चीन घेर्ने जातिवादी रणनीति

 चीन घेर्ने जातिवादी रणनीति

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा चित्रित छ । चार वर्णलाई दृष्टि रूप वा आकृति सौन्दर्य, भेषभूषाको रूपमा पनि बुझिने गरिन्छ । पदार्थमा हुने रातो, सेतो, कालो, पहेंलो चार रूप, भेद, रंगको रूपमा पनि बुझ्नुपर्छ । मनुष्य जातिको चार श्रेणी (ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र) को रूपमा वर्णित छ ।

यो चार वर्ण जातजातिको, उचनीचको छुवाछूतको विषय होइन । हरेक जातिभित्र यी चार वर्ण श्रेणी हुन्छ । कुनै जातिले यसको गुण पक्षलाई केन्द्रीय रूपमा आत्मसात गरी विकास गरेको पाइन्छ भने कुनैले यसको परिधिमा आफूलाई समेटेको छ । वैदिक दर्शनको आधारमा वर्ण भनेको जात होइन, यो नितान्त वैज्ञानिक श्रम विभाजनको दृष्टिकोण हो । वैदिक दर्शनको आधारमा सम्पूर्ण वैचारिक नेतृत्व लिने दार्शनिक, चिन्तक, शिक्षक, साहित्यकार, संस्कृतिकर्मी, पत्रकार, लेखक जस्ता प्राज्ञिक व्यक्तिहरू ब्राह्मण वर्णमा समेटिन्छन् ।

युद्धकला, राजनीतिक, सैन्यअभ्यास गर्ने व्यक्तिहरू क्षेत्री वर्णमा पर्छन् । त्यस्तैगरी, व्यापार व्यवसाय उद्योगधन्दा वाणिज्यसम्बन्धी काम गर्ने मानिसहरू वैश्य वर्णमा पर्दछन् । आधुनिक समाजमा सभ्य र ठूला मानिने डाक्टर, पाइलट, इन्जिनियर, कृषि पेसा, मेकानिकल आदि पेसा अपनाउनेहरू शूद्र (सेवक) वर्णमा समेटिन्छन् । तर हाम्रो समाजमा वैदिक दर्शनका विरुद्धमा शूद्रलाई तल्लो जाति र अन्यलाई उपल्लो जातिको रूपमा अवैज्ञानिक ढंगले अपव्याख्या गर्दै आएको पाइन्छ, यो सरासर वैदिक धाराविरुद्ध छ । यस्तो उचनीच चिन्तन पूर्वीय दर्शन र वर्तमान समाज दुवै विरोधी गतिविधि हुन् । यसमा हामी सबै सचेत हुनुपर्छ ।

पछिल्लो समय चार वर्णलाई प्रायोजित रूपमा उचनीचको विषय बनाई केही पश्चिमाको उक्साहटमा जातिवादीहरूले संकुचित राजनीतिको भद्दा खेल मैदान बनाउने कुकृत्य मञ्चन गरिरहेका छन् । जातिगत रूपमा विशेषतः बाहुन जातिमाथि उचनीचको रेखा कोरेको झूटो आरोप दर्ज गर्दै चार वर्णको गलत व्याख्या गर्ने कुकर्ममा जातिवादीहरू लाग्नु आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो ।

मिलेर बसेको सद्भाव र सहिष्णु नेपाली समाज छलछाम र षड्यन्त्रबाट टाढै बसेको छ । यस्तो सोझो समाजमा पश्चिमा साम्राज्यवादी शक्ति केन्द्रले आफ्नो रणनीतिक स्वार्थपूर्तिको लागि जातिवादी शेर्पा, तामाङ, नेवार, मगर, गुरुङ, राई, लिम्बू (सेता मगुराली) क्षेत्री समाज, मधेसवादी मोर्चा, बाहुन समाजजस्ता जातिवादी क्षेत्रवादी सञ्जाल सुनियोजित रूपमा खडा गराई जाति-जातिबीचमा,

