ट्रम्प ‘एक चीन’ नीतिको पक्षमा
वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोनवार्तामा दशकौं पुरानो ‘एक चीन’ नीतिको सम्मान गर्ने बताएका छन् ।ट्रम्प र सीबीच वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस्तो जानकारी दिएको हो ।
विभिन्न पक्षमा दुई नेताबीच छलफल भएको र सीको अनुरोधपछि ट्रम्प ‘एक चीन’को सम्मान गर्न सहमत भएको बताइएको छ । उनीहरूबीचको वार्ता निकै सौहार्दपूर्ण भएको र आपसी भ्रमणको निमन्त्रणा गरिएको ह्वाइट हाउसले जनाएको छ ।ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले सञ्चारकर्मीसँग भने, ‘चीनसँगको सम्बन्ध हाम्रा लागि निकै महत्वपूर्ण छ । हाम्रा राष्ट्रपतिले यो कुरा बुझ्नु भएको छ । चीनको बजारसम्म पुग्ने अमेरिकी कम्पनीको चाहना र हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएका हितका बारेमा पनि उहाँ जानकार हुनुहुन्छ ।’ ट्रम्पले चीनसँग फलदायी र सकारात्मक सम्बन्ध चाहेको स्पाइसरले स्पष्ट पारे ।
विगतमा ट्रम्पले अमेरिकी व्यापारलाई फाइदा नहुने भए ‘एक चीन’ नीतिको पालना नगर्ने चेतावनी दिएका थिए । यसका साथै ताइवानी राष्ट्रपतिसँग उनले फोनवार्ता गरेका थिए । यसबाट चीन आक्रोशित भएको थियो ।ट्रम्पले चीनमाथि कैयौपटक अनुचित व्यापारिक कार्य, मुद्रको अवमूल्यन गरेर व्यापार प्रभावित बनाएको र दक्षिण चीन सागरमा सेना तैनाथ गरेको आरोप लगाएको थियो ।
यसै विषयलाई लिएर चिनियाँ सञ्चारमाध्यमले ट्रम्पले कूटनीति सिक्दै गरेको उल्लेख गरेका छन् । अब उनले चीनसँगको सम्बन्धलाई अप्ठेरो पार्न नखोजेको बताएका छन् । चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ले ट्रम्पको पछिल्लो कदम उचित भएको दाबी गरेको छ । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका उपाध्यक्ष रआन झोङझेले ‘एक चीन’ नीतिप्रति प्रतिबद्धता व्यक्त गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले द्विपक्षीय सम्बन्धमा देखापरेको अवरोध हटाएको जानकारी दिए ।
जापानसँगको सम्बन्धमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्बन्धलाई थप घनिष्ट बनाउने बताएका छन् ।
ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता जनाएका छन् । अमेरिका र जापानबीचको सम्बन्ध एसिया प्रशान्त क्षेत्रका शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताएका थिए । भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए । दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए । भेटवार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रूपमा द्विपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए । वकिनावा टापुसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेना तैनाथ छ ।