आक्रोश, आँसु र इतिहास

 आक्रोश, आँसु र इतिहास

ताङ वंशका राजाहरूले तीन सय वर्षभन्दा लामो शासनकालमा चीनको उत्थानमा अनुपम योगदान गरे । गन पाउडर र कागजको आविष्कार त्यही कालखण्डमा भयो । युरोपभन्दा चीनको अर्थव्यवस्था सुदृढ थियो । सन् ९०७ सम्ममा चीनको प्रसिद्धि देशदेशान्तरसम्म फैलिएको थियो तर प्रगति र सभ्यताको जरो आवाजविहीन जनताको घरघरसम्म फैलिन सकेन । फलतः सम्भ्रान्त वर्ग (फ्युडल) मात्र शासकहरूका प्रिय भए । त्यहाँबाटै फैलियो आक्रोश अनि गरिबका आँसुको भेलमा बग्न थाल्यो इतिहास ।

गैरमुसलमानले जिज्या (जजिया) नामको कर तिर्नैपर्ने बाध्यात्मक व्यवस्था गरिएका कारण चौधौ र पन्ध्रौं शताब्दीपछि भारतमा हजारौं ब्राह्मणले समेत मुसलमान धर्म स्वीकार गरेको पाइन्छ । कास्मिर (खस्मिर) क्षेत्रका कतिपय मुसलमान भन्छन्, ‘हाम्रा बाजे, बराजु खस-बाहुन थिए । गरिबी र अभावसँग संघर्ष गर्न नसकेर राज्यको सुविधा पाउन मुसलमान भए ।' त्यो आक्रोश सुषुप्त ज्वालामुखी झैं मनभित्रै थियो तर लाभा बन्न सकेन । केवल आँसु बनेर छचल्कियो ।

आठौं शताब्दीमा शंकराचार्यले शिव (शंकर) सर्वोच्च हुन् भन्ने मतको प्रचार गरे भने दक्षिण भारतका रामानुजले ल्याए वैष्णव मत । दक्षिण भारतकै रामानन्दले चौधौं शताब्दीमा जातपातलाई चुनौती दिँदै हिन्दु (सनातन) समुदायलाई विचलित हुन नदिने प्रण गरे । तर आँसुले इतिहास बगाउँछ भन्ने तत्कालीन मठाधीशहरूले आत्मसात गर्न सकेनन् ।

कथित ठूलो र सानो जातको छिद्रबाट प्रवेश गरेर अंग्रेज र फ्रेन्चहरूले दक्षिण भारतमा धर्मको इतिहास नै तहसनहस पारे । महाराष्ट्र दक्षिणको तटीय क्षेत्र गोवा प्रायःद्वीपमा पोर्चुगिजहरूले जरा गाडे । पोन्डिचेरीदेखि मद्रास, बंगलोरदेखि त्रिवेन्द्रम् (तिरुवती अनन्तपुरम्) र उत्तरपूर्वी भारतका नागाल्यान्ड, मणिपुर, दार्जिलिङलगायतका भूभागमा फैलिँदै गयो क्रिस्चियन धर्म । त्यही बेला नेपालमा फैलिए फिरंगीहरू ।

कविर मुसलमान थिए । रामानन्दको जातिभेदविरोधी आन्दोलनले उनलाई उत्प्रेरणा मिल्यो । कविरको दर्शनले लाखौं जनताको मनोविज्ञानमै परिवर्तन आयो । उनी हिन्दुका गुरु बने । पन्जाबका गुरु नानक, बंगालका चैतन्य, रामकृष्ण र विवेकानन्द तथा गुजरातका प्राणनाथ (मिहिराज ठाकुर) भारतीय प्राचीन धर्म र संस्कृतिको संरक्षण गने किल्ला बनेर उभिए ।