भूगोल-भूगोलबीचमा असहिष्णुताको डलर खेती मञ्चन गरिरहेका छन् । यसरी साम्राज्यवादीको स्वार्थपूर्तिको खेताला बन्न जातिवादी, क्षेत्रवादी, नागरिक समाज, राजनीतिक दलका केही मूल नेतृत्वहरू तछाडमछाडका साथ लाग्नु राष्ट्रघात हो । साम्राज्यवादी शक्ति केन्द्रले नेपालका सोझा जातिहरूलाई आपसमा भिडन्त गराउने र नेपाललाई अनियन्त्रित द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेका छन् । यही अस्थिरताभित्र खेली शान्तिसेनाको आवरणमा साम्राज्यवादी मिसिनरी सेनाको हेर्डक्वाटर नेपालमा खडा गर्ने लक्ष्य राखेका छन् ।

यसरी साम्राज्यवादले प्रथमतः चीन घेर्ने त्यसपछि भारत विखण्डन गरी एसियामै साम्राज्यवादी प्रभाव बढाई आफ्नो लुटको साम्राज्यवादी केन्द्र नेपाललाई बनाउने ग्र्यान्ड डिजाइनको जाल बुनिरहेको छ । यसको लागि नेपालका जातजातिका केही अगुवाहरू, दलका मूल नेतृत्वहरू र नागरिक समाजका तथाकथित मनुवाहरूलाई विभिन्न ब्यानरमा आफ्नो कुत्सित षड्यन्त्रपूर्तिको खातिर ज्यालादारी खेतालाको रूपमा नियुक्त गरिसकेको घटनाक्रमबाट पुष्टि हुँदै आइरहेको छ ।

नेपालको हरेक भूखण्ड बहुजातीय, भाषिक र सांस्कृतिक स्वरूपमा सतवीज समान गाउँबस्तीहरू आआफ्नै मूल्यमान्यता, मौलिकता बोकी सद्भाव सहिष्णु जीवन पद्धतिमा सक्रिय छन् । यही नै शान्ति, स्थिरता, समृद्धि र राष्ट्रिय एकतासहितको राष्ट्रिय मुक्तिका आधार हुन् । नेपाली समाजमा बहुजाति, भाषा, संस्कृतिको, सम्मि श्ररणयुक्त बनोट हुनुको कारण यहाँ युगौंदेखि ‘बसुधैवः कुटुम्बकम' मानिसलगायतका सम्पूर्ण प्राणी इस्टमित्र हुन् भन्ने जीवन्त शैली कायम छ । यस्तो एकताबद्ध अनुकरणीय समाजमा साम्राज्यवादीको लहैलहैमा जातजातिका, दलका, नेतृत्व फसी आफ्नो जन्मभूमिको गरिमामा आगो झोस्न सक्रिय हुनु निन्दनीय र खेदजनक छ ।

नेपाली समाजले पनि राज्यको पुनर्संरचनाको सवालमा कोसी, गण्डकी, कर्णाली तीन बृहत् जलाधारको आधारमा मूर्त समानुपातिक विकासको आवश्यकता महसुस गर्दै आएको विकास योजनाहरूको शृंखलाले थप पुष्टि गर्छ । राज्यको पुनर्संरचना तथा विकासको लागि संघीय प्रारूपको प्रदेश अवधारणा अस्तित्वमा आएको हो । यस आशयलाई गम्भीर प्राज्ञिक अध्ययन-अनुसन्धान तथा विश्लेषण गरी अगाडि बढाउनुपर्नेमा मुलुकमा क्रियाशील मूलधारका राजनीतिक पार्टीहरू विदेशी रणनीतिको सहभागी बन्न पुगेका छन् ।

त्यसको ज्वलन्त उदाहरण हो, वर्तमान संविधानमा व्यवस्था गरिएको सात प्रदेशको अवधारणा यसको नांगो प्रारूप २ नम्बर प्रदेशमा उदांगो भएको छ भने १, ५ र ७ ले त्यही सिद्धान्त अनुशरण गरेका छन् । ३ र ४ नम्बर प्रदेशको वर्तमान स्थिति सिंगो नेपाललाई संकुचनमा पार्ने रणनीतिको खुला खेलको रिहर्सल हो ।

हामीले प्रदेशको अवधारणामा जाँदा नेपाल एकात्मक राज्य हो भन्ने बुझ्न आवश्यक छ । समानुपातिक विकासको लागि शक्ति निक्षेपीकरणको सिद्धान्तमा प्रदेशहरूको निर्माण समानुपातिक विकासको लागि हो । यसमा हिमाल, पहाड, तराई प्राकृतिक रूपमा अविछिन्न छन् । सामाजिक, आर्थिक, सांस्कृतिक भौगोलिक, विविधता पनि एकअर्कामा अन्योन्याश्रित छन् ।

