पोखरा अडिसन उत्साहजनक
पोखराः एपीवान टेलिभिजनमा प्रसारण हुने सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिता ‘नेपाल आइडल’को पोखरा अडिसन शनिबार सुरु भएको छ । पोखरा अडिसनमा उत्साहजनक सहभागिता रहेको छ ।
दुई दिनसम्म चल्ने अडिसन गैह्रापाटनस्थित नवीन उच्च माविमा भइरहेको छ । प्रतियोगीले नयाँ-पुराना दुवैखाले गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपालभित्र बोलिने जुनसुकै भाषाका गीत गाउन पाइने व्यवस्था छ ।
पोखरामा आसपासका जिल्ला स्याङ्जा, तनहुँ, लमजुङ, बागलुङ, म्याग्दी, पर्वत, गोरखा लगायतका जिल्लाबाट सहभागीहरू आएका छन् ।
नेपाल आइडल प्रतियोगितामा नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले भाग लिन पाउँछन् । पोखराअघि नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्जमा नेपाल आइडलको अडिसन भइसकेको छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् ।