चिनियाँ नयाँ वर्षको राैनक

चिनियाँ नयाँ वर्षको राैनक

नेपालमा दसैं तिहारमा राजधानी काठमाडौं लगायतका मुख्य सहर सुनसान भएको देखेका नेपालीलाई लाग्दो हो, चाडपर्वको बेला नेपालमा मात्र यस्तो हुने गर्छ होला ! तर, छिमेकी मुलुक चीनमा नयाँ वर्ष तथा चाडपर्वको समयमा मुख्य सहरको अवस्था हेर्ने हो भने चाडपर्व त चिनियाँले पो धूमधामसँग मनाउँदा रहेछन् भन्ने लाग्छ ।

चीनमा यतिबेला नयाँ वर्षको आगमनसँगै वसन्त चाड सुरु भएको छ । चन्द्रमास पात्रोअनुसार चिनियाँ नयाँ वर्षको मिति र समय तय हुन्छ । नेपालमा तामाङ, गुरुङ, शेर्पालगायतले मनाउने ल्होसार र चिनियाँ नयाँ वर्षको आगमनको प्रक्रिया तथा ज्योतिषीय मापदण्ड उस्तै हुने गर्छ । तर, नयाँ वर्षको यकिन तिथिमिति तथा मनाउने विधि र पद्धति एवं संस्कृति भने फरक हुने गर्छ । चन्द्रमास पात्रोअनुसार चिनियाँ नयाँ वर्षको मिति तय हुने हुँदा अंग्रेजी पात्रोको मिति प्रत्येक वर्ष फरकफरक पर्ने गर्छ ।

तर जनवरी २१ देखि फरवरी २० सम्म चिनियाँ नयाँ वर्षको पहिलो तिथिमिति तय हुन्छ । चिनियाँ नयाँ वर्ष चीनमा मात्र नभई चिनियाँको उल्लेख्य बस्ती रहेको मलेसिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, कम्बोडिया, उत्तर कोरिया, दक्षिण कोरिया, जापान, थाइल्यान्ड लगायतका मुलुकमा पनि धूमधामले मनाइन्छ ।

रोचक पक्ष त के छ भने चीनको आर्थिक समृद्धिसँगै चिनियाँ नयाँ वर्ष चाडको पहिचान र प्रभाव विश्वव्यापी रूपमा तीव्र भएको छ । अमेरिका तथा युरोपेली मुलुकमा एक दशकयता चिनियाँ संस्कृतिको एक किसिमको प्रभावलाई कतिपय इसाई धर्मगुरुहरू एवं पश्चिमा अनुदारवादी लेखकहरूले पश्चिमा संस्कृतिमाथिको तीव्र अतिक्रमण भनी टिप्पणी गर्न थालेका छन् ।

यतिखेर चीनको राजधानी बेइजिङलगायतका सहरहरू सुनसानजस्तै छन् । यस वर्ष चिनियाँ नयाँ वर्षको पहिलो दिन जनवरी २७ परेको थियो । नयाँ वर्षको करिब एक साता अगाडिदेखि नै सहर सुनसान हुन थाल्छ । शैक्षिक संस्थामा त करिब डेढ महिना लामो बिदा दिने चलन छ । अन्य सरकारी तथा निजी संस्थामा पनि न्यूनतम एक साताको बिदा दिइँदो रहेछ । विश्वकै पुरानोमध्येको एक चिनियाँ सभ्यताको नयाँ वर्ष मनाउने शैली पनि निकै सांस्कृतिक एवं पुरातन खालको छ ।

कतिपयलाई लाग्दो हो, साम्यवादी सत्ता भएको चीनमा पुरातन चाडपर्वका मूल्यमान्यतालाई महत्वव दिइँदैन होला ! तर, त्यो सोचाइ गलत हो । यो चाडको उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै पुरानो सभ्यता र संस्कृति बोकेको चाडलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्छन् ।

नेपालमा कथित क्रान्तिको ठूलो कुरा गर्नेले चिनियाँ नेताबाट सिक्न जरुरी छ, कसरी परम्परागत आधार एवं मान्यताहरू राष्ट्रको गर्विलो पहिचान बन्दो रहेछ ।

