बूढो रूखको अन्तिम आशा

बूढो रूखको अन्तिम आशा

विश्वमा सबै जीवित र निर्जीव वस्तुहरूको वृद्धिविकास भइरहेको हुन्छ । यहाँ रामेछापको मन्थली नगरपालिका-१, भैंसेसुरको बगैंचामा रहेको एउटा आँपको ठूलो र बूढो रूखकोे कथाव्यथा लेख्न खोजिएको हो । सम्भवतः यो नै यस क्षेत्रको ठूलो र बूढो रूख होला ।

नेपालका बगाले थापामध्ये राष्ट्रले रुचाएर छानेका, राष्ट्रले पालेका राम्रो गरी खाने र खुवाउने छोरो भनी चिनिएका बगाले थापाका २४औं पुस्ताका नेपालका राष्ट्रिय विभूति हुन् भीमसेन थापा । देशमा नियम र अनुशासन बसाल्दै गोरखाबाट पूर्व लाग्दै गर्दा उनी यहाँ आएका हुन् । उनका सबै दाजुभाइ, दिदीबहिनी र सरकारले गोरखाको जग्गाको साटो उनलाई रामेछापको तिल्पुंग, पकरबास, जफे, नामाडी, तिमालका खेत, भुजीको साधारण खेत, बसेरी, ल्यांगल्यांग थुम, देउराली, बिर्ता, सुलिभञ्ज्याङ, खिम्ती तथा मन्थलीका १५-१६ स्थानका खेत र बारी बगैंचा १८७७ साल साउन १२ गते सोमबार पास गरिदिएको इतिहास पाइन्छ ।

जमिन दिँदा साक्षीका रूपमा दलभञ्जन पाँडे, रणद्योत शाह, प्राण शाह, रणध्वज थापाको नाम उल्लेख छ । देश र जनतामा लगाएको गुनको मूल्यबापत उनलाई नजिकैको पाखामा भएको ठूलो टारीसमेत बिर्ता मौजा दिइएको थियो । ती जग्गामध्ये भीमसेन बगैंचा एक हो । बगैंचामा धेरै प्रकारका फलफूल, बोटबिरुवा रोपेर उनले आफ्नो इच्छा पूर्ण गरेका थिए । बगैंचामा भएकामध्ये बूढो आँपको रूखमात्र आज बाँकी छ ।

बाँकी रहेको बूढो आँपको रूखले धेरै कुरा बयान गरेझैं लाग्छ, ‘यो स्थानमा बनाइएको बगैंचा फाराकिलो जग्गामा फैलिएको थियो । बगैंचामा मलगायत धेरै बोटबिरुवा तथा रूखहरू थियौं । विभिन्न जात तथा थरीका धेरै आँपका ठूलाठूला रूख थिए । त्यस समयमा म फुच्चे थिएँ । मलाई हल्लाउँथे । हल्लिनै पर्ने रहेछ भन्ने लाग्थ्यो । मजस्ता नयाँ युवा अरू पनि धेरै थिए तर अहिले ममात्र बाँकी छु ।

मैले फलाएको आँप खान आउने गोठाला, खेताला, बटुवालगायत धेरैले अझै पनि आफ्नो इच्छा पूर्ति गर्छन् । फल दिएँ, पातले शीतल दिएँ । मेरा पूर्वजको उपभोग, प्रयोग गर्न काटिए, कति हावाले ढालिए, म केवल गन्दै गएँ । अब कति बाँकी छौं भन्थेँ । प्रत्येक वैशाख १ गते गन्ने मेरो नियम थियो । हामी भएको स्थान ओगट्ने काम चारैतिरबाट भयो । मलाई लाग्छ, ती राष्ट्रिय विभूति जनरल भीमसेन थापा भइदिएको भए मेरो र साथी, पुर्खाको कति इज्जत हुन्थ्यो होला । कति स्यहार हुन्थ्यो होला । तर, अरू कोही भीमसेन जन्मेनन् ।'

मन्थलीको गर्मीमा ठिंग उभिएको आँपको बूढो रूखले सम्झेझैं लाग्छ, ‘गर्मी भए पनि रमाइलो, घमाइलो, स्वच्छ हावापानीका बीचमा मानिसलगायत सेता, काला र रंगीविरंगी चराहरूलाई समेत शीतल दिइरहेको छु । दुवैतिर बग्ने खोला गडगडाउँदै खेतै बगाउन खोज्दा, तामाकोसीदेखि माथि दुई खोला जोडिन कोसिस गर्दा खबरदार यो बगैंचासम्म आउन पाउँदैनौ भनेर रखवाली गरेर म जोगिएको छु । माटो खोलाले बगाउनेभन्दा पनि आफ्नो कब्जामा पार्ने दुईखुट्टे मानिसले चलाएको कुटो, कोदालो, हँसियाले निकै मर्माहत बनाउँछ ।

आँपको एक्लो रूख जिल्लाको बिल्ला भिरेको सबै कार्यालयको आगाडि शोभा दिएर उभिएको छ । उसले न्यायको आशामा धेरै हिउँद-वर्षा बिताएको छ ।

