अति अनुकरणीय तथा स्वागतयोग्य विवाह !
एक हप्ता त पक्कै पनि बितिसकेको हुनुपर्छ । मेरो हृदय नै हल्लाउने एउटा अति कष्टप्रद खबर छापिएको थियो । हाम्री जनकनन्दिनी सीतामाताको जन्मस्थलमा एउटा असाध्यै उत्तरदायी र आफ्ना छोरीहरूको शिक्षा भनेपछि हुरुक्क हुने महिलाले छोरीहरूलाई शिक्षा प्रदान गराउने पवित्र इच्छा लिएर विद्यालयमा प्रवेश गराउन लाँदा ‘अछूत', ‘शूद्र' र तल्लो जात जनाउने र घृणित ‘दलित'जस्तो शब्द प्रयोग गर्दै ती विचरी र तिनका छोरीहरूलाई त्यस पाठशालाले निर्ममतापूर्वक धपाएछ ।
त्यो खबर पढेपछि म अत्यन्त व्यथित हुँदै आफ्नो जीवनको बाल्यकाललाई सम्झन पुगेको थिएँ । मेरो बाल्यकाल भन्नाले यहाँ विक्रमाब्द २००६ साललाई लिइएको छ । त्यति बेला म पूर्वी इलामको फिक्कल भन्ने सस्यानो बजारमा थिएँ । फिक्कल अचेल सूर्योदय नगरपालिका नामले प्रसिद्ध छ । हुन पनि फिक्कल बजारको पूर्वको अन्तु पहाडको चुचुराबाट सूर्योदयको अपूर्व दृश्य बिहानबिहान हेर्न पाइन्छ । कहाँसम्म भने हाम्रो घरको माथिल्लो तलाको झ्यालबाट म फिक्कलमा छँदा सधैं नै बिहानबिहान घाम झुल्केको हेर्न पाउँदा मक्ख पर्थें ।
त्यहाँ अर्थात् फिक्कलमा १९९० सालमा (अर्थात् म जन्मनुभन्दा एक वर्षअगाडि) स्वामी सोमेश्वरानन्द भन्ने महात्माले चन्द्र पाठशाला नाउँको सिमेन्टीको साह्रै राम्रो र बलियो विद्यालय चन्दा बटुलेर बनाउनुभएको थियो जसमा संस्कृतको पढाइ हुन्थ्यो तर उहाँको देहावसानपछि तथा त्यहाँका जनतामा संस्कृत अध्ययन गर्ने रुचि स्वात्तै घटेर गएपछि त्यो भवन त्यसै उभिइरहेको थियो । पछि २००३ सालमा मेरा पिता स्वर्गीय प्रजापति उपाध्यायका प्रयासले अङ्ग्रेजी पाठशाला चल्न थाल्यो । ‘मेरा पिता अध्यक्ष भएर चलाएको त्यस पाठशालामा शिक्षक हुनुहुन्थ्यो चन्द्रभक्त कसजु जो अङ्ग्रेजहरूको ‘गोर्खासेना'मा ८÷१० वर्ष सेवा गरी त्यहाँ पढाउन आउनुभएको थियो ।
त्यस पाठशालालाई उहाँले ‘आदर्श' विशेषण थपी ‘आदर्श चन्द्र पाठशाला' बनाउनुभएको थियो । त्यस आदर्श चन्द्र पाठशालामा छैटौं कक्षामा मैले पढ्दापढ्दै मेरा गुरुको प्रेरणाबाट तथा मेरा पिताको मार्गदर्शनबाट प्रभावित भई शूद्र भनेर हेपिएका मेरा फिक्कले मित्रहरूलाई जबर्जस्ती भवनभित्र छिराई पूरा इलाम जिल्लाका विद्यालयहरूलाई उदाहरण देखाएकाले हाम्रो इलामका समस्त पाठशालामा कामी, दमाई र सार्की भनेर हेपिने हाम्रा जनताका छोराछोरी भित्रै प्रवेश गरी पढ्न थालेका थिए ।
तर, विश्वको यत्रो परिवर्तन भइसक्ता पनि हाम्रो जनकपुर भने छुवाछूतमै डुबेकाले मैले हाम्रो ‘अन्नपूर्ण पोस्ट्'मा सबै नेपाली समान हुन्, छन् र हामी सबैले शिक्षा प्राप्तिमा भेदभाव गर्नु हुँदैन भनी मैले थालेको २००६ सालतिरको क्रान्तिकारी घटना उल्लेख गरेको थिएँ । अहिले आएर ‘दलित गैरदलितबीच मागी विवाह' शीर्षक खबर ‘कान्तिपुर' दैनिकमा भर्खरै प्रकाशित भएको देख्दा पुलकित हुँदै म यो छोटो लेख प्रस्तुत गर्दैछु ।
त्यस खबरअनुसार ‘उदयपुर'को साउने भन्ने ठाउँमा स्थानीय विश्वकर्मा (अर्थात् ‘कामी' जातको भनी आजसम्म हेपिँदै आएको ) बद्री नामक २२ वर्षे युवकले २१ वर्षीया मगर जातकी कन्या छम्कीकुमारीसित धूमधामसित पूरा वैदिक विधिअनुसार विवाह गरे । दुवै परिवारको पूर्ण स्वीकृतिअनुसार १०० जना जन्तीका साथ रमाइलो गर्दै गरिएको यो विवाह मेरा दृष्टिकोणमा उदाहरणीय र अति आदरणीय भएको छ । वास्तवमा सबै हामी नेपाली समान छौं र हाम्रो बीचमा कुनै प्रकारको विभेद हुनु भनेको अत्यन्त पीडाजनक कुरो हो । त्यसै हुनाले बद्री र छम्की दुवै जनालाई हामी हृदयैदेखि स्वागत गर्छौं र सम्मान गर्छौं ।