फ्युजनमा रेशम फिरिरी
भक्तपुर: रेशम फिरिरीलाई सर्वाधिक चर्चित नेपाली गीत मानिन्छ । यो गीत नेपालीमात्र होइन, विदेशीले समेत त्यत्तिकै गाउँछन् । आइतबार भक्तपुर नगरपालिका–११ भेलुखेलस्थित आदर्श आजाद उच्च माविको प्रांगणमा आयोजित सांगीतिक कार्यक्रममा यो गीत फरक शैलीमा प्रस्तुत गरियो।
नेपाली युवाको ब्यान्ड भैरवीको नेपाली मौलिक बाजासँगै जापानका पियानो एवं सेक्सोफोन वादक र नेपाली गिटारिस्टले रेशम फिरिरीलाई फ्युजन संगीत प्रस्तुत गरे । फ्युजनमा रेशम फिरिरी गीत घरि नेपाली त घरि जापानी शैलीमा सुनिएको थियो । फ्युजनमा भैरवीका रवीन्द्र महर्जन र आशीष महर्जनले बाँसुरी बजाए । नरेश प्रजापतिले खिँ, मादल, युसन महर्जनले धिमे, मादल, धोलक, मनीष गन्धर्वले सारंगी र सञ्जय महर्जनले इफेक्ट बजाएका थिए ।
भैरवी ब्यान्डका युवाको नेपाली संगीतसँग जापानका टाकेनाका मकोटोले पियानो, सिमिजु रिकाले सेक्सोफोन र प्रतीक बानियाँले बेस गितारमार्फत त्यसमा जापानी शैली भरेका थिए । नेपाली शैलीको रेशम फिरिरी सुनिरहेका दर्शकलाई जापानी संगीतको फ्युजनले नयाँ स्वाद दिएको थियो । तीन घन्टा चलेको कार्यक्रममा आधा समय नेपाली र जापानी कलाकारले फ्युजन गरेर नेपाली तथा जापानी गीतसंगीत प्रस्तुत गरेका थिए ।
नेपाली कलाकारले रेशम फिरिरीसँगै आमैले भन्छिन् धाराको पानी, देउराली उकाली चढेर तथा नेवारी गीतहरू राजमती कुमती, होलिया मेला, सिर्साया हेकु, जिमी दाइचाङ बिगु लगायतका चर्चित गीतमा पस्केका थिए । त्यस्तै दुई जापानी कलाकारले गिटारिस्ट प्रतीकसँग पश्चिमी तथा जापानी गीत पनि प्रस्तुत गरेका थिए ।
नेपालका भूकम्पपीडितको सहयोगार्थ नेपाल एसिया एसोसिएसन तथा एसिया फ्रेन्डसिप सोसाइटी (जाफ्स) जापान नेपाल मैत्री कन्सर्ट आयोजना गरिएको हो । भक्तपुरअघि ललितपुरको पाटनमा पनि कन्सर्ट गरिएको जाफ्सका नेपाल संयोजक नोरिको आछुतो मल्लले जानकारी दिइन् । पाटन कन्सर्टमा नेपाली ब्यान्ड कुटुम्ब पनि सहभागी थियो ।