मैले हेर्दाहेर्दै हरेक वर्ष हकभोग गर्न अतिक्रमण गर्दै माटोको अस्मिता लुटिएको म उभिएर हरिरहेको हुन्छु । मेरा जरा अडिएको माटो घर टाल्न र पोत्न लग्नेहरूकै कारण मलाई जीर्ण पारेर लडाउन खोजेका छन् । मुसाले गुँड लगाउने, दुम्सी र स्याल लुक्ने स्थान बनेको छ । हामी प्राण भए पनि जरा गाडिएका वनस्पति भएकाले भाग्न नसक्ने हुँदा जसले जे गरे पनि सहनु र हेरिरहनुको विकल्प छैन । हामी रूखहरूलाई प्राकृतिक हरियाली भनेर हेर्ने ऊ त्यो पारिपट्टिको प्रशासन, जग्गा उपभोग गर्न नपाउने ती राष्ट्रिय विभूति भीमसेनका सन्तति, वंशज र सरोकारवालालाई पनि चासो भएन !'

सरकारले जग्गा नापी गरेर यकिन गर्न ठूलो धनराशि खर्च गरेको सम्भवतः आँपको बूढो रूखले सुनेको होला । तर खोइ वरिपरिको त्यो ठूलो चौर ? पश्चिमपट्टिको बगैंचाको सुर (भीमसेन बगैंचाको सुर) लाई भैंसेश्वर नामकरण गरी प्रचलनमा आएको छ । हाल त्यो सुरबाट जग्गाको आकार घटाई हटाई आँपको बूढो रूखलाई सीमित भिरालो जग्गामा डेरा गरेर बसेको अवस्थामा पुर्‍याइएको छ ।
जग्गा नापीमा साफी पारिएको छ । आँपको बूढो रूखले सुनेको छ, ‘नापी पनि कस्तो भने, आफ्नो खेतबारी पहिरो लागेर खोँच बन्दा राहतका रूपमा सार्वजनिक वन, बगैंचा जग्गा भनी थाहै नदिई नापी कार्यालयले पोको पार्ने काम भएका छन् । नभएको ठाउँमा खोलो र भएको बाटोलाई जग्गा बनाउने काम भएको छ ।' राष्ट्रिय विभूतिको नामको जग्गा व्यक्तिलाई दिने नियम देखेर बूढो आँपको रूख मन कुँड्याएर बसेको छ । प्रत्येक १० वर्षमा नापी गर्दागर्दै रूखको टाढाको सिमाना नजिकै आएको छ ।

इतिहास बोकेको यो रूखको आफ्नै कथा छ । अब रूख पनि बूढो भएको छ । तैपनि उसले आफ्नो पुख्र्यौली थलो कमजोर जरा, पात र हाँगाले रोक्न छेक्न जोड गरिरहेको छ । बाँकी रहेको कित्ता नम्बर ३९९ को १-९-१-३.५ क्षेत्रफल जग्गामा प्रत्येक वर्ष खेती गर्नेले जरा काट्छन्, पात झार्छन् । जग्गा सुक्खा भयो भन्छन् । फल लागेका बेला माथि हेरेर पाकेछ फल भन्दै झटारो हान्छन् । बिनागल्ती झटारो खाएकोमा सायद बूढो रूखको मन दुख्छ ।

सायद त्यही डरले फल बोकेका हाँगालाई तल नुहाइदिन्छु । हाँगा, पात, फल सखाप पार्नेले धन्यवादसम्म दिँदैनन् । फल खानेले कहिल्यै कुनै दिन त्यो रूखमा पानी हालेनन्, मल दिएनन्, घामबाट बचाएनन् । कहिले दिक्क लागेर आधा फल दिँदा ‘अब बूढो भएछ, ढाले हुन्छ' भन्ने वचन सुन्दा सायद बूढो आँपको मन धुरुधुरु रुन्छ । जसले पाउँछ उसले आँपको फल खान्छ । सबैलाई समान बाँड्नु रूखको काम होइन । समानताको कुरा गर्ने मानिसले नै आज आँप गेडा, जमिन, जरा, पातका आफैंमात्र अधिकारी हुँ भनेको सुन्दा बूढो आँपलाई अचम्म लाग्दो हो ।

आँपको काम केवल फलिदिनु, पाकिदिनु हो, खान त जो अगाडि आउँछ उसैले पाउँछ । यही नियतिमा धेरै हिउँद-वर्षा बिताइसकेको छ बूढो आँपले । ठूलो जमातबाट ऊ एक्लो भएको छ । उसको पेट खोक्रो र धोद्रो भएर जाँदैछ । आँधीले पनि बटार्ने, मानिसले भाँच्ने, झटारो हान्ने, कति सहनु बूढो रूखले । नयाँ बोट आउन दिँदैनन् फलप्रेमी मानिसहरू । जग्गा मिच्नु र बिरुवा थिच्नु मानिसको नियति बनेको छ ।

