पनि पारिश्रमिक तय हुने भएकाले त्यसको निश्चित दर भने नहुने उनी बताउ“छन् । तर, थापालाई भने नायिकाको पारिश्रमिक कम भएको आभास भइरहन्छ । भन्छन्, ‘नायिकाहरूले पारिश्रमिकको तुलनामा धेरै श्रम दिएको पाएको छु ।

मैले गरेका सिनेमाका हकमा पनि त्यस्तो भएको छ ।’ त्यसैले अहिले खुलेर आफ्नो पारिश्रमिकबारे कुरा गर्न थालिएकामा उनी खुशी छन् । पुरी पनि उनको खुुशीमा सामेल छन् । पहिले गलत प्रतिस्पर्धाका कारण राम्रो पारिश्रमिक पाउने वातावरण बनेन । अहिले राम्रो काम गर्ने नायिकाहरूले अडान लिएर पारिश्रमिक माग्दा सिनेमा क्षेत्रकै व्यावसायिक मूल्य बढेको छ ।

बढ्दो बौद्धिकता
नायिकाहरू ‘पब्लिक फिगर’ हुन् । त्यसैले उनीहरूको सार्वजनिक व्यवहार, अन्तक्र्रिया र सहभागिताले धेरैलाई प्रभावित पार्छ । यस्तो व्यवहार उनीहरूको बौद्धिकताले निर्धारण गर्छ । तर, बौद्धिकताको दायरा निकै फराकिलो छ, त्यसैले केलाई बौद्धिकता मान्ने भन्ने प्रश्न छँदैछ । तथापि, कम्तीमा सामाजिक, सांस्कृतिक र राजनीतिक चेत हुनु अपरिहार्य मानिन्छ । लामिछाने भन्छन्, ‘मानिसको आवश्यकताको सातौं खुड्किलोमा मनोरञ्जन पर्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीपछि यसको पालो आउँछ ।

त्यसैले अघिल्लो विषयलाई प्रभावित पार्ने विषयमा कलाकारले पनि जानकारी राख्नुपर्छ ।’ तर, त्यस्तो सुझबुझ नेपाली नायिकामा कमजोर देखिएको उनको गुनासो छ । यस्तै गुनासो घिमिरेको पनि छ । उनको नजरमा समसामयिक राजनीति र समाज बुझ्नुको साथै मान्छेको विचारलाई सम्मान गर्नु र आफ्नो आदर्श बोकेर हिँड्नु बौद्धिकता हो । त्यस्तो अवस्था नेपाली नायिकाको बौद्धिकस्तरमा त्यस्तो तह देखा परिनसकेको उनी बताउँछन् ।

तर, नयाँ पुस्ताका खनालले पछिल्लो समयका नायिकामा त्यस्तो सुझबुझ देखेका छन् । त्यसमा औपचारिक अध्ययनले धेरै भूमिका खेलेको उनको बुझाइ छ । भन्छन्, ‘औपचारिक अध्ययनसँगै समसामयिक विषयप्रति रुचि र अद्यावधिक हुने बानी विकास भएको छ ।’ नायिकाको बौद्धिकताले सिनेमामा काम गर्दा पनि असर पर्ने डीसीको भोगाइ छ ।

उनी भन्छन्, ‘अन्य कुरामा बौद्धिकताको खासै महत्व नदेखिए पनि कथा बुझाइ र संवाद प्रवाहमा कलाकारको बौद्धिक क्षमताको प्रभाव पर्छ ।’ पुरी त बौद्धिकता नभई कलाकार हुनै नसक्ने बताउँछन् । उनी चरित्रको गहिराइमा पुगेर अभिनयमा उतार्नुलाई नै बौद्धिकता मान्छन् । भन्छन्, ‘चरित्रको भाषादेखि उसको मनोविज्ञानसम्म बुझ्न राम्री केटीले मात्रै त सम्भव हुँदैन ।’ पछिल्लो पुस्ताका नायिकामा अन्तर्राष्ट्रिय बजारमा चलेका सिनेमा हेर्ने, समीक्षा पढ्ने, साहित्य पढ्नुका साथै कलाका विभिन्न माध्यमलाई आत्मसात गर्ने ‘ट्रेन्ड’ बन्दै गएको उनको मूल्यांकन छ ।

पछिल्लो समयमा औपचारिक अध्ययन राम्रो भएका नायिका बढ्दै गएकाले अंग्रेजीमा पकड बढेको र त्यसले सिनेमाको अन्तर्राष्ट्रिय ‘एक्सपोजर’मा समेत सघाउ पुगेको उनी बताउ“छन् । यसै सन्दर्भमा घिमिरे अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिन सक्ने कलाकारसमेत नभएको समयको स्मरण गर्छन् । तर, समाज बुझ्ने चाहना गहिरो देखिएकाले सामाजिक कार्य र मुद्दाको बहसमा समेत नायिकाहरू सक्रिय देखिएको बस्नेत बताउँछन् ।

 १० निर्देशकको नजरमा १० उत्कृष्ट नायिका

केकी अधिकारी
* ‘लुक्स’मा नेपालीपन
* प्रभावशाली अभिनय
* फोटोजेनिक
* अध्ययनशील र सिर्जनशील
* सरल र बौद्धिक

kekiadhikari

नम्रता श्रेष्ठ
* ‘कम्प्लिट हिरोइन प्याकेज’
* काममा समर्पित
* चरित्रमा डुब्न मिहिनेत गर्ने

namrata

* प्रियंका कार्की
* ब्ल्याक ब्युटी
* राम्रो नृत्य
* सरल र सहज

priyanka1

साम्राज्ञी शाह
* प्रभावशाली सुन्दरता
* युवा–मनोहरी अभिनय
* सभ्य व्यवहार

Samragyee1

ऋचा शर्मा
* ‘अफ’ चरित्रमा जम्न सक्ने
* बौद्धिक
* अध्ययनशील

richasharma_1

शिल्पा पोखरेल
* आकर्षक
* सिक्न उत्सुक
* सरल व्यवहार

sheelpa1

रेखा थापा
* अभिनयमा विविधता
* काममा प्रतिबद्घ
* स्वाभाविक सुन्दरता

rekha1

नीता ढुंगाना
* प्राकृतिक अभिनय
* सुन्दरी
* फोटोजेनिक

NeetaDhungana

दीया मास्के
* अभिनयमा अब्बल
* बौद्धिक
* उत्कृष्ट नृत्य

deeyamaskey

१०

मेनुका प्रधान
* ‘भर्सटायल’ भूमिका रोज्ने
* चरित्रलाई न्याय गर्ने
* मिलनसार

menukapradhan

पाँ‌च अाधारमा १० उत्कृष्ट

02

0

01

अन्नपूर्ण टुडेका थप सामग्री पढ्नुहोस् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.