कोशी, गण्डक र कर्णाली जलाधारभित्र क्रमिकतामा जातजातिको आआफ्नै विशिष्ट मौलिक र प्राकृतिक संयोजन कायम छ । उदाहरणको लागि कोशी जलाधारमा राई, लिम्बू, यादव, चौधरी, बाहुन, क्षेत्री, मुसलमान, शेर्पा, राजवंशी, भुजेल, सन्न्यासीका साथ अनेकौं जातजाति बसोवास गर्छन् । यस क्षेत्रमा मेची, कोसी, सगरमाथा र जनकपुरका साथै बागमती अञ्चलका सिन्धुपाल्चोक र काभ्रे जिल्लासमेत पर्छन् ।

गण्डक जलाधारमा मगर, गुरुङ, नेवार, थारू, क्षेत्री, तामाङ, थकाली, मारवाडी, बाहुन, कुमाल, यादव, मुसलमान, कुसुन्डा, दलितका साथै अन्य जातजातिको मिश्रित बसोवास छ । यस क्षेत्रमा लुम्बिनी, धवलागिरि, गण्डकी, नारायणी र बागमती अञ्चलका काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङ पर्छन् ।

कर्णाली जलाधार यस क्षेत्रमा खस, थारू, दलित, मगर, बाहुन, मुसलमान, क्षेत्री, राउटे, वादी, मगर, नेवार, तामाङ, गुरुङलगायतका जातजातिको मिश्रित बसोवास छ । यस क्षेत्रमा महाकाली, सेती, भेरी, कर्णाली र राप्ती अञ्चल पर्छन् । यसरी कोशी, गण्डकी, कर्णाली, जलाधारले नेपालमा तीन प्रादेशिक व्यवस्थापनको अनुमति दिन्छ ।

यसलाई खलल बनाउने चेष्टा सिंगो मुलुक खल्बलाउने षड्यन्त्रपूर्ण नियत हो । भाषा, धर्म संस्कृतिक, राज्य पुनर्संरचना, विदेश नीतिको निर्धारण, राज्य व्यवस्थाको गठन, कृषि भूमिको रक्षा, भूमि व्यवस्थापन, नागरिकता शक्ति सन्तुलन आदि महत्ववपूर्ण पक्षहरूको सही दिशानिर्देशन नै राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता अक्षुण्ण राख्ने मूल आधार हुन् ।

माओवादी केन्द्र, एमाले, मधेसवादी, कांग्रेसलगायतले जातिवादी आवरणमा साम्राज्यवादी एजेन्डा पालेर स्थिरता खोज्नु त्योभन्दा ठूलो मूर्खता र व्यभिचार अर्को हुन सक्दैन ।

अहिले नेपालले २०४७ को संविधानदेखि सार्वभौमसत्ता जनतामा अन्तरनिहित रहेको नेपाली मौलिकताको गणतन्त्रको जग बसालिसकेको सन्दर्भमा राष्ट्रिय शक्ति सन्तुलनको मूल्यमान्यता तदनुकुलकै व्यवस्थापन हो ।

पछिल्लो समय यस व्यवस्थापनसँग जोडिएका शक्तिहरूमा अराजक महत्ववाकांक्षा र तदनुकुलको व्यवहार छ । यस स्थिति उत्पन्न गराउनमा वैदेशिक स्वार्थको प्राधान्यता प्रमुख छ । सत्ता संघर्षलाई निरन्तरता दिन विविधखाले अराजक ध्वंसात्मक, जातिवादी, क्षेत्रवादी, नश्लवादीहरूले स्थापित श्रम विभाजन पद्धति वर्ण व्यवस्थाको अपव्याख्या गर्दै हाम्रो सामाजिक संरचनामा द्वन्द्व सिर्जना गराउने कुचेष्टा गरिरहेका छन् । यसमा दलका मूल नेतृत्वहरूको नांगो संलग्नता पनि प्रस्टै देखिएको छ ।

