पत्रकारहरूमा राष्ट्र चिन्तन

पत्रकारहरूमा राष्ट्र चिन्तन

प्राध्यापक जगमान गुरुङजस्ता अपवादहरू नभएका होइनन् । तर मूलतः हाम्रा विश्वविद्यालयलगायतका शिक्षण संस्थाका प्राज्ञिक व्यक्तिहरूले मुलुकलाई निराश बनाइरहेको बखत आफ्ना व्यक्तिगत र सामूहिक अभावभित्रबाट पनि नेपालका पत्रकारहरूले राष्ट्र चिन्तनलाई ओझेलेमा पारेका छैनन् । ठूलो प्रतिकुलताभित्र पनि नेपाली राजनीति तथा समाजका अभावहरूविरुद्ध उनीहरूले आफ्नो राष्ट्र धर्म निर्वाह गरिरहेकै छन् ।

keshav

पत्रकार सौरभकै कुरा गरौं, प्रखर राष्ट्रिय चेतना बोकेर उनले आफ्ना गहन अध्ययन, अकाट्य तर्क र प्रमाणहरूका आधारमा लेखेका रचनाले नेपाली बौद्धिक समुदायमा सनसनी ल्याउँछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रकारिताको लामो अनुभवलाई घटना परिवेशसँग जोडेर राष्ट्रसामु उपस्थित समस्या र चुनौतीबारे युवराज घिमिरेले जब आफ्नो गहन र विचारोत्तेजक विश्लेषण प्रस्तुत गर्दछन्, त्यो राष्ट्र चिन्तनको मानक बनिदिन्छ। श्रीकृष्ण अनिरुद्ध गौतम र प्रतीक प्रधानका लेखहरूमा अभिव्यक्त राष्ट्रका चिन्ता र पीडाले पाठकलाई उद्वेलित बनाइरहेकै छन् । राष्ट्र र प्रजातन्त्रको पक्षमा देवप्रकाश त्रिपाठीका शक्तिशाली र आक्रामक लेखहरूले पाठकहरूमा खल्बली ल्याउँछ।

सन्तुलन र सामग्रीको तथ्यपरकतामा प्रश्न उठ्ला, तर प्रखर राष्ट्रिय भावना समेटिएका युवराज गौतमले ठूलो पाठक समुदायमाझ आफूलाई स्थापित गरेका छन् । युवा पत्रकार सुजित मैनालीका सत्य र तथ्यमा आधारित गम्भीर लेखहरूमा राष्ट्रको आत्मा बोलेको हुन्छ । परशुराम काफ्ले गतिलो सम्भावना प्रदर्शन गरिरहेका छन् ।

रवीन्द्र मिश्र, भूषण दाहाल, जीवराम भण्डारी, राजेन्द्र बानियाँ, टीकाराम यात्री, राजन कुइकेल, ठाकुर बेलबासेलगायतका पत्रकारहरूले रेडियो र टेलिभिजनका कार्यक्रमहरूमार्फत राष्ट्र चिन्तनलाई दर्बिलोसँग उठाउने गरेका छन् । प्रमुख राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा लेखरचना सम्पादकहरूले राष्ट्र चिन्तनलाई बोक्ने लेखहरूलाई निरन्तर प्रोत्साहन दिएर राष्ट्रको सम्मान, गरिमा र मर्यादाको लडाइँको युद्ध साहसका साथ लडिरहेका छन् ।

पत्रकार सुधीर शर्मा, सरोजराज अधिकारी, हरिबहादुर थापाहरूले नेपालको राष्ट्र चिन्तनलाई केन्द्रमा राखेर गतिला पुस्तकहरू लेखेका छन् । यसै क्रममा गत माघ महिनामा प्रकाशित अग्रज पत्रकार कृष्णप्रसाद सिग्ध्यालको ‘नेपाल, छिमेक र विश्व’ र गत असोजमा प्रकाशित युवा पत्रकार गोपाल खनालको ‘भूराजनीति’ नेपालको राष्ट्रिय स्वाभिमानलाई उठ्न सघाउने र मुलुकका हित, सुरक्षा तथा चुनौतीका विभिन्न पक्षबारे राष्ट्रको ध्यानाकर्षण गराउन लेखिएका उत्कृष्ट पुस्तक हुन् ।

