जीवितै हिंसा प्रथा

 जीवितै हिंसा प्रथा

नेपालमा स्थानीय स्तरमा नै महिला वर्ग बढी हिंसामा परेका छन् । विशेषगरी दाइजो, बोक्सीप्रथा, बलात्कार आदिको बहानामा महिलामाथि दैनिक हिंसा र उत्पीडन भइरहेका छन् । काभ्रे जिल्लाको सानो बाङथली- ७ बस्ने ३२ वर्षीया लक्ष्मी परियारलाई बोक्सीको नाममा दिशापिसाब खुवाइयो, खम्बामा बाँधेर पिटियो ।

पिटाइको कारणले उनको मृत्यु भयो । एक महिनाअघि मात्रै पश्चिम नेपालमा दुई महिलाले छाउपडी गोठमा ज्यान गुमाए । त्यस्तै फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको गत जेठ १२ गते राति आफ्नै घरमा रहस्यमय मृत्यु भयो । यसरी एकपछि अर्को गर्दै महिला हिंसा किन भइरहेको छ ?

नयाँभन्दा पुरानो राज्य व्यवस्थामा महिला हिंसा बढी हुने गरेको भेटिन्छ । इतिहासदेखि नै हुँदै आएको महिला हिंसा आज जटिल र चुनौतीपूर्ण बन्न पुगेको छ । कानुनी राज्यव्यवस्था, धर्म, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज, चलन पनि हिंसाका कारण हुन पुगेका छन् । कानुनी राज्य व्यवस्था प्रभावकारी नहुँदा समाजमा राम्रो कुरा अंगीकार गर्ने र नराम्रो कुरा छोड्दै जाने परम्परा बस्न सकेन ।

राज्यले विकास कार्यक्रम वा योजना लागू गरेर मात्र विकासका कार्य अगाडि बढाउन सक्छ । त्यस्तै महिला हिंसा रोक्न कानुन बनाएर प्रभावकारी कार्यान्ययनमा जोड दिनुपर्छ । तर राज्यमा यो अवस्था कहिल्यै रहेन । पुराना परिपाटी र चालचलनले पनि महिलामाथि अन्याय, अत्याचार, शोषण, दमन, लैंगिक विभेद हुँदै आएको छ । उतिबेला महिलाले चाहेर पनि आफूमाथिको हिंसा रोक्न सक्दैनथे । उनीहरूको आवाज सुन्ने निकाय कहींकतै हुँदैनथ्यो अहिलेजस्तो ।

पुरुष जातिबाट मन लागेजति हिंसा हुन्थ्यो । सतीप्रथा, विधुवाप्रथा, वादीप्रथा, झुमाप्रथा, छाउपडीप्रथा, देउकीप्रथा, दाइजोप्रथा, बोक्सीप्रथा, बालविवाह, बहुविवाह, अनमेल विवाह महिला हिंसाका कारक हुन् । आज पनि परम्परागत रूपमा धेरथोर महिला हिंसा हुँदैछ ।नेपालमा सतीप्रथाको उदाहरण बनेको छ राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजराजेश्वरी खण्डकाव्य । यस खण्डकाव्यकी नायिका राजेश्वरी राजा रणबहादुर शाहकी जेठी पत्नी हुन् ।

राजराजेश्वरी २५ वर्षको उमेरमा सती गएकी थिइन् । उनी हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी थिइन् । भारदारहरूले झुक्याएर ‘राजाले बोलाएका छन्, जानुपर्‍यो' भनेर झुक्याएर राजराजेश्वरीलाई काठमाडौं ल्याएका थिए । उनले म मर्न चाहन्न, मलाई हेलम्बुमै निर्वासित जीवन बिताउन देऊ भनेर अनुनयविनय गरेकी थिइन् तर उनको अनुनयविनयको सुनुवाइ भएन अन्ततः उनलाई बाध्य पारेर चितामा जलाएर मारियो ।विधवा प्रथा पनि महिला हिंसाको दोस्रो रूप हो ।

कतिपय ठाउँमा अझ पनि यो प्रथा कायमै छ । मरेका पतिका नाममा सेतो कपडा लगाएर जीवन बिताउनुपर्ने बाध्यता महिलाले भोग्दै आएका छन् । विवाह गरेको भोलिपल्ट पतिको मृत्यु भयो भने जीवनभर विधवा भएर बस्नुपर्ने किन ? पत्नी मरिन् भने पतिले विवाह गर्न पाउने तर पत्नीले नपाउने हाम्रो समाजको यो परम्परा महिला हिंसाको अर्को रूप हो ।बादीप्रथा पनि महिला हिंसाको अर्को रूप हो ।

