उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सोलः उत्तर कोरियाले आइतबार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

प्रमुख मित्रराष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबे अमेरिका भ्रमणमा रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई शत प्रतिशत पूर्ण सहयोग गर्न आश्वस्त पार्ने प्रयास गरेलगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो । स्थानीय समयानुसार आइतबार बिहान ७ः५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङयाङको पश्चिमी प्रान्तमा अवस्थित बाङयोन सैनिक हवाइ अखडाबाट सुदूरपूर्व जापानी समुद्र (सी अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण भड्काउपूर्ण कार्य भएको बताएको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा बुझ्न यस्तो चालवाजी गरेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले भनेको छ, ‘आफ्नो परमाणु एवं क्षेप्यास्त्रको प्रभाव देखाएर संसारको ध्यान आफूतर्फ खिच्न उत्तर कोरियाले यस्तो काम गरेको हो ।'

वायुमण्डलमा पाँच सय किलोमिटर जति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन शृंखला वा मोडेलको थियो भन्ने तत्कालै खुल्न सकेको छैन । अहिलेसम्म उत्तर कोरियाले अन्तर-महाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र (इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल-आइसीबीएम)को सफल परीक्षण नगरेको हुँदा आइतबार परीक्षण गरेको आइसीबीएम नै हो कि भन्ने कसै कसैले अडकलबाजी गरेका छन् । गत वर्ष अक्टोबरमा पनि उत्तर कोरियाले यसै ठाउँबाट मध्यम दूरी क्षमताको मुसुदन क्षेप्यास्त्र दुईपल्ट परीक्षण गरेको थियो ।

यसै महिनाको सुरुमा अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले आफ्नो सोल भ्रमणका क्रममा क्षेप्यास्त्र परीक्षण गरे कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

अमेरिका जापानको साथः ट्रम्प

वेस्ट पाम बीचः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सहयोगी जापानलाई पूरै समर्थन दिने स्पष्ट पारेका छन् ।
अमेरिका भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण असह्य भएको बताएका छन् । ट्रम्पले आबेसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘म सबैलाई सम्झाउन चाहन्छु कि अमेरिका पूर्ण रूपमा जापानका पक्षमा छ । अमेरिका जापानको ठूलो सहयोगी हो ।'

ट्रम्प र आबेले यसअघि गल्फ खेलेका थिए । ह्वाइट हाउसले दुवै नेताबीच विभिन्न विषयमा सौहार्दपूर्ण वार्ता भएको र त्यसबाट ट्रम्प निकै उत्साहित भएको जानकारी दिएको छ ।

आबेले क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेपछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि उत्तर कोरियाको यो पहिलो क्षेप्यास्त्र प्रक्षेपण हो । आबेले उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव पूरै पालना गर्नुपर्ने माग गरेका छन् । अमेरिका र एशियाको सम्बन्ध चर्चा गरेपछि यस्तो जानकारी दिएका हुन् ।

बैठकका क्रममा ट्रम्पले अमेरिका सधैं जापानको साथमा रहने स्पष्ट पारेको पनि आबेले खुलासा गरेका छन् । यसअघि ट्रमले ‘अमेरिका फस्ट' भनेर नारा अघि सार्दै एसियाबाट आफू टाढा रहने संकेत गरेका थिए । यसैको फलस्वरूप आफूले राष्ट्रपतिको पदको शपथ लिएलगत्तै टीपीपी सम्झौताबाट बाहिर निस्केको घोषणा गरेका थिए ।

यसैगरी युरोपियन युनियन (ईयु) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयुका लागि अस्वीकार्य भएको जनाएको छ । उत्तर कोरियाले गरेका हतियार परीक्षण सुरक्षा परिषद्को हतियारसम्बन्धी संकल्प प्रस्तावको अर्को उल्लंकनको घटना भएको बताएको छ । ईयुको कूटनीतिक मामिला हेर्ने बाह्य गतिविधि सेवा (ईईएएस) का प्रवक्ताले हतियार परीक्षणको निन्दा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधिसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई पूर्णरूपमा त्याग्न र सुरक्षा परिषद्को कानुनअनुरूप अघि बढ्न आग्रह गरे ।

ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आफ्ना गतिविधिबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया बुझ्न छलफलमा सहभागी बन्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.