सत्यतथ्यमा आधारित भएर विषयवस्तुमाथिको आफ्नो शक्तिशाली अधिकारलाई प्रदर्शन गर्दै दुवै लेखकले आफ्नो तीक्ष्ण विश्लेषण क्षमतालाई पुस्तकमा जसरी प्रस्तुत गरेका छन्, त्यो वास्तवमै बेजोड छ । निश्चय नै, नेपालको मुख्य सुरक्षा चुनौती नै भारत भएकाले नेपालको परराष्ट्र नीतिको मूल चुनौती पनि भारत हो । यी चुनौतीहरूको सामनामा भारत र चीनसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय हितमा सुनिश्चित हुने गरी उन्नत सन्तुलनको बिन्दुमा स्थापना गर्न नसकुन्जेल नेपालको स्थिरता, सम्मान र समृद्धि सम्भव छैन । सिद्धान्ततः यसबारे मुलुकमा खास विमति छैन, तर हामीले त्यसलाई व्यवहारमा लैजान सकिरहेका छैनौं ।

भूराजनीतिक सीमाले भारत र चीनसँगको सम्बन्धमा हामीलाई निरपेक्ष सन्तुलनको स्थितिमा बस्ने अनुमति दिँदैन । तर सिद्धान्ततः त्यस्तो सन्तुलनको घोषित नीतिलाई पुष्टि गर्ने न्यूनतम नीतिगत संरचना विकास गर्न पनि नेपाल असफल भइरहेको छ । नेपालले यसबारे सीमित प्रयास मात्रै गर्दा पनि नेपाली राजनीतिमा भारतीय हस्तक्षेप कति प्रबल हुन पुग्छ भने यहाँको सरकार मात्रै नभएर राज्य व्यवस्था नै परिवर्तन हुन पुग्छ । त्यसले स्वाभाविक रूपमा नेपालको राष्ट्रिय चेतनाको चरित्रलाई नै भारतविरोधी बनाएको छ । यसबाट नेपालमा भारतीय हित सुनिश्चित हुन नसकेको मात्र होइन, नेपालमा भारतका मित्रशक्तिहरू अप्रिय र लान्छित छन् ।

पत्रकारहरूले राष्ट्रिय हित र सुरक्षाको पक्षमा सक्दो दबाब र प्रभाव निर्माण गरिरहेका छन् । पत्रकारहरू यस्तो राष्ट्र धर्म निर्वाहमा चुकेको भए मुलुक वर्तमानमा भन्दा पनि ध्वस्त हालतमा पुगिसकेको हुने थियो ।

ऊता भारतले नेपालमा आफ्नो राष्ट्रिय हित सुनिश्चित गर्ने भद्दा हस्तक्षेपसँगै निर्माण हुने राज्य निरीहताले भारतका प्रमुख राष्ट्रिय हितहरूलाई सम्बोधन गर्ने नेपालको राज्य क्षमता झन्झन् कमजोर हुँदै गएको छ । भारतले आफ्नो नेपाल नीति निर्माण गर्दा आफ्नो राष्ट्रिय स्वार्थलाई भन्दा भारतीय कूटनीतिक र सुरक्षा अधिकारीहरूको रुचि, आग्रह र स्वार्थलाई माथि राख्ने गरेको छ । त्यसैले केही वर्षदेखि भारत नेपाल नीतिविहीन छ, लक्षविहीन छ । त्यसैले अराजक छ ।

नेपालका राजनीतिक दलहरूका घोषित भारत र चीन नीतिबारेमा पनि त्यही अवस्था छ । मूलतः नेपालको भारत र चीन नीतिमा रहेका अभावहरूकै कारण नेपाल यति अस्थिर र असुरक्षित छ । पत्रकारहरूले यिनै विषयलाई विभिन्न शैली र आयाममा उठाइरहेका छन् र राष्ट्रिय हित र सुरक्षाको पक्षमा सक्दो दबाब र प्रभाव निर्माण गरिरहेका छन् । पत्रकारहरू यस्तो राष्ट्र धर्म निर्वाहमा चुकेको भए मुलुक वर्तमानमा भन्दा पनि ध्वस्त हालतमा पुगिसकेको हुने थियो ।

अग्रज पत्रकार सिग्ध्यालको ‘नेपाल, छिमेक र विश्व’

