विष्णु वामनमूर्तिका संरक्षक सत्यमोहन

विष्णु वामनमूर्तिका संरक्षक सत्यमोहन

सत्यमोहन जोशीको नाम नसुन्ने र उनको कामबारे थाहा नपाउने नेपाली कमै होलान् । जोशीलाई साहित्य र संस्कृतिका धरोहर मानिन्छ । काठमाडौं उपत्यकाभित्रको इतिहास, संस्कृतिले मात्रै महत्वव पाउने समयमा यिनले पश्चिम नेपालमा पुगेर कर्णालीको संस्कृतिको विविध पक्षबारे अनुसन्धान गरे । स्थलगत अध्ययन, मनन र प्रकाशन गरेर नेपालको पुरातत्ववको क्षेत्रमा गुन लगाए ।

हाम्रो लोकसंस्कृति, नेपाली राष्ट्रिय मुद्रा र कर्णाली संस्कृति नामक पुस्तकले स्वदेश/विदेशमा कीर्तिमान फैलायो । विसं २०१३, २०१७ र २०३८ (संयुक्त रूपमा) मा तीनपल्ट मदन पुरस्कार प्राप्त गरेर यिनले नेपाली साहित्यको इतिहासमा नयाँ कीर्तिमान नै कायम गरे । विसं २०१० जेठ १६ गते न्युजिल्यान्डमा औपचारिक रूपमा पुग्ने जोशी पहिलो नेपाली थिए ।

१९७७ वैशाख ३० गते मंगलबजारनजिकै बखुंवहालमा जन्मिएका सत्यमोहन जोशी ९५ वर्ष पूरा गर्दा वरिष्ठ संस्कृतिविद्को नामले परिचित छन् । शंकरदास जोशी र राजकुमारी जोशीका सन्तान सत्यमोहनले गुरु विद्यानन्द राजोपाध्यायको घरमा सात वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । १० वर्षको भएपछि मात्रै यिनले नेपाली भाषा बोल्न र लेख्न थालेका थिए । १९ वर्ष पुगेपछि यिनको विवाह १४ वर्षकी राधादेवीसँग भएको थियो । यिनका चार छोरा र चार छोरीमध्ये दुई जना छोरा, छोरी बितिसके । उपत्यकालाई ९० साल र २०७२ सालमा भुइँचालोले नराम्ररी हल्लायो, तहसनहस पार्‍यो । काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरू हल्लिए, चर्किए र ढले । यी दुवै भुइँचालोको नमीठो र डरलाग्दो अनुभूति छ सत्यमोहन जोशीसँग ।

अधिकांश मूर्त र अमूर्त सम्पदा लोप हुनसक्ने सम्भावनाले उनी दुःखी छन् । पुरातत्वव र संस्कृति विभागमा विसं २०१६-२०१७ मा निर्देशक भएर यिनले काम गरे । त्यस बेला पुरातात्विवक महत्ववका वस्तुहरूको खोज संरक्षण, प्रदर्शन, प्रचारप्रसार गर्न यिनी खटिएका थिए । जोशीकै पहलमा भक्तपुर दरबार क्षेत्रमा राष्ट्रिय संग्रहालय आर्ट ग्यालरीको प्रदर्शन कक्ष, सो केसहरू निर्माण गरिए । वीर पुस्तकालयमा बाकसभित्र थन्किएर बसेका थांका पेन्टिङ, हस्तलिखित ग्रन्थ र विविध विषयका तस्बिर ल्याएर, व्यवस्थित गरेर प्रदर्शन गर्ने काम सफलतापूर्वक उनले गरे । आज भक्तपुरको राष्ट्रिय कला संग्रहालय नेपालमा सबैभन्दा बढी अवलोकन गर्ने थलो बनेको छ ।

उपत्यकालाई ९० साल र २०७२ सालमा भुइँचालोले नराम्ररी हल्लायो, तहसनहस पार्‍यो । काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरू हल्लिए, चर्किए र ढले । यी दुवै भुइँचालोको नमीठो र डरलाग्दो अनुभूति छ सत्यमोहन जोशीसँग ।

जोशीलाई नाट्यघरको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो । नेपाली र नेपाल भाषा (नेवारी) मा लेखिएका नाटक मञ्चन गर्ने स्थायी थलो जोगाउनमा उनी लागेका थिए । एक लाख ३७ हजारमा किनेको जमलको जग्गामा नाचघर बन्यो । काठमाडौं उपत्यकाका दरबार र मन्दिर क्षेत्रका डबलीहरूमा प्रदर्शन गरिने नाटकले रंगमञ्च पाए । नेपाली नाटकले बन्द सभामा बसेर हेर्ने दर्शक पायो ।