सन् १३६९ देखि १६४४ सम्म मिङ राजवंशले चीनको उत्थानमा गरेको योगदान होस् वा जापानमा सामुराई र सोगुनको अमूल्य देन, ती इतिहासमा गर्वोन्मत्त बनेर उभिएका छन् । सन् १८५३ मा अमेरिकी आग्रह स्वीकार गरेर जापानमा सोगुन शासकले २१३ वर्षपछि दुईवटा बन्दरगाह खुला गरिदिए । हल्यान्ड, रसिया र ब्रिटेनले अमेरिकी शैलीको आर्थिक कूटनीति अपनाएर जापानसँग मित्रता गरे । यसले गर्दा जापान र पश्चिमी राष्ट्रहरूका बीचमा मनको दूरी घट्दै गयो ।

दरिद्र जापानीले पनि आफ्ना उत्पादन बेचेर विदेशीबाट आर्थिक फाइदा लिन थाले । आँसु र आक्रोश रोक्ने यो एउटा राम्रो उपाय थियो ।जनताको आँसुले एसिया र अफ्रिकाका धेरै राष्ट्रमा साम्राज्यवाद र उपनिवेशवादको पर्खाल ढालेको इतिहास छ । कैयन् राष्ट्रमा राजमुकुट बगाइदिएको छ । उथलपुथल गराउँछ आँसुले । गजबको रसायन (केमिकल) हुँदोरहेछ जनताका आँसुमा । जब लाखौं जनताको आँसु बग्न थाल्छ, तब इतिहास नै बदलिन्छ ।

नेपालमा आँसु र आक्रोशले इतिहासकै दुर्दान्त, दुर्दमनीय र दुरुह अवस्था आउने प्रबल सम्भावना बढ्दै गएको छ । वैभवशालीहरूलाई ‘म मर्दिनँ' भन्ने घमण्ड हुन्छ र सत्तामा बस्नेहरूलाई ‘म तल झर्दिनँ' भन्ने अभिमानले उन्मत्त बनाउँछ । त्यो भ्रम हो । एउटा समय आएपछि युगले कोल्टे फेर्छ । कवि गोपालप्रसाद रिमालले लेखेका छन्, ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ ।'

प्राज्ञिक, बौद्धिक र चेतनशील समुदायभन्दा राजनीतिमा प्रवञ्चक तथा सिद्धान्तहीन अवसरवादीहरू अत्यधिक ‘सफल' ठहरिने गरेको पाइन्छ । यही कारणले विश्वबाटै परित्यक्त भएका विचारले नेपाली माटोमा आज जरा गाडिरहेको अवस्था छ । आँसु र आक्रोशलाई व्यक्तिगत मनोभाव मान्ने प्रवृत्तिले गर्दा जनतामा व्याप्त वितृष्णा, घृणा, आवेग, असन्तुष्टि र पीडा अझै चट्टान बन्न सकेको छैन । तर विगत केही वर्षमा देखिएको परिवर्तनले युवा वर्ग वस्तुपरक बन्दै गएको देखिन्छ । दलहरूले राष्ट्रियतालाई कमजोर बनाएको सबैले स्वीकार गर्न थालेका छन् । गणतन्त्रले जनतालाई निराश बनाइसकेको छ ।

प्रसिद्ध ब्रिटिस संविधानविद् सर आइभरजेनिङले भनेका छन्, ‘दलहरूले संसद्लाई मात्र खण्डखण्ड (पार्टपार्ट) गर्दैनन्, राष्ट्रलाई नै विभिन्न शत्रुवत् खेमामा खण्डित गर्छन् ।' प्रजातन्त्रको मातातीर्थ मानिने ब्रिटेनका विद्वान्ले राजनीतिक दलहरूको महात्म्य नबुझेर त्यस्तो विचार व्यक्त गरेका होइनन् । दलहरूले राष्ट्रको एकता, स्वतन्त्रता र अखण्डतामै आच पुर्‍याउन सक्छन् भन्ने उनको चेतावनी धेरै राष्ट्रमा सत्य सावित भएको पाइन्छ । दलहरूको अपरिपक्व, अविवेकी उत्तेजनापूर्ण र अदूरदर्शी व्यवहारका कारण आज नेपाली जनतामा बढेको निराशा, द्रोहभाव, ज्वाला, आक्रोश आँसु बनेर मात्र निःसृत हुँदैन, दावानल बन्न सक्छ । त्यसले इतिहास नै बदल्न सक्छ ।