कृष्णप्रसाद सिग्ध्याल अन्तर्राष्ट्रिय सम्बन्धका मर्मज्ञ हुन् भन्ने कुरा उनको भर्खरै प्रकाशित पुस्तक ‘नेपाल, छिमेक र विश्व’ ले सावित गर्दछ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे आम मानिसलाई सरल भाषामा सत्यतथ्य जानकारी गराउने विचारबाट प्रेरित भएर सो पुस्तक लेखिएको उनले बताएका छन् ।
प्रखर राष्ट्र चिन्तनलाई बोकेर वस्तुगत तथ्य र प्रमाणसहितको जानकारी, शक्तिशाली विश्लेषण तथा समीक्षा समावेश भएको सिग्ध्यालको पुस्तक सर्वसाधारणको लागि मात्र नभएर उच्च शिक्षित वर्ग र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरूको लागि समेत दुर्लभ पाठ्य र सन्दर्भ सामग्री बन्न पुगेको छ ।

नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे चासो राख्ने र कलम चलाउने हरेक व्यक्तिको लागि पुस्तक सहयोगी र संग्रहणीय बन्न पुगेको छ । त्यति मात्र नभएर विश्वसामु विद्यमान प्रमुख चुनौतीहरूबारे उनले आफ्नो गहन अध्ययनलाई पुस्तकमा समेटेर पाठकलाई असल नेपाली र विश्व नागरिक बन्न पनि उनले सघाएका छन् । ब्रह्माण्डको रचनाबाट प्रारम्भ भएको आफ्नो पुस्तकमा नेपालको प्राचीनताको झलक दिन एक सय १० लाख वर्ष पुरानो रामापिथेकस मानवको बंगारा बुटवलनजिकै तिनाउ नदीको किनारमा पाइएको उनी बताउँछन् । बर्दियाको दानव तालनजिकै गरिएको उत्खननमा प्राप्त पाँच लाख वर्ष पुरानो मानिएको ढुंगे हतियारबारे लेख्न उनी चुकेका छैनन् ।

संसारका दुई ठूला देशहरूको माझमा अवस्थित र समुद्रतर्फको निकास नभएकाले मात्रै नेपाल सानो भएको अनुभव भएको हो, नत्र नेपालको भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधताको आधारमा नेपाललाई एउटा सानो महादेश भन्न सकिने सिग्ध्यालको टिप्पणीलाई अन्तर्राष्ट्रिय स्तरका प्रामाणिक अध्ययनहरूले पनि स्विकारेका छन् ।

सिग्ध्यालको पुस्तकमा नेपालका छिमेकी राष्ट्रहरूसँगको सम्बन्धको संक्षिप्त इतिहास मात्र छैन, सम्बन्धका समस्या, चुनौती र सम्भावनाबारे पनि गम्भीर र जिम्मेवार समीक्षा छ । पुस्तकको झन्डै एकचौथाई अंश भारत र चीनको बारेमा र नेपालको उनीहरूहरूसँगको सम्बन्धमै केन्द्रित छ ।
लेखकले भारत र चीनका साथै दक्षिण एसियाली राष्ट्रहरू र बेलायत, अमेरिका, रूस, जापान, जर्मनीलगायतका प्रमुख राष्ट्रहरूसँगको सम्बन्धको मूल चरित्रलाई वस्तुगत आधारमा टिप्पणी गर्न भ्याएका छन् । भारत र चीनसँगको सम्बन्धले मात्रै नेपालको अत्यधिक ध्यान खिचिरहेको समयमा यी मुलुकहरूसँगको सम्बन्धको महत्वलाई लेखकले राम्रोसँग प्रस्ट्याएका छन् ।

नेपालको भारत, चीन वा दुवैसँगको सम्बन्धमा कुनै पनि समयमा जटिल चुनौती खडा हुन सक्छ । त्यस अवस्थामा जापान, अमेरिका र युरोपेली राष्ट्रहरूसँगको सम्बन्धले नेपालको सुरक्षा सुनिश्चित गर्न र समृद्धि आर्जन गर्नमा प्रभावकारी योगदान पुर्‍याउने निश्चित छ । तर पञ्चायतको उत्तरार्धका दिनहरूमा र खास गरेर ‘२०४८ सालदेखि नेपाली कूटनीति अवाञ्छनीय स्तरमै औपचारिक, भुत्ते र किंकर्तव्यविमूढ’ रहन पुगेको र परराष्ट्र नीतिका सम्बन्धमा कुनै चिन्तन र गृहकार्य नै नभएकोले संसारका एक सय ४३ देशसँग दौत्य सम्बन्ध भएको मुलुकको कूटनीतिक विश्वसनीयता नै समाप्तप्रायः भएको सिग्ध्यालले उल्लेख गरेका छन् ।