मुलुकले चाहेको अनिवार्य स्थिरता, शान्ति र एकताको जगमा समृद्धिको लक्ष्यमा बढ्नुको साटो दलको मूल नेतृत्व राष्ट्रिय एजेन्डाकेन्द्रित नभई बाह्य शक्तिको लहैलहैमा भौतारिँदै आएका छन् । अहिले दलका केही नेतृत्व बाहिरी रूपमा चीनको हितैषीको रूपमा प्रस्तुत हुँदै भारतको अन्धविरोध गर्ने र कोही छिमेकी भारतको हितैषीको रूपमा प्रस्तुत हुँदै चीनको अन्धविरोध गर्ने गरेको देखिन्छ । यी दुवैखाले प्रवृत्ति पश्चिमा साम्राज्यवादी स्वार्थसँग गाँसिएका पाटा हुन्, यी सारभूत रूपमा इन्डो-पश्चिमा रणनीतिका अंग हुन् । यी दुवै पश्चिमा साम्राज्यवादी शक्तिको आड र लगानीमा सुसंगठित रूपमा सञ्जाल खडा गरी क्रियाशील छन् ।

नेपाललाई अनवरत द्वन्द्वभूमि बनाउन अनियन्त्रित अस्थिरतालाई संयोजन गर्नु तथा सारभूत रूपमा छिमेकी चीनविरोधी गतिविधि गर्र्नु यिनको धन्दा हो । राष्ट्रिय एजेन्डाको आत्मसात तथा शक्ति सन्तुलन स्थिरताको लागि मुलुकले दिशानिर्देश गरेका कार्यभार हुन् । घोषित संविधान कार्यान्वयनको लागि राष्ट्रिय एजेन्डामा संविधान संशोधन, शक्ति सन्तुलन र निर्वाचनलाई प्याकेजमा सहमति जुटाउन सके मात्र सम्भव हुन्छ ।

यसलाई जातिवाद र क्षेत्रवादरूपी अलगाववादी सोच चिन्तन कार्यक्रमरूपी अनुचित वैदेशिक स्वार्थको चालमा चलाउन खोज्नेहरू जुनसुकै शब्द आडम्बरसँग जोडिएर आए पनि तिनीहरू ध्वंसात्मक साम्राज्यवादी रणनीतिक केन्द्रहरूसँग जोडिएका र कालान्तरमा नेपाल, भारत, चीन घेर्ने रणनीतिका बहुआयामिक पाटा हुन् ।

यस शृंखलासँग भारतको एउटा पक्ष विगत तीन सय वर्षदेखि जोडिँदै आएको छ । स्मरण रहोस्, माओवादी विद्रोह शान्ति प्रक्रियामा प्रवेश गरेलगत्तै मधेस तथा जातिवादी आवरणको आन्दोलन पुनः इन्डोपश्चिमा रणनीतिक ‘ज्वाइन्ट भेन्चर' मा अगाडि बढाएको छ । यस्तो ध्वंसात्मक कार्यक्रमबाट समयमै सचेत बनी बाहिर निष्कन नसके दक्षिण एसियामै भारतले आफ्नो भूमिका र दायित्वसँग चुक्नुपर्ने हुन्छ ।

त्रिपक्षीय भारत-नेपाल-चीन साझेदारी नै नेपालमा विद्यमान समस्याको समाधानको सेतु हो । जातिवादी आवरणमा साम्राज्यवादी एजेन्डा पालेर स्थिरता खोज्नु त्योभन्दा ठूलो मूर्खता र व्यभिचार अर्को हुन सक्दैन । नेपालका मूलधारका राजनीतिक दलहरू माओवादी केन्द्र, एमाले, मधेसवादी, कांग्रेसलगायतले जातिवादीहरूले कुमार्गबाट आफूलाई युटर्न गराई राष्ट्रिय शक्ति सन्तुलनसहित राष्ट्रिय एकताको सत्मार्ग अनुशरण गर्न गम्भीर बनून् ।

राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान र अखण्डता उँचो राख्न राष्ट्रिय शक्ति सन्तुलनसहितको राष्ट्रिय एकता मुलुकले खोजेको निकास हो । समयमै सच्चिएर सही मार्ग अवलम्बन गर्न दलका नेतृत्व तथा जातिवादी अगुवाहरू तयार होऊन्, अन्यथा नेपाल रहन्छ, तर कुमार्ग पछ्याउनेहरूको मटियामेटलाई कसैले रोक्न सक्दैन ।
—न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.