रामेछापको सदरमुकाम सदरमुकाम मन्थली आएपछि सबैतिरबाट बूढो आँपको रूखलाई देख्न सकिन्छ । तर, हेर्दैन कसैले उसको पीरमर्का । खान्छन्, खुवाउँदैनन्, केही माया गर्छन् तर दया गर्दैनन् । ती कर्म गर्न खटिएका मानिस मर्म बुझ्दैनन् । बूढो रूखले भनेझैँ लाग्छ, ‘ठूलो वन देख्नेले म एक्लोलाई के देख्दछन्् । तलब पाउनेले मलाई किन वास्ता गर्छन् । धेरैे मनचिन्ते जंगल छाडेर मलाई काटेमा अपुताली नै पर्ला भनी काटेका नहोलान् । मेरा पनि धेरै सन्तान भए टाँचा टाँसी काट्न के बाँकी राख्थे । आज मलाई एक्ल्याउने मानिसले नै मेरो बसेरालाई बगैंचाबाट रूख भएको स्थान भनी रूखो वचन सुन्दा दिक्क लाग्छ ।'

आँपको एक्लो रूख जिल्लाको बिल्ला भिरेको सबै कार्यालयको आगाडि शोभा दिएर उभिएको छ । उसले न्यायको आशामा धेरै हिउँद-वर्षा बिताएको छ । आफ्नो शेषपछि उसका उत्तराधिकारीको कुनै संकेत छैन । बूढो रूख उभिएको जग्गामा धेरैका गिद्धे आँखा परेको उसले देखेको छ । उसले हावासँग स्वर मिलाएर कराइरहेको छ । उसलाई हेर्ने र सुन्ने कोही छैनन् । उसले बुझेको छ, बूढो मुढोको पर्खाइमा छन् सबै । सम्पूर्ण शरीर बाल्न पाउने आशामा वरिपरि रहेका मानिस र आँपकै काठलाई चाँप र अग्राखमा परिवर्तन गर्नसक्ने फर्निचर कारखानाहरूको कुदृष्टि उतिर छ भन्ने उसले बुझेको छ । उसलाई चिन्ता छ, आफ्नो अवसानपछि यो स्थान कुनै योजनामा पारी राष्ट्रिय विभूतिको नाम हटाएर वरिपरिका जग्गावाला नै आफूलाई मुनाफा हुने काममा अघि बढ्न लाग्नेछन् ।

रूखले पुकारिरहेझैँ लाग्छ, ‘ए ! बगैंचा धनीका सन्ततिहरू हो । मेरो शेषपछि राष्ट्रका होनाहार राष्ट्रिय विभूति, धरहराजस्तो कृतिले विश्वमा प्रख्यात बनेका, देशका प्रशासनिक व्यवस्था फौजीको ब्यारेक प्रणाली बनाई चाँडो, सरल र सहज तरिकाबाट काम गराउन बुद्धि लगाउने राष्ट्रसेवक राष्ट्रिय विभूति जनरल भीमसेन थापाले बनाएको यो बगैंचाको अस्तित्व जिम्मा लिन किन अघि सर्दैनौ ? काजीको ब्याजमा वंशले खाएको घिउ अंशका रूपमा सन्तुष्टसँग किन बस्छौ ? '

धरहराको अवस्था खण्डहर भएको सबैलाई अवगत छ । यो थापाको मात्र जिम्मेवारी होइन । यो राष्ट्रिय सम्पत्ति हो । यसमा चासो लिने थापाले नापी र मालपोतसम्म पुगेर हेरे । मालपोतमा दर्ता गराउन धेरैलाई अह्राए तर कमाउनपट्टि नै जाती भनेर फर्किए । एकपटक केही थापाहरूले यहाँ साना बिरुवाहरू लगाएका थिए । ती पनि उखेलेर लग्ने र बिनाहेरचाहका कारण नासिएर गए ।

अन्त्यमा रूखले आग्रह गरेझैं लाग्छ, ‘अब म सबै नागरिक समाज, बगाले वंश र हालको वनपाले कार्यालय तथा जिल्लाका अधिपति प्रमुख जिल्ला अधिकारी र रक्षक प्रहरी प्रशासनलाई मेरो उमेरको ख्याल गरी यो स्थानको संरक्षण गरिदिनुस् । मेरो स्थानमा मेरा सन्तान, इष्टमित्र छिमेकी विभिन्न जातका रूख रोपी चौतारो आदि बनाउन पहल गरिदिनुस् । यो सबैका लागि राम्रो र भलाइको काम हुनेछ । मलाई विश्वास छ, मेरो स्थानको रक्षा गर्ने एकमात्र संस्था/निकाय छ त्यो हो- आदेश पाए गर्ने नेपाल सैनिक बल, जसले देशका विभिन्न स्थानमा धेरै रक्षा गरेको छ । निर्माण, पुनःनिर्माण, जीर्णोद्धार गरेको छ । म प्रतीक्षा गरिरहेको छु ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.