बरालको मन भमरा
काठमाडौं: गायक यम बरालको नयाँ एकल एल्बम ‘मन भमरा’ श्रोतामाझ आएको छ । काठमाडौंको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले एल्बम विमोचन गरेका हुन् । विमोचनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, गीतकारद्वय राजेन्द्र थापा र किरण खरेल एवं गायक प्रेमध्वज प्रधानले उनलाई साथ दिएका थिए ।
विमोचित एल्बममा मरी लान्या क्या छ र जिन्दकीमा, सप्तरंगी इन्द्रेणी, उनका कुरा, भुइँको माया टिप्न खोज्दा, सारंगीको धुनमा, सागर बीचको, पिउँदै नपिउने मान्छे, मेरो बदनाम गर्न खोज्यौ, जिन्दगीभरिलाई लगायतका गीत समावेश गरिएको छ । विमोचन समारोहमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको शीर्ष गीत मरी लान्या क्या छ र (मन भमरा)सहित चारवटा गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । यस गीतमा गायक बराललाई गायिका कोमल वलीले स्वरमा साथ दिएकी छन् ।
एल्बम विमोचनपछि उपराष्ट्रपति पुनले द्वन्द्वकालमा संगीत कला विभागको इन्चार्ज बनेर काम गरेको स्मरण गर्दै संगीत कलासँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा केही योगदान दिएजस्तो अनुभूति हुने बताए । ‘एकदुई दशकमा देश धनी हुनसक्छ तर संगीत कलामा त्यो सम्भव छैन’, उपराष्ट्रपति पुनले भने, ‘तर नेपाल कला क्षेत्रमा हजारौं वर्षदेखि धनी छ ।’
पछिल्लो समय अमेरिका बस्दै आएका गायक बरालले अब संगीतमै केही गर्ने सोच लिएर आफू नेपाल फर्केको बताए । विमोचन समारोहमा उनले आफ्ना पुराना चर्चित गीतहरू पनि गाएका थिए । कार्यक्रममा बोल्दै गीतकार राजेन्द्र थापाले राजनीति र अर्थनीति जनतामा पुग्न नसके पनि संगीत भने जनताका घरदैलोमा पुगेको बताए ।