दलीय घेराबाट निस्क

दलीय घेराबाट निस्क

परिवार, समाज, सरकार वा राज्यलाई अगुवाइ गर्न, डोर्‍याउन र लक्ष्यमा पुर्‍याउन एउटा व्यक्ति अगुवाको भूमिकामा अग्रसर हुन्छ । त्यही अगुवाइ गर्ने व्यक्ति नेताको रूपमा परिभाषित हुन्छ । नेता बन्न चरित्र र क्षमतामा विकास हुने विशिष्ट गुणले सघाइरहेका हुन्छन् ।

ती विशिष्ट गुण बोली, व्यवहार, काम र नतिजामा प्रतिविम्बित भइरहेका हुन्छन् । नेताको उदय जनताका बीचबाट हुने गर्छ । जसरी दूधबाट क्रिम बन्छ, त्यसरी नै जनताबाट नेताको विकास हुन्छ । सबै दूध क्रिम हुँदैन, क्रिम नभएको दूध हुँदैन । एवं प्रकारले सबै जनता नेता हुन सक्दैनन्, नेताबिनाको जनता हुँदैनन् ।

नेताको उदयका क्रममा विकसित हुँदै जाने चरित्रले चिनारी फैलिँदै जान्छ र क्षमताले स्थापित गराउँदै लैजान्छ । इमानदारी, सदाचारिता र परिपक्वता चरित्र प्रधान गुण नेता बन्नको लागि जग हुन् । ज्ञान, सीप, साहस र सकारात्मक सोचले क्षमतालाई सशक्त, सबल र सुदृढ बनाउँछन् । दूरदर्शिता, वाक्पटुता र विचारमा स्पष्टताले व्यक्तिलाई नेताको रूपमा उभ्याउँदै लैजान्छन् । विचार-विश्वास-विकासको मार्गचित्रले जनता आकर्षित गर्न, आबद्ध गर्न र प्रतिबद्ध बनाउन रसायनको काम गर्छ ।

नेताहरू मूलतः राजनीतिक दलमा हुर्कंदै, बढ्दै र स्थापित हुँदै आफ्नो पहिचान बनाएको पाइन्छ । त्यसैले नेता वा नेतृत्व भन्नासाथ राजनीतिसँग जोडिएर अर्थ बुझ्ने, व्यक्तित्वप्रति धारणा बनाउने र क्रियाकलापप्रतिको आकर्षण निर्धारण गर्ने आम चरित्र समाजमा यत्र-तत्र-सर्वत्र व्याप्त भएको पाइन्छ ।

नेपालमा नेताको उदय राजतन्त्र र लोकतन्त्रबीचको प्रतिस्पर्धामा प्रस्फुटन हुँदै सुषुप्त र जागृत दुवै तरिकाबाट विकास हुने गरेको पाइन्छ । राजतन्त्र रहँदा, लोकतन्त्रको बहाली र गणतन्त्र हुँदासम्म जनताको बीचबाट उदाएका नेताहरू जनताका मत, साथ र मायालाई नै सर्वोपरि ठानेर नेतृत्व गरिरहेको दाबी हुने गरेको पाइन्छ । जनताका बीचबाट उदय भएका नेताहरू विश्वव्यापी राजनीतिक दर्शनबाट साक्षर भएर आफ्नो सिर्जनशीलता, शैली र साहसका माध्यमबाट नेपाली समाजमा उदाएको पाइन्छ ।

नेपाली समाजमा राज्यसत्ताको प्राप्ति र त्यहींबाट नेपाली जनताको हित, उन्नति र प्रगतिको सम्बोधन हुने विश्वास राखेर राजनीतिक प्रणालीको खाका कोर्दै नेतृत्व विकास भइरहेको देखिन्छ । नेपालका नेताहरूले राजनीतिक दलमा विकसित हुँदै स्थापित हुँदा आफ्नो चिनारी, चरित्र र चिन्तनलाई चुचुरोमा पुर्‍याउन सफल भएका छन् । दलभित्रका सिद्धान्त, विधि र प्रक्रियाले नेताको उदयलाई उजिल्याउने अवसर दिइरहेका छन् ।

जनताको साथ, सहयोग र समर्थनबाट सशक्त, साहसी र सफल हुँदै गएर शिखरमा पुगेका नेताहरूको नाम, संख्या र मर्यादास्तर उल्लेखनीय छ । त्यसैले नेताको उदयमा खडेरी, अनिकाल वा अभावको अवस्था नेपालले व्यहोर्नुपरेको छैन ।
नेपाली राजनीति अहिलेसम्म आइपुग्दा परीक्षण र प्रयोग अनेक प्रकारले भए पनि पर्दाको पटाक्षेप भने संसदीय प्रणालीमा समाहित भएरै आगामी यात्रामा अघि बढेको पाइन्छ । त्यसैले आवधिक निर्वाचनमा प्रतिस्पर्धा जनताको मतबाट विजय-सत्ता प्राप्तिको मार्गचित्रमा नेपाली राजनीति हिँडिरहेको छ ।