सत्यमोहन जोशीले नेपाली मूर्तिकलाको संरक्षणमा पनि ठूलो गुन लगाएका छन् । नेपालका हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था समेटिएको प्राचीन मूर्तिहरूको संरक्षण गर्न गरेको आँट सम्झँदा जोशी प्रफुल्ल हुन्छन् । मूर्तिहरू संरक्षित भएर पर्यटकले अवलोकन गर्न पाएकोमा सन्तोष व्यक्त गर्छन् । फ्रान्सको लुव्र संग्रहालयमा प्रदर्शित मोनालिसाको चित्र हेर्न लाखौं पर्यटकको ओइरो लागेजस्तै प्रचारप्रसार गरेमा नेपालका संग्रहालयमा पनि मानिसको घुइँचो लाग्नसक्ने उनको विश्वास छ ।

राजा मानदेवद्वारा लाजिम्पाटमा स्थापना गरिएको वामनको पुस्तक र मूर्ति संरक्षण गर्न आफूले संग्रहालय पुर्‍याएको आँटिलो कामको मीठो स्मरण सुनाउँदा उनी आज पनि प्रफुल्ल हुन्छन् । मूर्तिकला अध्ययन अनुसन्धानका लागि यो मूर्ति कोशेढुंगा नै साबित भएको छ । यो महत्ववपूर्ण मूर्तिको संरक्षण गर्न व्यावहारिक कठिनाइ थियो । दैनिक पूजा गरिने धार्मिक अस्था बोकेको मूर्तिलाई ठूलो आँटले सत्यमोहन जोशीले संग्रहालयमा पुर्‍याए । स्थानीय बासिन्दाको विरोधमा उनको ज्यान नै खतरामा पनि थियो, उनले फकाएर काम गरे ।

लाजिम्पाट धोबीचौरको थुम्कामा मानदेवकै समयमा स्थापित दुईवटा शिवलिंग र विष्णुवामनको स्वरूप मूर्तिफलक प्राप्त भएबाट त्यस क्षेत्रको महत्वव उजागर हुन्छ । लिच्छविकालका महत्ववपूर्ण सम्पदा भएको थुम्कोमा वैज्ञानिक ढंगले उत्खनन गर्न सकेमा धेरै तथ्य सामग्री पत्ता लगाउन सकिन्छ । नरवर्माले संवत् ३८८ मा स्थापना गरेका शिवलिंग र मानदेवकी रानी क्षेमसुन्दरीले संवत् ३९० मा स्थापना गरेका शिवलिंग आज पनि यथास्थानमै छन् । मानदेवले स्थापना गरेका संवत् ३८९ (४६७) को वामन मूर्ति भने जोशीको पहलमा राष्ट्रिय संग्रहालय छाउनीमा प्रदर्शन गरिएको छ ।

मानदेवले पशुपति तिलगंगा र लाजिम्पाट धोबीचौर थुम्कोमा एकै दिन एउटै बेहोराका अभिलेख र मितिसहितको वामन विष्णुको मूर्ति स्थापना गराएका थिए । “संवत् ३८९ वैशाख शुक्ल द्वितीया । असल सफा बुद्धि भएका, सत्पात्रमा पानीसरह दान वर्षा गर्ने राजा । श्रीमानदेवले हित गर्ने मन भएकी (आफ्नी) मुमा राज्यवतीको सधैं पुण्यको बढिबढाउ होस् भन्ना निमित्त राम्रो असल मन्दिर बनाउन लगाई देवता र ऋषिहरूले पुजिएका, सारा संसारका एउटै मालिक त्रिविक्रम (वामन) मूर्ति राम्ररी यहाँ स्थापना गर्नुभयो”, धनवज्र वज्राचार्यको यस अनुवादबाट इतिहासका धेरै कुरा प्रस्ट हुन्छ ।

नेपालमा धार्मिकबाहेक अन्य कलाकृतिको प्रचलन र बाहुल्यता छैन । नेपाली कलाको सम्बन्ध, विषयवस्तु, स्रोत सबै नै धार्मिक ग्रन्थ हो । मल्लकाल र शाहकालका मूर्तिहरूको अध्ययन गर्दा देखिने एउटा प्रमुख विशेषता भनेको धार्मिक ग्रन्थमा वर्णित घटनालाई प्रस्तर, माटो, काठ र धातुमा सजीव ढंगले उतार्नु हो । यस मूर्तिमा श्रीमदभागवत पुराणको विष्णु वामन अवतारका उद्देश्यलाई सजीव ढंगले कुँदिएको छ । मूर्तिफलकमा विष्णुको मूर्तिमात्रै नबनाएर वामन अवतारका सम्पूर्ण कथावस्तु नै दर्शाइएको छ । ईश्वरको अवतारको आवश्यकता र मन्त्रको पुकारअनुसार अवतरित भएका विष्णु दैत्यराज वलि उनकी पत्नी विन्ध्या वलि सबको सजीव प्रस्तुति यस मूर्तिमा छ ।

