यसरी फैलियो युरोपमा संस्कृत भाषा

 यसरी फैलियो युरोपमा संस्कृत भाषा

संस्कृत भाषा फगत भाषा मात्रै होइन, संस्कृति हो, सभ्यता हो, अध्यात्म हो र हो पूरै जीवनपद्धति पनि । तर बाहिरको नियोजित आक्रमण र आफ्नै बेवास्ताले अहिले दक्षिण एसियाबाटै संस्कृत भाषा लोपोन्मुख छ ।

तर हामीले यसको विराटता र वैज्ञानिकता नबुझे या बेवास्ता गरे पनि युरोपमा भने शताब्दीयौंअघि यो भाषा कहिल्यै नमासिने गरी पसिसकेको छ । यो आलेखमार्फत कसरी संस्कृत भाषा युरोप र बाँकी विश्व पुग्यो, कुन रूपमा अरू भाषालाई समृद्ध तुल्यायो र त्यहाँको दर्शन, इतिहास र साहित्यमा पोखियो भन्ने विषयलाई उठाउने प्रयत्न गरिएको छ ।

युरोपका विश्वविद्यालयहरूमा सन् १७९० बाट नै औपचारिक रूपमा संस्कृत भाषामा पठनपाठन हुन थालिसकेको थियो । जतिबेलासम्म भारतमा इस्ट-इन्डिया कम्पनीको उपस्थिति व्यापारिक प्रयोजनको लागि मात्रै थियो, उपनिवेश कायम भइसकेको थिएन । युरोपमा ‘मिडेभल एज' पश्चात् पुनर्जागरणकालकै उत्तरार्धमा संस्कृत पठनपाठन हुन थालिसकेको थियो ।

अचम्मलाग्दो कुरा त यो छ कि आज दक्षिण एसियामा जति गुरुकुल, विद्यालय र विश्वविद्यालयहरूमा संस्कृत भाषामा पढाइ हुन्छ त्योभन्दा ठूलो संख्यामा युरोप र अमेरिकाका विश्वविद्यालयहरूमा संस्कृत भाषामा पठनपाठन हुन्छ । पूर्वीय दर्शनको सबैभन्दा खदिलो र सार ग्रन्थ भगवत गीताको पहिलो अंग्रेजी अनुवाद सन् १७८५ मा चाल्स विल्केनले गरेका थिए ।

त्यसलगत्तै सन् १७८७ मा अवे प्राउडले अंग्रेजी अनुवादलाई फ्रेच भाषामा पुनः अनुवाद गरेका थिए । त्यसैगरी जर्मन भाषामा सन् १८०२ मा भगवतगीता अनुवाद भएको थियो । एकडेढ दसकभित्रमा भगवतगीता युरोपमा मुख्य रूपमा बोलिने सबै भाषामा अनूदित भइसकेको थियो । त्यसपछि धमाधम युरोपेली देशहरूमा संस्कृत अध्ययन केन्द्रहरू खुल्न थाले । संस्कृत अध्ययन केन्द्र खुल्नुमा संस्कृत मातृभाषीभन्दा पनि यसभित्रको विराट् दर्शन, वैज्ञानिकता तथा उपयोगिता देखेर स्वयम् नवदीक्षित संस्कृतज्ञ युरोपेलीहरूको पहल र अग्रसरतामा यो सम्भव भएको थियो ।

संस्कृतको सबैभन्दा फराकिलो विश्वव्यापीकरणको श्रेय भने जर्मन दार्शनिक तथा चिन्तक आर्थन सोपेनहावर (सन् १७८८—१८६०) लाई जान्छ । उनको विश्वचर्चित पुस्तक ‘दि वल्र्ड एज विल' (१८१८) ले उपनिषद्, वेद, वेदान्त, कौटिल्यको अर्थशास्त्र, पाणीनि व्याकरणलगायतको सर्वांगीण पक्षको चर्चा गरेको छ । सोपनहावरको पुस्तक तथा भगवतगीताका अघिल्ला अनुवादका कारण उन्नाइसौं शताब्दीका कैयौं चिन्तक, दार्शनिक, कवि, साहित्यकारका रचनामा यसको गहिरो प्रभाव पाइन्छ । यो समय विश्व साहित्यमा स्वच्छन्दतावादी काल थियो ।