राजनीतिमा प्रतिस्पर्धाको अभ्यासबाट शक्ति प्राप्त गर्ने नेताले देश सम्हाल्ने प्रणाली नेपालमा स्थापित भएको छ । सार्वभौम जनता नै यथार्थमा नेतृत्वका ‘चुजर' हुने विश्वव्यापी मान्यताको जग नेपालमा बसेको छ । जनताले प्रत्येक पाँच-पाँच वर्षमा नेतालाई रोज्न पाउने अवसरको प्रत्याभूतिले नेपालमा नेताको उदय र योगदानलाई पारदर्शी र उत्तरदायी बन्न घच्घचाइरहने विश्वास पैदा भएको छ । सही नेतृत्व गर्नेको नवीकरण र नगर्नेको परिवर्तन गर्ने सुन्दर प्रणालीको अवलम्बनले नेपालको नेतृत्व विकासको मार्गचित्र स्पष्ट, उपयोगी र जनताको हितमा छ भन्न सकिन्छ ।

नेपालमा नेताहरूको योगदानलाई नियाल्दा आवरणमा अति सुन्दर तस्बिर देखिन्छ । नेपाल गणतन्त्र भएको छ । प्रत्येक नेपाली राष्ट्र प्रमुख बन्न सक्ने सम्भावना हरेक व्यक्तिमा रहेको छ । राजनीतिक विकासक्रममा नागरिकको सम्भावनालाई विस्तृत, व्यापक र विशाल बनाउने विधिलाई गणतन्त्रले मार्गप्रशस्त गरेको छ । यो श्रेष्ठता, उत्कृष्टता र व्यापकता हासिल हुनमा नेताहरूको योगदान विशिष्ट छ ।

यसरी आवरणमा देखिएको यो सुन्दर तस्बिरमा अन्तरंग नियाल्दै जाँदा भने नेताहरूको योगदानका अधुरा पक्षहरू प्रशस्त भेटिन्छन् । जस्तो- संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गबाट हिँडिरहेको नेपालमा एकात्मक शासन व्यवस्थाको लामो इतिहासबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गर्दा यसको ढाँचा, आयतन र अधिकारको निर्धारणमा अलमल, अन्योल र आशंका कायमै छ । नेताहरू आआफ्ना रोजाइलाई पस्केर त्यसैको पुष्टि गर्नमा तल्लीन छन् । विधि र प्रक्रियाबाट तथ्यमा आधारित भएर नेपाली जनताको सर्वोत्तम हितमा एकीकृत रूपमा हिँड्नुपर्नेमा विभाजित मत र मार्गचित्रबाट मुलुक गुज्रिरहेकाले समयको सदुपयोग हुन सकेको छैन ।

समयको बर्बादी पैसाको जस्तो रिन सापटीबाट पूर्ति गर्न नमिल्ने हुँदा नेपाली समाज दुनियाँको दौड र उपलब्धिबाट पछि पर्दैछ । त्यसैले मसिना कुराको योगदानमा नेपाली नेताहरूको चरित्र र क्षमता दुवै योग्यतामा जनताले प्रशंसा गरेको अवस्था छैन । बिग्रिसकेको अवस्था होइन, तर निकै विलम्ब भएको अवस्था हो । यही विन्दुबाट नेताहरू योगदानमा जुट्नुपर्छ ।

आफूलाई मन पर्ने ढाँचा, आकार र अधिकारको संघीयताको स्वरूपलाई सबैलाई मनपर्ने गरी निर्धारण गर्न नेताहरू लाग्नुपर्छ । हार्ड वर्किङ, टिम वर्किङ र नेटवर्किङबाट सबै कुरा सम्भव छ । नेताहरूको ट्यालेन्टबारे शंका छैन । टिममा रहेर टाइममा टास्क गर्न नेताबीचबाट महानेताको उदय हुन जरुरी छ । यो सम्भव छ ।

दलबाट जन्मेका, हुर्केका र बढेका नेताहरू दलको घेराबाट निस्केर सम्पूर्ण नेपाली जनताको मनमस्तिष्कमा प्रिय भएर रहन राष्ट्रिय जिम्मेवारी बोधका साथ लाग्नुपर्छ । तथ्य, तर्क, तस्बिर र तरिका मिलाउने हो भने नेपाली जनतालाई सम्झाउन, बुझाउन र समर्थन जुटाउन सकिन्छ । उदार मनका साथ आँटिलो भएर नेताहरूले आफ्ना योगदानलाई स्वर्णाक्षरले लिपिबद्ध गराउन अहिलेको अवसरलाई उपयोग गर्नुपर्छ ।