राष्ट्रियता बिर्सिंदै गएका दलहरूले जनतासँग आज पनि छल गरिरहेका छन् । प्रधानमन्त्री भएका व्यक्ति पनि योग्यता र पारिवारिक लगतको प्रमाणपत्र लिन दिल्ली जाने गरेका छन् । विवाहको सोह्र दिन नपुग्दै राम्रो साइत हेरेर बधूलाई माइत पठाउने चलन छ, नेपालका ब्राह्मण र क्षेत्री समुदायमा । यसलाई द्विरागमन वा दुलही फर्काउने भनिन्छ । पालुंगो, जोर कतारा दही, पान, मिठाई आदि लिएर ब्राह्मणका साथ वधूलाई लिन वरका दिदीबहिनी जान्छन् ।

उनीहरूलाई स्वागत सत्कार गरेर कन्याका मातापिताले छोरी पठाउँछन् । त्यसपछि मात्र विवाहको विधि पूर्ण हुन्छ । राष्ट्राध्यक्षसँग शपथ ग्रहण गरेर दिल्ली गएपछि मात्र नेपालका प्रधानमन्त्रीको पद सुनिश्चित हुने चलन २०४७ सालपछि चल्यो । पच्चीस वर्षपछि पच्चीसौं प्रधानमन्त्री बनेका ‘महान् क्रान्तिकारी' नेता पनि दिल्लीले दुलही फर्काइदिएपछि ढुक्क बने ।

त्यसैले दक्षिणमुखी र दक्षिणामुखी बन्नु नेपालका राजनीतिज्ञहरूको ‘बायोलोजिकल' बाध्यता हो । वास्तुविद्हरू पनि दक्षिण मोहडाकै घर सिफारिस गर्छन् । पानी मात्र होइन, राजनीति पनि दक्षिणतिर बग्छ नेपालमा । चीनले ब्रह्मपुत्रको पानी छेके झैं दक्षिणमुखी राजनीति रोक्न खोजेको देखिन्छ तर बहुआयामिक खेलमा हरेक घुम्तीहरू खतरनाक छन् ।

कलेज र विश्वविद्यालय पढिरहेका युवा सामाजिक सञ्जालहरूमा हरेक क्षेत्रमा बेथिति छ भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । किसानले समयमा मल-बीउ पाउँदैनन् । बिरामीले समयमा उपचार पाउँदैनन् । सहरमै प्रत्येक दिन लाखौं मानिस सार्वजनिक यातायातका साधनमा कोचाकोच गरेर यात्रा गर्छन् । यो सर्वसाधारणको बाध्यता हो । शिक्षा, स्वास्थ्य, यातायात आदि मात्र होइन, न्याय र प्रशासनिक सेवा प्राप्त गर्न पनि पाइला-पाइलामा घूस खुवाउनुपर्छ । सुविधाभोगीहरू यसैलाई लोकतन्त्र (डेमोक्रेसी) भनिरहेका छन् । त्यसो हो भने यस्तो निर्मम, क्रूर, विवेकहीन र जनतामारा पद्धति कहिलेसम्म जोगाइरहने ? कहिलेसम्म राष्ट्रलाई लज्जित, अपमानित, दमित, अवहेलित र प्रताडित अवस्थामा राखिरहने ? जनताले अझ पनि कति वर्ष कष्ट भोगिरहने ?

कहिलेसम्म विदेशीको थिचोमिचो सहने ? अंगीकृत दलका अंगीकृत एजेन्डामार्फत राष्ट्रको अस्तित्व नै अंगीकृत र अस्वीकृत गराउने खेल कहिलेसम्म चल्न दिने ? कहिलेसम्म आक्रोश र आँसु बोकेर इतिहासको अपमान हेरिरहने ? कहिलेसम्म युवा वर्गले सिरकभित्र गुँडुल्किएर सामाजिक सञ्जालमा रोइरहने ? सडकमा भेला भएर लाखौं युवाले विद्रोह गर्दा तीनचार हप्तामै राष्ट्रघातीहरूको भागाभाग हुन्छ तर दलका मादल बजाएर कहिलेसम्म नाचिरहने ? के मातृभूमिमाथि बलात्कार हुँदा त्यसको प्रतिकार गर्न ‘माथिको आदेश' चाहिन्छ ? लेन्डुपतन्त्रमा कसले दिन्छ आदेश ? राष्ट्र ढल्न र जल्न लाग्दा पनि बोल्दैनौं भने हामी जिउँदो लास नै हौं । सास छउन्जेल सत्ता, सम्पत्ति र व्यक्तिगत सुखनिम्ति मात्र लम्पसार पर्ने प्रवृत्तिले हामीलाई जिउँदो लास बनाइदिएको छ ।