त्यसैले पनि यो कालका कयौं साहित्यकार तथा कविहरूमा संस्कृति वाङ्मयको गहिरो प्रभाव पाइन्छ । सर विलियम जोन्स, विलियम वल्डवर्थ, पीवी सेली, विलियम ब्लाक, जोन किड्स, भोल्टेयरका रचनामा पूर्वीय दर्शनको उल्लेख्य चर्चा पाइन्छ । त्यसैगरी जोन गोथे, म्याक्स मुलर, हिगेल, हार्मन होस, लियो टोल्सटोय, टिएस इलियटहरू भगवतगीता र उपनिषद्बाट गहिरो गरी प्रभावित भएको उनीहरूका कृति पढ्दा प्रस्ट हुन्छ । युरोपबाट प्रकाशित सामग्रीहरूमा समेत यी उल्लिखित व्यक्तिहरू पूर्वीय दर्शनका कृतिबाट अभिप्रेरित भएको उल्लेख पाइन्छ ।

टीएस इलियटको प्रसिद्ध कविता ‘दी फोर क्वाटर्स' मा भगवतगीताको सार छ । युरोपमा व्याप्त निराशाका बीच लेखिएको यो कवितामा केन्द्रीय भाव गीताको समभाव र आशावादितालाई समेटिएको छ । भोल्टेयर, इम्यानुयल कान्टले समेत संस्कृत इन्डो—युरोपेली भाषाको जरोका रूपमा स्विकारेका छन् । भोल्टेयर लेख्छन्, ‘म यति कुरामा सहमत छु कि हामीकहाँ (युरोपमा) आएका प्रायः सबै विषय र ज्ञानको स्रोत गंगा नदीको किनार हो । संस्कृत मातृभाषीले बाँकी विश्वलाई दीक्षित तुल्याउन मद्दत गरेका हुन् ।' त्यसैगरी कान्ट लेख्छन्, ‘मानव सभ्यता र ज्ञानविज्ञानका उपलब्धिको जरो संसारको छानो हिमालयबाट विस्तार भएको हुनुपर्छ ।'

आज आफ्नो स्थानमा लोपोन्मुख भएको संस्कृतको फैलावट यति विराट् र विषद् होला भन्ने विषयसमेत हामीलाई कल्पनातीत विषय लाग्न सक्छ । हुन पनि जुन भाषा र सभ्यता उत्कर्षमा पुग्छ, त्यसको प्रभाव विश्वभर पर्ने नै भयो । जसरी आज पश्चिमा सभ्यता र अंग्रेजी भाषा विश्वका सबै भूगोलमा छल्नै नसक्ने वास्तविकता बनेको छ, त्यसैगरी पूर्वीय सभ्यताको उत्कर्ष वैभवका बेला संस्कृत भाषाको प्रभाव ग्रिक, ल्याटिन, पर्सियन, अरबी हुँदै प्रकारान्तरमा अंग्रेजीमा समेत परेको छ ।

अन्य युरोपेली देशको तुलनामा जर्मनीमा किन संस्कृतप्रति बढी आकर्षण रह्यो भन्ने तथ्य झनै रोचक छ । सत्रौं शताब्दीताका जर्मनहरूमा राष्ट्रिय गौरव र अभिमानको पहिचानात्मक खडेरी परेको महसुस भयो । युरोपका अन्य शक्तिशाली मुलुकहरू फ्रान्स, ब्रिटेन, स्पेन, पोल्यान्ड र इटालीमा राष्ट्रियताको गर्विलो इतिहास बनिसकेको थियो । त्यसो हुँदा यी मुलुकले समेत जर्मनीलाई आफ्नो तुलनामा अवमूल्यन गरेका थिए ।

जर्मनीसँग सीमा जोडिएको फ्रान्सले ‘फ्रेन्च रिनासा' बाट साहित्यमार्फत आफ्नो उपस्थिति गर्विलो पार्‍यो । ब्रिटेनले विश्वभर दोस्रो चरणको (सन् १७८५—१८१५) साम्राज्य विस्तार गरेको समय थियो त्यो । इटालियनहरूले रोमन साम्राज्यकै विरासतमा आफ्नो अस्तित्व प्रवद्र्धन गरे । ठीक त्यही समय स्पेनले ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म साम्राज्य विस्तार गर्दै थियो । पोर्चुगलले पनि आफ्नो साम्राज्य विश्वभर स्थापित गरेको थियो ।

संस्कृत शिक्षा बहिस्कार गर्ने, संस्कृतलाई पुरातन र कर्मकाण्डीको उपक्रम मात्रै ठान्ने र उपेक्षा गर्नेहरूको लागि पूर्वीय दर्शन अद्भुत शिक्षा हो । यो ज्ञान तथा सूचनाको प्रचार संस्कृत वाङ्मयको प्रवद्र्धन र संरक्षणबाट मात्रै सम्भव छ ।

त्यसैले जर्मनीलाई आफ्नो पहिचान र जागरणको लागि कुनै न कुनै धरोहर आवश्यक थियो । राष्ट्रिय पहिचान र गौरवको खोजले जर्मन चिन्तक तथा भाषाविद्हरूलाई आफू आर्य भएको मात्रै होइन, त्यसको ऐतिहासिक सम्बन्ध संस्कृत भाषासँग देखे । उनीहरू अझ विषद् रूपमा संस्कृत भाषामा लेखिएका वेद, वेदान्त, उपनिषद्, भगवतगीताको पोथा केलाउँदै गए ।

