धुर्मुस-सुन्तलीको 'प्रेम दिवस' मुसहर बस्तीमा (फोटोफिचर)
बर्दिबास : हास्य जोडी धुर्मुस-सुन्तलीले महोत्तरीको बर्दिबास २ स्थित एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गरेर मंगलबार प्रणय (प्रेम) दिवस मनाएका छन् । रोग, भोक, अशिक्षाले पिल्सिएका बर्दिबासका मुसहरका लागि धुर्मुस-सुन्तली फाउण्डेसनले ५० घर परिवारलाई लक्षित गरेर नमुना बस्ती बनाइरहेका छन्। बस्ती निर्माणको कामले खासै फुर्सद नभएको भन्दै उनीहरुले मुसरहहरुसंगै माया साटासाट गरेर काम गर्दै प्रेम दिवस मनाएका हुन् ।
आर्थिक सहयोग संकलन गरेर धर्मुस-सुन्तलीले दुई सय ७० जना मुसहर बस्न मिल्ने ५० वटा घर बनाइरहेका छन् । ‘प्रेम दिवसको दिन प्रेम गरेर मात्र हुदैंन् । १२ महिना तीन सय ६५ दिन एक अर्कालाई प्रेमजोडीले प्रेम गर्नुपर्छ,’ धुर्मुसले भने,‘ युवा युवतीको लागि मात्र आज प्रेम दिवस होइन् । गरिब तथा विपन्न समुदायलाई हामी सबैले प्रेम गर्नुपर्छ ।’
एक बर्षअघि मुसहर बस्ती पसेका उनीहरु मुसहरको दर्दनाक अवस्था देखेपछि मुसहरसँग प्रेम गरेर बस्ती निर्माणमा जुटेका हुन् । धुर्मुसले अघि भने,‘आजको प्रेम दिवसबाटै सबै जना विकास प्रेमी बनौं ।’
‘हाम्रो प्रेम सम्बन्धले करोडौँ नेपालीसंग प्रेम गर्ने भावना पहिलेभन्दा अहिले झन् बढाएको छ । हजारौंको घर बनाउनु छ । करोंडौं नेपालीको भावनालाई जोडेर देश बनाउनअघि बढेका हौं,’ धुर्मुसको कुरामा सहमति जनाउदै सुन्तलीले भनिन्‘ कसैको मनलाई कसैले नजलाऊ । एक अर्काको मनलाई जोडेर जीवन चलाऊ। प्रेमलाई दुई दिने फेसन नबनाऔं ।’