सवारीचालक नै जेब्राक्रसबारे अनविज्ञ

 सवारीचालक नै जेब्राक्रसबारे अनविज्ञ

काठमाडौंको बाटो हिँड्न कसलाई रहर लाग्छ र ? के गर्नु, बाध्यता आआफ्नो । हिँड्दा धुलो र धुवाँ त अक्सिजन (प्राणवायु) सरह भैगो । धुलो र धुवाँकै मुहानमा बस्न बाध्य हुनेका लागि त प्राणवायु नै भैगो । मेरो लागि हिँड्दा सबैभन्दा गाह्रो लाग्नेचाहिँ बाटो काट्दा हो । बाटो काट्न खोज्यो जेब्राक्रस छैन । भएको ठाउँमा उभियो, सवारी रोक्दैन ।

नरोक्ने मात्र होइन, हर्न बजाएर पेल्न खोज्छ । अनि रिस उठ्छ । जहिले पनि मुस्किलले बाटो काट्नुपर्ने । अनि मनमनै मुरमुरिन्छु, कस्तो सिस्टम नभएको देश भयो भनेर । म स्कुले विद्यार्थी हुँदा ४६/४७ वर्षअघि मेरा एकजना गुरुले भारतलाई सिस्टम नभएको देश भनेको अहिलेसम्म याद छ । त्यसबेला सिस्टम भएको हाम्रो देश अहिले कहाँ छ अनि त्यतिखेर सिस्टम नभएको भारत अहिले कहाँ पुग्यो ?

गएको २० गते अन्नपूर्ण पोस्ट्को अनलाइनमा ‘बटुवाले कहिले चेत्ने ? ' शीर्षकमा एउटा समाचार पढें । समाचार पढेपछि केही तथ्यांक पनि थाहा भो । उपत्यकामा २१ स्थानमा आकाशे पुल रहेछ । ४२ प्रतिशत सडक दुर्घटना पैदलयात्रीकै कारण हुने गरेको रहेछ । समाचारमा पैदलयात्रुले सडकमा के गर्ने के नगर्ने भन्ने पनि उल्लेख रहेछ ।

जस्तै- हतार गरेर बाटो नकाटौं । मोडहरूबाट बाटो नकाटौं । रातको समयमा चम्किलो लुगा लगाएर मात्र बाटो काटौं । सडकमा सधै फुटपाथबाट मात्र हिँड्ने बानी बसालौं । बालबालिकासँग यात्रा गर्दा उनीहरूलाई सडकको भित्तापट्टि पारेर अघि बढौं । आफूतिर आइरहेको गाडीको हर्कत बुझौं । सवारी आवागमनमा वाधा-अवरोध पुग्ने गरी नहिँडौं । रोकिराखेको ठूलो सवारीको अघिपछिबाट बाटो नकाटौं । जेब्राक्रस र आकासे पुलबाट मात्रै बाटो काटौं ।

माथि उल्लिखित सुझाव महत्ववपूर्ण छन् । पहिलो बुँदा, हतार गरेर बाटो काट्न त हुँदै हुन्न । तर के गर्नु, हतार गरेन भने कुरेको कुरै हुन्छ । हतार गर्ने पर पुगिसकेको हुन्छ, आफू जहाँको तहीं । दोस्रो, मोडबाट बाटो काट्नु हुन्न, किनकि सवारी चालकले नदेख्न सक्छ र बे्रक लगाउन पनि गाह्रो । साइकल मोटरसाइकल पर्‍यो भने ढल्नै सक्छ । तेस्रो, अलि नयाँ लाग्यो । पैदलयात्रुले राति हिँड्दा चम्किलो पहिरन लगाउँदा सवारी चालकले टाढैबाट देख्छन् र सतर्क हुन्छन् । त्यसैले धेरैजसो राति हिँड्नुपर्नेले चम्किलो ज्याकेट (गर्मीमा पनि हुने पातलो) साथमा राख्नु राम्रो ।

साइकल, मोटरसाइकल चलाउनेलाई त अझ राम्रो । चौथो, हामीकहाँ कति त्यस्ता बाटा छन्, जहाँ फुटपाथ होस् । भएका फुटपाथ पनि बाटो फराकिलो गर्ने क्रममा हिँड्नै नहुने गरी साँघुरिएका छन् । अनि पसल राख्ने र स्थायी पसल भएकाहरूले पनि फुटपाथ ओगटेका हुन्छन् । जे होस्, फुटपाथ भएसम्म फुटपाथैबाट हिँड्नुपर्छ । पाँचौं, बच्चालाई लिएर हिँड्दा जहिले पनि हात समाएर भित्तातिरैबाट हिँडाउनुपर्छ । यसमा हामी त्यत्तिको ध्यान दिइरहेका हुन्नौं ।