विष्णुधर्मोत्तर, मत्स्यपुराण, ब्रह्मपुराण, भागवत र महाभारतमा वामन विष्णुको मूर्ति बनाउने विधान तोकिएको छ । दण्ड, पाश, शंख, चक्र, गदा, पदम धारण गरेको त्रिविक्रमको मूर्ति बनाउने नियमको उल्लेख छ । नेपालको लाजिम्पाटमा स्थापना गरिएको त्रिविक्रम वामन विष्णुको मूर्तिमा विविध आयुध लिएको आठवटा हात प्रस्ट देखिन्छ । वामनले आफ्नो शरीर विशाल बनाएपछि उनको पाउ आकाश र पाताल दुवैतिर पुगेको चित्रण यस मूर्तिमा सुन्दर ढंगले गरिएको छ । मूर्तिफलकको दायाँतर्फ कमलको फूलमा उभिएकी लक्ष्मीदेवी र घँडा खुम्च्याएर नमस्कार गर्दै पखेँटा फिजाएर उड्न लागेको गरुडको प्रस्तुति पनि बेजोडको छ ।

लिच्छविकालमा विष्णुका विभिन्न स्वरूपका मूर्तिहरू, विश्वरूप, शयन, चतव्र्यह, चतुरविंश श्रीधर, गरुडासन आदि बने । तीमध्ये अवतार स्वरूपका मूर्तिहरू बढी बनेका हुन्छन् । सनातन धर्मावलम्बीहरूको विश्वास र शास्त्रमा वर्णन भएअनुसार मानव र देवता दुवैको भलाइका लागि देवताहरूले विविध रूप धारण गर्न सक्छन् । देवीदेवताका भिन्न स्वरूपमध्ये विष्णुका १० अवतारको विशेष महत्वव छ । माछो, कछुवा, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की । गीताको चौथो अध्यायको सातौं र आठौं श्लोकमा भगवान्को अवतारवादको आवश्यकता प्रस्ट परिएको छ । ‘यदा यदा हि धर्मस्य...’ जुनजुन बेला धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, त्यस बेलामा म अवतार लिन्छु ।

सज्जनहरूको रक्षा र दुष्टहरूको नाश तथा युगयुगमा धर्म स्थापना गर्नका निम्ति अवतार लिन्छु । गीताको श्लोकको व्याख्या थुप्रै विद्वान्ले गरेका छन् । अवतारकै क्रममा चौथो अध्यायको छैटौं श्लोकमा आफ्नो अजन्मा प्रकृतिको उल्लेख श्रीकृष्णले गरेका छन् । म अजन्मा, अविनाशी र यीबाहेक भूतमात्रको ईश्वर हुँ, तैपनि स्वभावले गर्दा आफ्नो मायाको बलले जन्मग्रहण गर्छु । अवतारको आवश्यकताको वर्णन भएअनुसार नै मूर्तिहरू बनेका छन् । ऋग्वेदमा रोपिएको ईश्वरको विविध रूपको अवधारणा नै पछि पौराणिक कालमा अवतारको रूपमा विकसित भएको देखिन्छ ।

लिच्छविकालमा बनेको त्रिविक्रम वामनका मूर्तिहरू लाजिम्पाट, तिलगंगा, चाँगुनारायण र शेषनारायणमा छन् । मल्लकालमा बनेका विष्णु अवतारका मूर्ति र चित्रको प्रस्तुति तीनवटै दरबार क्षेत्रमा रहेका मन्दिर, भण्डारखाल बगैंचा, चोक टुँडालमा देखिन्छ । काठको त्रिविक्रम मूर्ति भएमा तीनवटा पाउ पनि बनाउने प्रचलन छ । नेपाली सांस्कृतिक धार्मिक र इतिहासमा सत्यमोहन जोशीको पहलमा संरक्षण र प्रदर्शन भइरहेको त्रिविक्रम वामन विष्णु मूर्ति (संवत् ३८९) को विशेष स्थान छ । संस्कृतिको विद्यार्थीका नाताले शताब्दीपुरुष सत्यमोहन जोशीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.