सरकार, राज्य परिषद् र कम्युनिस्ट पार्टीका तर्फबाट सबै देशवासी एवं चीनका शुभचिन्तकलाई शुभकामना व्यक्त गर्ने गरिन्छ । चिनियाँ पात्रोअनुसार यो वर्ष कुखुरा वर्ष परेको छ । १२ वर्षमा १२ किसिमका जनावरको वर्ष मान्ने पद्धतिअनुसार यो वर्ष कुखुरा वर्ष परेको हो । यो मापनको पनि निश्चित विधि र परम्परागत आधारहरू छन् । नेपालमा ल्होसार पर्वबारे परिचित हामीलाई चिनियाँ नयाँ वर्षबारे जानकारी पाउन त्यति धेरै कठिन पर्दैन तर विधि एवं परम्परागत शैली भने फरक छन् ।

चीनको सरकारी तथ्यांकअनुसार नयाँ वर्ष मनाउने सन्दर्भमा बेइजिङ र सांघाई अधिकतम सुनसान हुने सहरको अग्रपंक्तिमा छन् । पंक्तिकार चिनियाँ सहर हर्विनसम्म पुग्दा पनि उत्तिकै सुनसान अनुभव हुन्थ्यो । चिनियाँ नयाँ वर्षको आगमनसँगै हुने चिनियाँको आवतजावतलाई धर्तीकै सबैभन्दा ठूलो स्तरको मानव आवतजावत मानिन्छ । नयाँ वर्षसँगै करिब ६० लाख चिनियाँ नयाँ वर्ष मनाउन विदेशमा गएको तथ्यांकले देखाएको छ ।

थाइल्यान्ड, जापान, दक्षिण कोरिया, इन्डोनेसिया र भियतनामको भ्रमणमा जाने चिनियाँको सूची सबैभन्दा लामो छ । चीनभित्रै हेर्ने हो भने पनि नयाँ वर्ष सुरु भएको एक सातामा मात्रै ३५ करोड चिनियाँ पर्व मनाउन कर्मभूमि छोडेर अर्को स्थानमा गएको सरकारी तथ्यांकमा छ ।

यसबीचमा सरकारी खातामा ६१ दशमलव सात अर्ब डलर राजस्व जम्मा भएको चीनको राष्ट्रिय पर्यटन प्रशासन सीएनटीएले जानाएको छ । चीनले पछिल्लो पाँच वर्षयता आन्तरिक पर्यटनलाई निकै महत्वव दिँदै कुल गार्हस्थ्य उत्पादनमा गतिलो योगदान दिने क्षेत्रका रूपमा यसलाई अगाडि बढाएको छ । सीएनटीएले जनाएअनुसार सन् २०१६ मा आन्तरिक पर्यटनबाट मात्रै तीन दशमलव नौ खर्ब युआन राजस्व संकलन गरेको थियो । यो दरलाई सन् २०२० सम्ममा सात खर्ब युआन पुर्‍याउने लक्ष्य सरकारको छ ।

००० नयाँ वर्ष मनाउन प्रयोग गरिने विधि एवं वस्तुको पनि परम्परागत मान्यता छ । किंवदन्तीअनुसार चीनमा कुनै बेला नयाँ वर्ष सुरु हुनै लाग्दा डरलाग्दो राक्षसले बालबालिका चोर्ने र खाइदिने हुनाले मानिसहरू निकै चिन्तित हुन्थे । यो क्रम बढ्दै जाँदा नयाँ वर्ष सुरु हुनै लाग्दा मानिसहरू नयाँ वर्ष मनाउन छोडेर राक्षसको डरले ओडारमा गई बस्न थालेछन् । यो देखेभोगेका एकजना बूढा मानिसले सबै गाउँलेलाई भेला गरी तिमीहरू ओडारमा लुके पनि आफू राक्षससँगै प्रतिकार गरेर बस्ने बताएछन् । बूढा मानिसको कुरा सुनेपछि गाउँलेले उनलाई दिमाग ठीक नभएको मानिस भनेर लुक्न गएछन् ।

बूढा मानिसले नयाँ वर्ष सुरु हुनु एक दिनअगाडिको साँझ राता कागजले बनाएका चित्रहरू घरभित्र र बाहिर सजाएछन् । आफू घरबाहिर आगो बालेर पट्का पड्काउँदै रमाइलो गरेर बसेछन् । आखिर न राक्षस आयो न त बूढा मानिसलाई अरू केही समस्या आइलाग्यो । भोलिपल्ट उज्यालो भएपछि गाउँलेहरू ओडारबाट निक्लेर आउँदा उनीहरूले बूढा मानिस रमाइलो गर्दै बसेको देखेछन् ।