छैटौं, विपरीत दिशाबाट आफूतिर आइरहेको सवारीसाधनको गति र त्यसले ओगटेको ठाउँ पनि आकलन गर्नुपर्छ । मेसिन न हो, त्योसँग प्रतिस्पर्धा गर्नु हुन्न, दुईचार सेकेन्ड आफैं रोकिएर बाटो छोडिदिनु राम्रो । सातौं, बाटो छ भन्दैमा यता र उता अनि बीच बाटोबाट हिँड्नुभएन । एउटा लाइन पक्रेर हिँड्नुपर्छ, जसले गर्दा सवारी हाँक्नेले पनि आफ्नो सुरबाट विचलित हुन नपरोस् र कोहीसँग नठोक्कियोस् ।

आठौं, ठूलो गाडी रोकिराखेको छ भने त्यसको दायाँ वा बायाँबाट अरू सवारीसाधन आइरहेको नदेख्न सक्छ । त्यस्तो अवस्थामा बाटो काट्दा सीधै दुर्घटनामा पर्ने सम्भावना हुन्छ । नवौं बुँदा, आकासे पुल र जेब्राक्रस भएको ठाउँमा अन्यत्रबाट कहिल्यै बाटो नकाटौं । कोही पुलको भर्‍याङ चढ्न असक्त छ भने सहयोग माग्न सकिन्छ र बाटोबाटै पनि ट्राफिक प्रहरी वा अरू कसैको सहयोगमा सावधानीपूर्वक बाटो काट्न सकिन्छ । समस्या छ, जेब्राक्रसको ।

जेब्राक्रस ठाउँठाउँमा नभएका होइन । केही समययता यसको संख्या बढेको पनि छ, तर पर्याप्त छैनन् । मुख्य कुरा, भएका पनि काममा आएका छैनन् । अर्थात् जेब्राक्रस हुनु र नहुनुको अर्थ छैन । जेब्राक्रस भनेको पैदलयात्रुलाई बाटो काट्न हो र त्यो पैदलयात्रुको अधिकार हो । जेब्राक्रसमा कोही बाटो काट्न खोज्दैछन् र बाटो काटिरहेका छन् भने सवारी रोक्नैपर्छ । यो संसारभरि चलेको अनिवार्य नियम हो ।

हो, जेब्राक्रसमा ट्राफिक लाइट (बत्ती) छ भने बाटो काट्ने हरियो बत्ती बल्दामात्रै बाटो काट्न पाइन्छ । पहिले-पहिले त हामीकहाँ पनि केही मूल सडकमा त्यस्तो व्यवस्था थियो र त्यसको पालना पनि हुन्थ्यो । अहिले छैन । सायद बत्तीको व्यवस्थापन नियमित गर्न नसकेर होला कुनै पनि सडकमा ट्राफिक बत्तीले काम गरेको देखिन्न । सोलार प्यानल पनि राखेको देखिन्छ । त्यसले पनि काम नगरेरै होला, बत्ती बल्दैन । नियमित स्याहार-सम्भारको अभावमा ती खासै काममा नआएका हुन् भनेर अनुमान गर्न गाह्रो छैन ।

स्वदेशमा बसेर विदेशको कुरा मात्र गरे जस्तो नहोस्, विकसित मानिएका मुलुकमा जेब्राक्रस र ट्राफिक बत्ती मानिसको आवतजावत कम हुने बाटोमा पनि गरिएको हुन्छ । अझ बाटो काट्नेलाई सुविधाको लागि ट्राफिक बत्ती चाँडो बाल्न एउटा स्विचको व्यवस्था गरेको हुन्छ, जुन थिचेपछि नियमित समयभन्दा चाँडो बाटो काट्ने बत्ती बल्छ । स्विडेनमा त्यस्तो स्विचमा ‘भान्टा' लेखेको हुन्छ । भान्टा स्विच थिचेपछि बाटो काट्ने बत्ती त्यसको समयअगावै बल्छ र बाटो काट्न पाइन्छ ।

ट्राफिक बत्ती नभएका जेब्राक्रसमा बाटो काट्ने मान्छे छ भने सवारी अनिवार्य रोक्नुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्छ । सवारी चलाउनेहरूलाई जेब्राक्रसमा अभ्यस्त गराउन पहरालगायत केही न केही वैकल्पिक व्यवस्था गर्नैपर्ने हुन्छ ।