दुई सय वर्षअघिदेखि बेलायतसँग दौत्य सम्बन्ध राखेको र दक्षिण एसियामा इजरायल र अमेरिकासँग दौत्य सम्बन्ध राख्ने पहिलो मुलुक आज कूटनीतिक अन्योल र दिशाहीनतामा जकडिएको उनी बताउँछन् । पर्याप्त साधन स्रोत भएको र सामरिक महत्वको भूगोलमा रहेको नेपाल प्रगति पथमा हिँड्यो भने नेपालमा लगानीका बृहत् सम्भावना रहने भएकोले संसारभरिका मुलुकको नेपालमा रुचि थियो, तर नेपालले निराश पारेकाले उनीहरू धमाधम कूटनीतिक नियोग बन्द गरी फर्किने क्रममा रहेको सिग्ध्यालको मत छ ।

नेपालको पत्रु राजनीति नेपालको परराष्ट्र नीतिमा समेत अनुवाद हुन पुगेकाले दुईदुईपटक राष्ट्रसंघ सुरक्षा परिषद्को समेत सदस्य भएको मुलुक अन्तर्राष्ट्रिय स्तरमा लाचार र उपेक्षित हुन पुगेको धारणा उनी राख्छन् ।साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले विगतमा आर्जन गरेको कूटनीतिक क्षमता र विश्वसनीयतालाई पुनः आर्जन नगरी नेपालको स्वतन्त्रता र प्रभुसत्ताको संरक्षण र प्रवद्र्धन हुन नसक्ने दृढ मत पनि उनले राखेका छन् ।
तर उनले के लेख्न छुटाएका छैनन् भने नेपालले आफ्नो परराष्ट्र नीतिलाई नयाँ दिशा दिने कार्यको प्रारम्भ भारत र चीन नीतिबाट नै प्रारम्भ गर्नुपर्दछ ।

सानो मुलुक भनेको सानो प्रभाव, सामर्थ्य र सम्भावना होइन

विश्वले सावित गरेको छ– मुलुकको आकार सानो हुनु भनेको उसको प्रभाव, सामथ्र्य र सम्भावना सानो हुनु होइन । यसैलाई सत्यापित गर्ने क्रममा सिग्ध्याल लेख्छन्– सिंगापुर कतिपय मामिलामा चीनसँग दाँजिन खोज्छ । उनका अनुसार २०७२ मा चीन सिंगापुरको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो । सिंगापुरको सबैभन्दा ठूलो लगानीकर्ता पनि चीन हो । उनी भन्छन्– देङ स्याओ पिङ नेपाल आउँदा आर्थिक क्षेत्रको सहकार्यको प्रस्ताव ल्याएका थिए तर नेपालले कुनै उत्साह देखाएन । अहिले चीनको वान बेल्ट वान रोड प्रस्तावबारे पनि नेपालले कुनै उत्साह र प्रतिबद्धता नदेखाई बसेको छ ।

उनका अनुसार ओली सरकारले चीनसँग पारवहन सम्झौता गरेर नेपालको आर्थिक समृद्धिको लागि नयाँ सम्भावना उघारेको थियो । राज्य निर्णयहरूमा मुलुकको स्वतन्त्रता र प्रभुसत्तालाई प्रतिविम्बन गराउन पनि उक्त कदम आवश्यक थियो, त्यसैकारण ओली सरकार विस्थापित भयो ।एक लेखकलाई उधृत गर्दै सिग्ध्यालले लेखेका छन्– नेपालको राज्य संयन्त्रमा जहाँ, जतिखेर जसलाई चाह्यो त्यति नै खेर उसलाई सत्तामा पुर्‍याउन भारत सक्छ । कर्मचारीतन्त्रदेखि सबै महत्वपूर्ण राज्य अंगहरूमा समेत भारतीय वर्चस्वको भद्दा चित्र प्रस्तुत गर्दै राज्य सञ्चालनको सबै पेच, किला, छेस्किनी कब्जा नै छिमेकीको नियन्त्रणमा रहेको उनले लेखेका छन् । उनको निष्कर्ष छ– देशलाई राष्ट्रको रूपमा बाँधिराख्ने सबै जुइनाहरू चुँडिएका र मक्किएका छन्, तर नयाँ सिर्जना गर्न सकिएको छैन ।

सिग्ध्यालको अर्को एउटा पीडादायी निष्कर्ष छ– अपवादको रूपमा अल्पअवधिमा बाहेक सात सालदेखि नै नेपाली राजनीतिको प्राथमिकतामा मुलुकको आर्थिक विकास र समृद्धि पर्दै परेन । सरकार नै मुलुकको विकासको तगारो बनिरह्यो । नेपालको गरिबीको कारण नेपालमा निरन्तर राजनीतिक अस्थिरता कायम राखेर आफ्नो रणनीतिक लक्ष साध्य गर्ने भारतको आधुनिक औपनिवेशिक नीतिको पनि ठूलो योगदान रहेको पनि सिग्ध्याल स्विर्र्काछन् । उदाहरणको लागि आम नेपाली जनताले आफ्नो राष्ट्रिय समृद्धिको सपना नेपालका नदीनालाहरूमा देखेका छन् ।

