कलाकारको देश  जस्तो लाग्यो

कलाकारको देश  जस्तो लाग्यो

पोखराः आफ्नी भदै र छोरालाई लिएर शालु पौडेल आइतबार पोखराको नवीन स्कुल आइन् । उनीहरूले नेपाल आइडलमा भाग लिऊन् भन्ने शालुको चाहना थियो । देशका प्रमुख सहरमा भएको अडिसनपछि पोखरा आइपुगेका निर्णायकमध्येका कालीप्रसाद बाँस्कोटाले देखेका आकर्षणमध्ये यो पनि एक हो । ‘संगीतमा लाग्न परिवारले सघाउने भन्ने कल्पनै हुँदैनथ्यो', उनले अनुभव सुनाए, ‘यो पटक मैले बढी ख्याल गरेको कुरा त्यही हो कि आमाबाबु नै छोराछोरीलाई लिएर अडिसनमा आए ।'

नेपालगन्ज, विराटनगर, वीरगन्ज, चितवनमा त्यस्ता थुप्रै दृश्य देखेका बाँस्कोटाले नेपालमा पछिल्लो समय साँच्चिकै परिवर्तन आएको महसुस गरेका छन् । भन्छन्, ‘अब संगीत पनि करियर बन्न सक्छ भन्ने लाग्न थालेछ ।' डाक्टर, पाइलट वा इन्जिनियर बन्छु भनेर उद्देश्यको सुँगा रटाइ गर्ने चलन तोडिएको आभास उनले गरे । लैंगिक हिसाबमा पनि परिवर्तन आएको कुराले उनी उत्साहित देखिए ।

‘छोराछोरी दुवैलाई लिएर आएका बाबुआमा देखेर म असाध्यै खुसी भएँ', उनले भने । अडिसनका लागि भएको यात्रा न्ह्यु वज्राचार्यका लागि देशभरको सांगीतिक माहोल बुझ्ने अवसर बन्यो । ‘सहभागीको उत्साह हेर्दा त यो देश कलाकारको देश हो जस्तो लाग्यो', उनले भने । ठाउँअनुसार विभिन्न शैलीका गीतसंगीत सुन्ने मौका मिलेको सुनाउँदै उनले थपे, ‘कहीँ कतै संगीत नसिकेकाले पनि उत्कृष्ट गाए । सिक्न पाएको भए उनीहरू कहाँ पुग्थे होलान् जस्तो लाग्यो ।'

अडिसनमा युवतीको भीड देखेर गायिका इन्दिरा जोशी मक्ख भइन् । उनलाई लाग्दैन सबैजना नेपाल आइडल हुनुपर्छ । आफैं पनि गायन रियालिटी शोबाट उदाएकी जोशी भन्छिन्, ‘धेरै कुरा अनुभव गर्ने अवसर हुन्छ । कम्पोजरदेखि संगीतकारसम्मको नजरमा पर्ने मौका पाइन्छ । टेलिभिजनमार्फत देशभर चिनिन पनि पाइन्छ ।' एकआपसबाट सिक्ने र आफूलाई तुलना गर्ने मौका यस्ता प्रतियोगिताबाट पाइने उनको विचार छ ।

हुन पनि आइतबार पोखराको नवीन स्कुलमा अडिसन चलिरहँदा बाहिरपट्टि एक सहभागी सुरज एउटा गीतमा भाका हाल्दै थिए, ‘मैले बाआमा त्यागेर लाएको मायाले मलाई धोका दियो ।' अर्का सहभागी अशोकले सुझाए, ‘त्यागेर लाएको होइन, रोजेको ।' सुरजले फेरि गाए, ‘जहाँ छन्, बुद्धका आँखा ।' अशोकले फेरि सुझाए, ‘प्यारोभन्दा अलि लामो तान्नु पर्‍यो ।'
नेपाल आइडलको अडिसन दिन पालो पर्खिरहेका उनीहरू गाउँदै र एकापसमा सुझाव साटासाट गर्दै थिए ।

काठमाडौंबाट आएकी ज्योति पौडेलले अंग्रेजीमा संगीत सिकेको अनुभव सुनाइन् । अशोक पर्वतको कुस्माबाट साथी कृष्णसहित आएका हुन् । अर्का थिए, स्याङ्जा चापाकोटका यमन सुनार । उनी पोखरामै चल्तीको दोहोरी रेस्टुरेन्टमा गाउँछन् । उनले प्रतिष्ठा र अवसरमा लागि नेपाल आइडलका लागि अडिसन दिएको बताए । विश्वचर्चित सांगीतिक टेलिभिजन कार्यक्रम ‘आइडल' को फ्रेन्चाइज लिएर एपी वान टेलिभिजनले नेपाल आइडल आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.