तेरियासँग झुम्मिए फ्यान
बुटवलः भारतीय टेलिभिजन कलर्सले प्रसारण गरेको रियालिटी शो ‘झकल दिखलाजा' को ताज भिरेर गृह जिल्ला आएकी तेरिया फौजामगरलाई नौलो अनुभूति भएको छ । उनका वरिपरि मानिसको बाक्लो जमघट छ । उनका गुरु, दाजु, दिदीहरूसमेत फ्यान बनेर उनी नजिक झुम्मिएका छन् । ‘मैले यसअघि पनि शो जितेको थिएँ, तर अहिले जस्तो अनुभूति भएको थिएन', उनले भनिन्, ‘म अत्यन्तै उत्सुक भएकी छु ।'
नेपाल ओर्लिनासाथ भव्य स्वागत पाएकी तेरियालाई रूपन्देही झरेपछि धेरैको साथ मिलेको छ । रूपन्देही रुद्रपुर गाविसमा रहेको तेरियाको घरमा दैनिकजसो मानिसको मेला लाग्ने गरेको छ । केराको बोट राखेर बनाइएको भव्य गेट हँुदै उनी घर भित्रिएकी थिइन् । ‘यस्तो बिहेमा मात्रै देखेको थिएँ, अहिले मेरो लागि नै बनाइएको रहेछ, कस्तोकस्तो लाग्यो', उनले भनिन् ।
बुधबार तेरिया अर्घाखाँचीको सुपादेउराली पुगेकी थिइन् । उनी हजुरबुवा, हजुरआमा स-परिवार सुपादेउराली मन्दिरमा भाकल चढाउन पुगेकी हुन् । तेरियाले प्रतिस्पर्धा गरिरहेका बेला हजुरआमा चुनादेवी फौजामगरले बोका भाकल गरेकी थिइन् । ‘नातिनीले जितोस् भनेर भाकल गरेका हौं', हजुरबुवा कृष्णबहादुरले भने, ‘त्यो पूरा भयो, अनि भाकल चढायौं ।'
सुपादेउरालीमा पनि उनलाई फ्यानहरूले निरन्तर घेरिरहे । ‘जता गयो, उतै भीड जस्तै बन्छ', सुपादेउरालीबाट टेलिफोनमा उनले भनिन् ।
देशकै नाम चिनाएको भन्दै उनलाई बुटवलमा पनि भव्य स्वागत गरियो । उनले सुरुका दिनमा नृत्य कक्षा लिएको बागेश्वरी संगीतालयले सम्मान गरेको हो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी युवराज सुवेदी, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापालगायले उनको प्रशंसा गरे । रूपन्देहीमा जन्मिभर देशकै नाम चिनाएकोमा प्रशंसा गर्दै उनीहरूले तेरिया देशकै गौरव भएको बताए ।
तेरियाले आफू देशको लागि हरेक नृत्य प्रतिस्पर्धामा कडा मेहनतका साथ लागि रहने बताइन् । ‘म मेरो परिवार र देशको नाम उज्यालो पार्न सधैं नृत्यमा हुन्छु', उनले भनिन् । एक महिनापछि परीक्षा भएकाले धेरै दिन नेपालमा बस्न नपाएकोमा उनले दुःख व्यक्त गरिन् ।
रुद्रपुरमा जन्मिएकी तेरियाले यसअघि भारतीय टेलिभिजनको रियालिटी शो डीआईडी जितेकी थिइन । केही दिन अघिमात्रै तेरियाले ‘झलक दिखलजा'को ताज पहिरिएकी हुन् । उपाधिसँगै उनले ३० लाख भारतीय रुपैयाँसहित गाडी पाएकी छन् । तेरिया अहिले बुवा आमासहित भारतको मुम्बईमा बसेर पढ्दै छन् ।