तर विभिन्न सन्दर्भ र तथ्य प्रस्तुत गर्दै सिग्ध्याल लेख्छन्– भविष्यको लागि तल्लो तटीय अधिकार सुनिश्चित गर्न नेपाल भएर भारत पुग्ने नदीहरूमा व्यापक जलसंरचना विकास गरिनसकुन्जेल जसोतसो गरेर नेपाललाई चुपो लगाएर राख्ने र सबै तयारीपछि त्यस्तो अधिकारको दाबी गरेर नेपाललाई आफ्नो जलस्रोतको विकास र उपयोगमा प्रतिबन्धित गर्ने रणनीति भारतले अवलम्बन गरिरहेको छ । चीनका एक एसिया तथा प्रशान्त क्षेत्रविज्ञलाई उद्धृत गर्दै सिग्ध्यालले लेखेका छन्– विगतका सरकारहरूलाई प्रभावमा पारेर नेपालका पाँच मुख्य नदीहरूलाई भारतले ओगटेको छ र यस्तो अवस्थामा नेपालमा एक हजार मेगावाटभन्दा ठूला जलविद्युत् परियोजनामा लगानी गर्ने चिनियाँ चाहनाले ठाउँ पाउन सकेको छैन ।

भारतका नेपाल विज्ञ प्रा बीसी उप्रेतीलाई उद्धृत गर्दै सिग्ध्यालले दिएको जानकारीअनुसार भारतले नेपालसँगको सिमानामा नियन्त्रण प्रारम्भ गरिसकेको छ । तर सिग्ध्यालको निष्कर्ष छ– नेपाल–भारत सीमा भारतीयका लागि खुला छ, नेपालीका लागि छैन । खुला सिमानाको वैध तथा अवैध सुविधा पनि भारतीयले मात्र लिएको तर लाञ्छना भने नेपालले मात्र खेपिरहेको उनले लेखेका छन् ।

नेपाललगायतका दक्षिण एसियाका मुलुकहरूसँगको सम्बन्धको चरित्रको आधारमा सिग्ध्याल ठोकुवा गर्छन्– भारतको सोच र कामगराइले उसलाई विश्व शक्तिलायक बनाउने छैन । अमेरिकासँगको विद्यमान सम्बन्धको चरित्रमा आर्थिक र सामरिक कारणले अर्को दुई दसकका लागि भारतसँगको सम्बन्धको निकटता चीनलाई आवश्यक छ । ऊता चीनको बढ्दो शक्ति र प्रभाव नियन्त्रण गर्न अमेरिकालाई भारतसँगको रणनीतिक सहचार्य अनिवार्य भएकाले उनीहरूबीच विकसित सामरिक सहमतिले क्षेत्रमा फरक रणनीतिक परिवेश निर्माण गरेको छ ।

ऊता चीनले नेपाललाई उसको दक्षिण एसियाको प्रवेश द्वार मानेको छ । त्यसकारण भारतले जतिसुकै नचाहे पनि चिनियाँ विज्ञ हु सिसेङलाई उद्धृत गर्दै सिग्ध्याल लेख्छन्– चीनले नेपालमार्फत दक्षिण एसियामा आफ्नो उपस्थिति जनाउनेछ ।त्यसैले सिग्ध्यालको सिंगापुरसँग सिक्ने कुरा झन् सान्दर्भिक बन्न पुगेको छ । यसको लागि विज्ञहरूका धारणा समेट्दै नेपालको सुरक्षा, स्थिरता र समृद्धिको लागि सार्थक परराष्ट्र नीतिनिर्माणको लागि मननयोग्य सुझावहरू उनले प्रस्तुत गरेका छन् ।

पुस्तकमा केही सांगठनिक र प्राविधिक अभावहरू छन् । वैचारिक अस्पष्टता र स्वाभाविक आग्रह पनि देखिन्छन्, तर निसन्देह भन्न सकिन्छ, ‘नेपाल छिमेक र विश्व’ पुस्तकमार्फत सिग्ध्यालले नेपालको राष्ट्र चिन्तनको धरातललाई माथि उठाएका छन् ।

-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.