०६२/६३ सालको १९ दिने आन्दोलनमा पत्रकारहरू सडकमा आए । वकिल, डाक्टर, नर्स, इन्जिनियर आदि विदेशीले बेलेको ‘पापड' चपाउँदै आए । आज ती प्रायः सबै मौन छन् । सत्य बोल्ने साहस र नैतिकता गुमाएका छन् उनीहरूले । स्वतन्त्र र स्वचालित भइदिएको भए आज पनि उनीहरूले राष्ट्र र जनताका पक्षमा आवाज बुलन्द गर्न सक्थे । उनीहरू पराधीन, परतन्त्र वा परावलम्बी बनिसकेका छन् । मालिकले क्रान्ति गर्ने आदेश नदिँदा ती भ्रान्तिमै रमाएका छन् । हिजो दलीय अधिकारको लागि सडकमा उफ्रिनेहरू आज राष्ट्र नै संकटमा छँदा पनि मौन छन् । यो के हो ?

सत्यवादीहरू कायर, अल्छी, नामर्द, हुतिहारा, पामर तथा भयाक्रान्त भए भने राष्ट्रघातीहरू प्रबल हुन्छन् । राष्ट्रको बागडोर हातमा लिएर सत्यलाई दबाउन खोज्छन् । स्याल, ब्वाँसा, चितुवा र हुँडारहरूले शासन गर्छन् । राष्ट्र र जनताको अपमान गर्छन् । नेपाली राजनीति त्यस्तै पीडाले थला परेको छ ।

इतिहास घटना-दुर्घटनाको नालीबेली मात्र होइन । इतिहास विजेताको विरुदावली मात्र होइन । इतिहास मुण्डमालाहरूको अभिलेख मात्र होइन । त्यसो भए इतिहास के हो त ? किन इतिहासलाई सभ्य मानिसहरू मात्र सम्मान गर्छन् ? पृथ्वीनारायण शाह जस्ता वीरहरूका सालिक भत्काउने जघन्य अपराधीहरू किन इतिहासको अपमान गर्छन् ? किनभने इतिहासले कृत्रिम, दुराचारी, अत्याचारी, पाखण्डी र पापीहरूको महिमा गाउँदैन ।

पाँच हजार वर्ष पुराना दस्ताबेज, अभिलेख तथा गाथाहरूमा नेपाल अमत्र्य राष्ट्रको रूपमा स्थापित रहेको पाइन्छ । मानिस दुब्लाउने वा मोटाउने भएझैं कुनै कालखण्डमा नेपाल काँगडादेखि कुतुपुर (आसाम) र दक्षिणमा प्रयाग (इलाहावाद) सम्म विस्तीर्ण थियो । आज राष्ट्रको अस्तित्वसँग खेलबाड गर्नेहरू नेपाली राजनीतिका खेलाडी बनेका छन् र हामी जनता दर्शक वा रमिते बनेका छौं । राष्ट्रवादी थोरै छन् र दलवादी धेरै छन् । यो कटु यथार्थ हो ।

सेन्ट हेलेना टापुमा कैदी भएका बेला नेपोलियन बोनापार्टले पुत्रलाई पत्र लेखे, ‘छोरा, मैले तरबार र बन्दुकले युरोपको ठूलो भूखण्डलाई काबुमा राखें । त्यो त्यस्तै युग थियो । तिम्रो युग तर्क, विवेक र विचारको युग हो । तसर्थ विचारमा परिवर्तन नल्याएसम्म वास्तविक परिवर्तन असम्भव छ ।'