हामीकहाँ त खोइ त्यस्तो व्यवस्था कहिले आउँछ होला ? गएको पुस २५ गते एक दैनिकमा एउटा समाचार पढें, ३७ ट्राफिक बत्ती जोडिने- पैदलयात्रीले जेब्रा क्रसिङमा ‘बटन' थिचेर गाडी रोक्न सक्ने । समाचार पढ्दै जाँदा माथि मैले लेखेका कुरा पनि पुष्टि भयो कि ‘पहिला जडान गरिएका ट्राफिक लाइटको मर्मतसम्भार तथा प्रयोग नहुँदा बिग्रेपछि नयाँ लाइट जडान गर्न लागिएको हो ।' यो परियोजना काठमाडौं उपत्यकाको लागि हो ।

माथि उल्लिखित नयाँ ट्राफिक बत्ती जडान भनेको धेरैजसो साबिकका बिग्रेरै हो । यसको लागि एसियाली विकास बैंकले आर्थिक तथा प्राविधिक सहयोग गर्दै छ । समस्या के भने यो नयाँ बन्ने पनि केही महिना वा वर्षपछि पक्कै बिग्रन्छ । त्यसको मर्मतसम्भार हुँदैन । अनि त्यसको पनि पुरानै हालत । फेरि नयाँ बनाउने परियोजना आउँछ । बिग्रने र नयाँ बन्नेबीचको अवधिमा त फेरि त्यही सास्ती भोग्नैपर्ने हुन्छ । नत्र किन थापाथली चोकमा केही वर्षअघि मात्र जापानको सहयोगमा बनेको आधुनिक ट्राफिक बत्ती अहिले काममा आएन ?

अन्त्यमा, काठमाडौं उपत्यकाको ट्राफिक थाम्न नसक्ने भइसक्यो । सवारी र पैदलयात्रु दुवै मारमा छन् । संघीयता कार्यान्वयन भएर प्रदेश बनेपछि काठमाडौं उपत्यकाले दुईतीन वर्षभित्र जनसंख्या र सवारीसाधनको चापमा केही राहत पाउन सक्ने अवस्थाबाहेक अरू खासै देखिन्न । सुनेको थिएँ, थाइल्यान्डको राजधानी बैंककमा राजा भूमिबोलले ट्राफिक बत्तीको सट्टा बाटो काट्न सबैलाई पायक पर्ने गरी सहरैभरि ठाउँठाउँमा आकासे पुल बनाउन लगाए ।

त्यतिमात्रै होइन, बैंककमा त धेरै फ्लाइओभरहरू पनि बनेका छन् । हामीकहाँ पनि विस्तारै बन्ला, मेट्रो रेल पनि आउला । आकासे पुल त केही ठाउँमा छन् पनि । केही बन्ने तर्खरमा पनि छन् भन्ने सुनिन्छ । साथसाथै अशक्त र अपांगमैत्री-आकासे पुल (लिफ्ट भएको) पनि बन्ला । अविलम्ब हुनुपर्नेचाहिँ मुख्यमुख्य जेब्राक्रसमा ट्राफिक बत्तीको भरपर्दो व्यवस्था र बत्ती नभएको ठाउँमा ट्राफिक प्रहरी वा स्वयंसेवीको व्यवस्था हुन् ।

भलै सबै जेब्राक्रसमा पहरा दिन सम्भव नहोला, तर ट्राफिक बत्ती नभएका जेब्राक्रसमा बाटो काट्ने मान्छे छ भने सवारी अनिवार्य रोक्नुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्छ । सवारी चलाउनेहरूलाई जेब्राक्रसमा अभ्यस्त गराउन पहरालगायत केही न केही वैकल्पिक व्यवस्था गर्नैपर्ने हुन्छ ।

पैदलयात्रुले पनि जेब्राक्रसबाट मात्रै बाटो काट्नुपर्ने र आकासे पुल भएको ठाउँमा अन्यत्रबाट बाटो काट्न नपाइने (असक्तलाई बाहेक) तर्फ पनि कडाइ गर्नुपर्छ । यसको लागि ट्राफिक नियमसम्बन्धी जागरण अभियान निरन्तर चलाइरहनुपर्छ । साथै निश्चित दूरी र स्थानमा जेब्राक्रस (राजमार्गमा भएका बजार र बस्ती क्षेत्रमा समेत) को व्यवस्था अनिवार्य हुनुपर्छ र तिनलाई समयसमयमा लिपपोत गरेर दुरुस्त राख्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.