लोकतन्त्र र गणतन्त्रको सिद्धान्त, मूल्य र आदर्शका बारेमा नेपालका जनता सचेत छन् । परिआउँदा एकजुट हुँदै आएका छन् । यो एकता शक्ति युगौंयुगसम्म रहिरहनेछ । मौजुदा अवस्थामा नेताहरूको चिन्तलाई सूक्ष्म रूपले नियाल्दा उहाँहरू आफूलाई मनपर्ने कुरामा जिद्दि गरेको पाइन्छ । जनता लोकतन्त्र र विकास दुवैमा ‘चुजर' हुने अधिकार, क्षमता र शक्ति आफूमा रहेको महसुस गर्न चाहन्छन् ।

नेताहरूले जनतालाई ‘चुजर' बनाउने भनेको निर्वाचन प्रक्रियालाई यथासम्भव छिटो प्रारम्भ गर्नु हो । अहिले व्यक्तिगत तर्कले मुलुक हिँडाउने कोसिस भएको प्रतीत हुन्छ । सामूहिक समझदारी, सहकार्य र सहमतिले मुलुक गणतन्त्र स्थापनाको विन्दुमा आइपुगेको हो । अब संघीयताका मसिना विषयहरूलाई व्यवस्थापन गर्दै आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको यात्रामा अघि बढ्नुपर्छ ।

आफू मात्र होइन आफ्नो टिम, सम्पूर्ण संयन्त्र र सिंगो नेपाली समाजलाई उत्कृष्ट चरित्र निर्माण र क्षमता प्रदर्शनमा अगुवाइ गर्न नेताले सक्नुपर्छ ।

उपलब्धिको विवेचना गर्दा नेताहरूको योगदानले नै उपलब्धि हासिल गर्नमा सफलता मिल्ने हो । डइभरले गाडीलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी बहन गरेजस्तै सत्ताको जिम्मेवारी सम्हाल्ने नेताले राष्ट्रलाई लक्ष्यमा पुर्‍याउन लागिरहनुपर्छ । उपलब्धि थपिँदै जाने हो । उपलब्धिको पूर्ण विराम हुँदैन । हालसम्मको यात्रामा राजनीतिक रूपमा नेपालको उपलब्धि प्रशंसनीय छ । लोकतन्त्र-संघीयता-गणतन्त्रको मार्ग चित्रमा प्रत्येक नेपालीको सम्भावना भरपूर सदुपयोग हुने गरी हामीले रोजेको प्रणाली स्थापित भएको छ ।

अब आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको उपलब्धि हासिल गर्नमा नेपाली समाज आतुर छ । यसको अगुवाइ पनि राजनीतिक प्रक्रियाबाट सत्ता सम्हाल्ने नेताले नै गर्ने हो । चरित्रमा देखिने स्वार्थ र लोभले नेतृत्वको क्षमतामा खिया लगाउँछ, मक्काउँछ र बहकाउँछ । त्यसबाट जोगिएर नेतृत्वले आफ्नो सक्षमता प्रदर्शन गर्नुपर्दछ । आफू मात्र होइन आफ्नो टिम, सम्पूर्ण संयन्त्र र सिंगो नेपाली समाजलाई उत्कृष्ट चरित्र निर्माण र क्षमता प्रदर्शनमा अगुवाइ गर्न नेताले सक्नुपर्छ ।

दिनहुँ सम्प्रेषण हुने भ्रष्टाचारजन्य सूचनाले नेपाली मस्तिष्कलाई प्रदूषित बनाइरहेको छ । यसबाट अविश्वास, घुणा र विद्रोह मुखरित भइरहेको छ । यो अवस्थालाई नेताको चरित्रले मात्र सुधारको मार्ग सहज बनाउँछ । त्यसैले गफाडी भएर होइन, खेलाडी भएर नेताले सीप, साहस र सहृदयता प्रकट गर्नुपर्दछ ।

निष्कर्षमा नेताको उदय आशालाग्दो किसिमले हुने गरेको नेपाली जनताको अनुभव छ । नेताबाट भएका योगदानले राजनीतिक प्रणालीलाई जनता शक्तिशाली हुने अभ्यासमा सोझ्याउने सफलता हासिल भएको छ । आर्थिक र सामाजिक रूपले गुणस्तरीय जीवनयापन गर्दै नेपालको परिचय, प्रतिष्ठा र प्रख्यातिलाई विश्व मानचित्रमा चिनाउन योगदान र उपलब्धिका शृंखलाहरूमा इँटा थप्न सम्हाल्ने नेता र सघाउने जनताको हार्डवर्क, टिमवर्क र नेटवर्कको लामो यात्रा जारी रहनुपर्छ ।

यस राष्ट्र निर्माणको महायज्ञमा अगुवाइको भूमिकामा रहनुभएका सम्पूर्ण नेतागणले चिन्तनको साधनाबाट उपाय पहिल्याउँदै, प्रयोग गर्दै समीक्षा गर्दै, सञ्चालन गर्दै समृद्धिको यात्रालाई कुशलतापूर्वक अघि बढाउनुपर्दछ । मानवीय र प्राकृतिक रूपले सम्भावना प्रशस्त भएको हाम्रो देशमा सफलता अवश्य सम्भव छ । समृद्धि सुनिश्चित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.