नेपाली राजनीतिमा सत्ता परिवर्तन हुन्छ तर विचार जडवत् छ । माओ, लेनिन, स्टालिन र माक्र्सका विचारको ‘मार्केटिङ' गरिन्छ । नेताहरूको कुनै विचार, आदर्श र सिद्धान्त नै छैन । ०६२÷६३ सालको आन्दोलनमा राजा ज्ञानेन्द्र एक्लै हारे । निजगढको जंगलमा मध्यरातमा बस बिग्रियो भने यात्रीहरू फटाफट झर्छन् र अरू बसमा चढ्छन् । ड्राइभर त्यहीं बस्छ । उसका कन्डक्टर र खलासी मात्र बस्छन् । राजा ज्ञानेन्द्रको अवस्था त्यस्तै थियो ।

बस ब्रिग्रँदैछ वा डिजेल चुहिएर जाँदैछ भन्नेसम्म चाल नपाउने खलासीहरू थिए । राजाले संरक्षण गरेका प्रायः सबै भागे । राजा मात्र परास्त हुने कस्तो युद्ध थियो त्यो ? उनले हुर्काएका, पालेका सैनिक अधिकारी, राजनीतिज्ञ, कूटनीतिज्ञ, पत्रकार, बुद्धिजीवी प्रायः सबै भागेर गणतन्त्रवादी भए । राष्ट्र हाँक्न बफादार दल मात्र पर्याप्त हुँदैन । प्रतिबद्ध, प्रबल, क्षमतावान् र समर्थ व्यक्तिहरू चाहिन्छ भन्ने यो एउटा उदाहरण हो । स्वार्थी, अवसरवादी, लोभी, चरित्रहीनहरूको बथानमा रमाउनुभन्दा एक्लै हिँड्नु राम्रो हुन्छ । लक्ष्यमा पुग्ने यो राम्रो उपाय हो ।

नोबेल पुरस्कार विजेता प्रसिद्ध बंगाली कवि रवीन्द्रनाथले लेखेका छन्, ‘यदि तिमीले बोलाउँदा कोही सुन्दैनन् भने पनि तिमी एक्लै हिँड एक्लै हिँड ।' उनको यो कविता वैदिक मन्त्र ‘चरैवेती चरैवेती' बाट अनुप्राणीत रहेको पाइन्छ । न रोकियोस, न थाकियोस् । सतत् चलिरहोस् यात्रा । यही हो हाम्रो पुर्खाको मन्त्र ।

हो, राष्ट्रवादका पक्षमा संघर्ष गर्नेहरू थाकेका छैनन् । थाक्नु हुँदैन । सत्यवादीहरू कायर, अल्छी, नामर्द, हुतिहारा, पामर तथा भयाक्रान्त भए भने राष्ट्रघातीहरू प्रबल हुन्छन् । राष्ट्रको बागडोर हातमा लिएर सत्यलाई दबाउन खोज्छन् । स्याल, ब्वाँसा, चितुवा र हुँडारहरूले शासन गर्छन् । राष्ट्र र जनताको अपमान गर्छन् । नेपाली राजनीति त्यस्तै पीडाले थला परेको छ ।

‘एसियाज् न्यु ब्याटलफिल्डः यूएस, चाइना एन्ड द स्ट्रगल फर द वेस्टर्न प्यासिफिक' लगायतका पुस्तकमा चीन प्रमुख सैनिक र आर्थिक शक्ति हुँदै गएकाले चीन र भारतलगायतका क्षेत्र प्रभावित हुने विश्लेषण गरिएको छ । नेपाल भूराजनीतिक कारणले पनि धेरै प्रश्नचिन्हको घेरामा पर्दै जाने अवस्था देखिन्छ । राष्ट्रको स्वतन्त्रता बचाउँदै राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने काम असफलसिद्ध भइसकेका नेताहरूबाट सम्भव देखिँदैन । तसर्थ पचास वर्षपछिसम्मको भविष्य हेरेर अघि बढ्नुपर्ने बेला छ । तर हामी त्यसबेलासम्म राष्ट्र जोगाउन सक्छौं त ? यो प्रश्नको उत्तर कसैसँग छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.