तारादेवी र अरुणाको सम्झना
काठमाडौः दिवंगत कलाकार तारादेवी र अरुणा लामाका गीतहरू गाएर तन्नेरी पुस्ताले शुक्रबार उनीहरूलाई सम्झिएका छन् । सांस्कृतिक संस्थान (नाचघर)ले तारादेवी र अरुणाको स्मृति र सम्मानमा राजधानीको जमलस्थित आफ्नै प्रेक्षालयमा ‘सम्झनाका तरेलीमा तारादेवी र अरुणा लामा'कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संस्थानकै कलाकारले दिवंगत दुई कलाकारका चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।
सांगीतिक कार्यक्रम सुरु हुनुअघि राष्ट्रकवि माधव घिमिरेले दिवंगत कवि शिवराज सुवेदीको कवितासंग्रह ‘जिन्दगी' विमोचन गरेका थिए । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विभाग प्रमुख भरतमणि सुवेदीले दिवंगत कवि सुवेदी र उनको कविता लेखनबारे प्रकाश पारेका थिए ।
तारादेवीले गाएको ‘तिमीलाई हाँसेर' बोलको गीत गाउँदै कलाकार सपना लामाले सांगीतिक कार्यक्रम सुरु गरेकी थिइन् । गायिका लोचन भट्टराईले अरुणा लामाको गीत गाइरहँदा उपस्थित दर्शक निकै भावुक बनेका थिए । त्यसैगरी अर्का कलाकार रूपक चौधरीले पनि अरुणाकै चर्चित गीत ‘भेटिनु छुटिनु' सुनाए । कार्यक्रममा प्रस्तुत ११ मध्ये नौवटा गीत तारादेवीको सुनाइएको थियो ।
भीमकला गुरुङले ‘साँघुरी वारि नि हो त्यो धारा पानी', टीका गुरुङले ‘कर्कलो गाभा', चाँदनी मल्लले ‘कालीपारी दाइ कति राम्रो' गाएका थिए । त्यसैगरी विपिन घिमिरेले ‘तिम्रा पाउहरूमा', शिला विष्टले ‘निर्दोष मेरा', राधिका भण्डारीले ‘जताततै खोजे' बोलको गीत गाएर तारादेवीको सम्झना गरे । तारादेवी र उदितनारायण झाको स्वरमा रहेको ‘ए मेरी बिजुली' बोलको गीत रूपक चौधरी र राधिका भण्डारीले प्रस्तुत गरेका थिए ।
गायकगायिकालाई सांस्कृतिक संस्थानका वाद्यवादनले नै साथ दिएका थिए । गिटारमा लोकराज राई, आकाश गोर्खाली, मादलमा पञ्चनारायण महर्जन, तबलामा भरत लाखे, बाँसुरीमा कृष्ण गुरुङ र मदन जर्गा, ढोलकमा भागीरथ सुस्लिङ, हार्मोनियममा रूपक चौधरी र किबोर्डमा रोहित सुवेदी रहेका थिए ।
संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रमका सहभागी र अतिथिलाई स्वागत गर्दै तारादेवी र अरुणाका बारेमा चर्चा गरेका थिए । अग्रज कलाकारको योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन संस्थानले दिवंगत कलाकारको सम्मान तथा सम्झनामा स्मृतिमा कार्यक्रम गर्दै आएको महाप्रबन्धक थापाले जानकारी दिए ।