यो पनि पहिल्यैदेखि चल्दै आएको पाइन्छ । पहिलेको राज्यसता सञ्चालन गर्नेहरूले केही महिलालाई आफ्नो मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्दै गए । युवतीलाई नर्तकी बनाउने, सम्भोग गर्ने अनि ती महिलाबाट जन्मिएका बच्चालाई पछि आधिकारिक अधिकार नदिने, बाबुको पहिचान नखुलाउने र बादी बनाउने सामन्ती परिपाटीले पनि महिला हिंसा बढेको थियो । ती बादी समुदाय अधिकारविहीन भए नै, घरजग्गा, जमिन, नागरिकता, शिक्षा, स्वास्थ्य, रोजगारको पहुँचबाट पनि टाढा रहन पुगे । नयाँ संविधानमा सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरिए पनि ती समुदाय धेरै पछि परेका छन् ।

समाजमा पिछडिएका, उत्पीडित, महिला, दलित, बादी सबैलाई समान अधिकार दिने उद्देश्य राखेर मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भए, तर परिवर्तनपछि पुराना मूल्य र मान्यता नहट्दा महिला हिंसा पनि ज्यूँका त्यूँ रहे ।

छाउपडी पश्चिमी क्षेत्रमा प्रचलित प्रथा हो । यो प्रथा अहिले पनि निरन्तर चलिरहेको छ । महिला जब रजोस्वला हुन्छिन्, जब सुत्केरी हुन्छिन्, त्यसबेला ती महिलालाई घर भित्र बस्न दिइँदैन । तिनको लागि घरबाहिर सानो झुप्रो बनाइएको हुन्छ, जहाँ टाउँको निहुराएर बस्नुपर्ने हुन्छ । यस्ता झुप्रोमा महिलालाई जोखिम र असुक्षा दुवै हुन्छ । कतिपय महिला सर्पले टोकेर मर्छन् । बलात्कार भएर मरेका छन् ।

दाइजोप्रथा मुलुकको सबै भागमा छ । विशेष गरेर तराई क्षेत्रमा बढी प्रचलित छ । दाइजो प्रथाको कारणले धेरै महिलाले ज्यान गुमाउनुपरेको छ । दाइजो नल्याएकै कारण महिला घरबाट निकालिएका छन्, मटीतेल, पेट्रोल छर्केर जलाइएका छन् । माइतीमा फर्किएका छन् । तराई क्षेत्रमा दाइजो प्रथाले महिला जन्मिनु अभिशापबराबर हुन पुगेको छ ।

बालविवाह पनि हिंसाको अर्को कारण हो । अहिले पनि हाम्रो समाजमा बालविवाह हुने गरेको छ । सामाजिक प्रचलन जोगाउने नाममा बालिकाको विवाह गर्ने गर्दा उनीहरूले बलात्कृत भएर अकालमा मृत्युवरण गर्नुपरेको छ । बाल्यकाल कलियो अवस्था हो । यसबेला बालिकामा भविष्यको निर्णय लिने क्षमताको विकास भएको हुँदैन र शारीरिक रूप पनि विकसित भइसकेको हुँदैन । कलिलै उमेरमै बच्चा जन्माउँछन्, बच्चा जन्मिसकेपछि आमा र बच्चाको राम्रो हेरचाह हुन सक्दैन ।

समाजमा पिछडिएका, उत्पीडित, महिला, दलित, बादी सबैलाई समान अधिकार दिने उद्देश्य राखेर मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भएका छन् । बासट्ठी/त्रिसट्ठीको जनआन्दोलनले यी समुदायलाई अधिकार दिनुपर्छ भनेर आवाज उठे । धेरेथोरले अधिकार त पाए, तर सामन्ती राज्यसत्ताका बेलामा स्थापित पुराना मूल्य र मान्यता समाजबाट हट्न नसक्दा महिला हिंसा पनि ज्यूँका त्यूँ छन् ।

राज्यले यसमा चासो देखाए पनि कानुन बनाएर कार्यान्वयन गर्ने पक्षमा उदासीनता देखाइरह्यो । गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि महिला हकअधिकार ओझेलमा परे । तसर्थ महिलामाथि हुने सबैखाले हिंसा, लैंगिक विभेद, अन्याय, अत्याचार, दमन, शोषण हटेर जानुपर्छ । महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ । महिलाले पनि आफ्नो अधिकारको लागि आवाज बुलन्द गर्नुपर्छ । समाजमा महिला र पुरुष बराबर हुन् भन्ने मान्यता स्थापित गर्दै लैजाने सके मात्र महिला हिंसा पनि किनारा लाग्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.