बूढा मानिसले आफूले गरेको सबै काम गाउँलेलाई बताए । त्यसपछि गाउँलेले ‘यी बूढा त देउता पो रहेछन्' भनेर उनलाई सम्मान गर्दै नयाँ वर्ष तथा वसन्त चाड मनाउने मौलिक पद्धति सुरु गरे । त्यसपछि गाउँमा कुनै पनि समस्या नआएको र देवताहरू खुसी भएको किंवदन्ती चीनमा छ । चिनियाँ नयाँ वर्षसँगै १२ किसिमका प्रतीकको प्रयोग गर्ने गरिन्छ । खुसी र समृद्धिको प्रतीक रातो रङ एवं यसले बनेका चिजबिजहरू, उच्च सम्मान र प्रतिष्ठाको प्रतीक पहेँलो रङ एवं यसले बनेका चिजवस्तुहरू, राम्रो भाग्य जनाउने फु चिह्न, शान्ति र समृद्धि दर्शाउने लामा राता ब्यानरहरू, बालबालिकालाई नगद हाली दिइने राता खाम प्याकेटहरू र भाग्योदय प्रतीकचिह्न माछो रहेको छ ।

देवता खुसी पार्न कागज काटेर बनाइएका विशेष कलाहरू, सम्पन्नता दर्शाउने भकुण्डोजस्ता राता चीजहरू, आसुरी शक्तिलाई निस्तेज पार्न गरिने आतसबाजी, अन्नभण्डारका लागि अन्नदेवता पूजा, घरको सुरक्षाका लागि दैलोमा देवताका प्रतीक चिह्नहरू राख्ने र आर्थिक समृद्धिका लागि खाई सेन भनिने धन देवताको स्वागत एवं पूजा रहेका छन् । चीनका चाडपर्वहरूका कतिपय विधि तरिकाहरू नेपालमा मनाइने विभिन्न चाडपर्वसँग मिल्छन्, भलै मनाउने पद्धति र प्रचलन फरक भए पनि । नयाँ वर्षसँगै चिनियाँ चाडमा गरिने आतसबाजी र पट्काको प्रयोग हेर्दा नेपाल र भारतमा मनाइने तिहारलाई समेत पछि पार्ने किसिमको लाग्छ ।
चीनको आर्थिक समृद्धि एवं करोडौं चिनियाँको जीवनमा आएको आर्थिक रूपान्तरणका कारण चिनियाँ संस्कृतिको प्रभाव र मनाउने शैली चीनभित्रै मात्रै नभई विश्वभर नै तीव्र ढंगबाट बढेको छ । चिनियाँ चाडसँगै चिनियाँ खानपान परिकार, संस्कृति, कलालगायत विदेशभर तीव्र प्रचार भएका कारण विश्वको नेतृत्व लिने अवस्थामा रहेको चीनको नरम कूटनीतिक शक्ति पनि उत्तिकै प्रबल बन्दै गएको छ ।

यही तथ्य बुझेर होला, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलेको परम्परा तोड्दै यसपटक चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा वासिङ्टन डीसीस्थित चिनियाँ दूतावासमा शुभकामना पत्र एवं उपहारहरू पठाएनन् । त्यसको साटो विदेश मन्त्रालयअन्तर्गत त्यो काम भयो । बरु राष्ट्रपतिकी छोरी इभान्का ट्रम्प चिनियाँ दूतावासद्वारा आयोजित नयाँ वर्ष विशेष कार्यक्रममा सरिक भइन् ।

चीन जति आर्थिक समृद्धिमा अगाडि बढेको छ, त्यसरी नै आफ्नो पुरानो सभ्यता, इतिहास, परम्परा र मान्यताको संरक्षण र सम्वद्र्धनमा पनि उत्तिकै अनुशासित एवं जिम्मेवारीपूर्वक लागेको छ । नेपालमा कथित क्रान्तिको ठूलो कुरा गर्नेले चिनियाँ नेताबाट सिक्न जरुरी कि कसरी परम्परागत आधार एवं मान्यताहरू राष्ट्रको गर्विलो पहिचान बन्दो रहेछ ।

राजनीतिक र आर्थिक स्थितिले मात्र होइन मुलुकलाई साच्चिकै मौलिकढंगबाट चित्रित गर्न परम्परागत संस्कृति र धरोहरको सम्मान तथा सम्वद्र्धन आवश्यक पर्दो रहेछ भनेर । धर्तीकै पुरानो सभ्यता भएको मुलुक नेपालसँग विश्वलाई देखाउनसक्ने गर्विलो संस्कृति र धरोहरहरू छन् । खाँचो हो, यसको संरक्षण र सम्वद्र्धनको ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.