भगवत गीता सन् १८०२ मा जर्मन भाषामा अनुवाद भएकै थियो, त्यतिले नपुगेर मूल भाषामै डुबुल्की लगाउन सन् १८१२ मा भाषाशास्त्री फ्रेज बप संस्कृत सिक्न पेरिस र पछि भारत आए । कालान्तरमा सन् १८४० मा म्याक्स मुलरले ‘दी आर्यनिज्म' पुस्तकमार्फत आफूहरू र गंगा नदीको तटमा बस्नेहरूबीच सांस्कृतिक र भाषिक इतिहासमा फरक नरहेको निष्कर्ष निकाले ।

आज त जर्मनी संस्कृत भाषामा लेखिएका मूल ग्रन्थहरूको संग्रहालय मात्रै नभई आफूलाई आर्यनका रूपमा ‘ब्रन्डिङ' समेत गरिरहेका छन् । राजीव मन्होत्राको पुस्तक ‘ब्रेकिङ इन्डिया' का अनुसार हिटलरले भारतमै आएर प्रभावित भई स्वस्तिक चिन्ह जर्मनको आत्मगौरव र राष्ट्रिय प्रतीक चिन्ह बनाएका थिए ।

थाइल्यान्ड, कम्बोडिया, लाओस, मलेसिया, इन्डोनेसियामा संस्कृतको प्रत्यक्ष प्रभाव रहेको छ । कयौं शब्द, तत्सम नै तथा तत्भव भए यी देशमा बोलिने भाषामा समाहित भएका छन् । त्यसबाहेक युरोपका प्राचीन भाषाहरू ग्रिक, ल्याटिन, जर्मन, फ्रेन्च, जापानिज, चाइनिज, कोरियन, मंगोलियन, कजाकिस्तान, उज्वेकिस्तानमा समेत संस्कृत भाषाको प्रशस्त प्रभाव देख्न सकिन्छ । आज पनि बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलको नाम सुवर्णभूमि छ ।

सुनको भूमि प्रतिविम्बित हुने संस्कृत नाम मात्रै होइन, यो विमानस्थल अवतरण गर्नेहरू रोमाञ्चित हुनेछन् जतिबेला यसका करिब सबै भित्ताहरूमा महाभारतकालीन आकृति सुनौलो रङमा कुँदेको देख्नेछन् । अमेरिकी इतिहासकार विल डुरेन्ट (सन् १८८५—१९८१) जसले विश्व इतिहास र दर्शनबारे विषद् अध्ययन गरेका थिए । उनी ठोकुवा गर्छन्, ‘संस्कृत ‘इन्डो—युरोपियन' भाषाहरूको जननी हो ।'

संस्कृत शब्द यसरी अंग्रेजी बन्यो

आज पश्चिमले सूचना प्रविधिमा गरेको अभूतपूर्व विकासले बाँकी विश्व त्यसकै अनुशरण गर्न बाध्य छ । अंग्रेजी ‘ओरिजिन' शब्द हुँदाहुँदै कम्प्युटर, मनिटर, प्रोसेसर, इन्टरनेट, इमेल, हार्डवेयर, सफ्टवेयर, टेलिभिजन, रेडियो, मोबाइल, हेलो जस्ता शब्द अरू भाषाभाषीको समेत शब्द बनेको छ । यी आविष्कार र विकासलाई जसरी बाँकी विश्वले सहजै अंगीकार गरेको छ, यी नामलाई पनि जस्ताको तस्तै स्वीकार गरेको छ ।

हो, त्यसैगरी संस्कृत भाषा र सभ्यता उत्कर्षमा रहेका बेला यताबाट अरू भाषामा कुन शब्द कसरी गए भन्ने विषयमा समेत संक्षिप्त चर्चा गर्नु उपयुक्त होला । संस्कृतबाट सीधै अंग्रेजीमा गएका कर्मा, अवतार, मन्त्र, गुरु, चिता, पण्डित, निर्वाणा, योगा, लाखजस्ता शब्दबाहेक अप्रभंश भएर सयौं शब्द ग्रहण गरेर अंग्रेजी भाषा समृद्ध बनेको छ । त्यसका केही उल्लेख्य उदाहरण हेरौं । संस्कृतको ‘प्रतिशत' ल्याटिनमा ‘परसेन्टम' हुँदै अंग्रेजीमा ‘पर्सेन्ट' बन्न पुग्यो ।

संस्कृतबाट ‘गौ' ग्रिकमा ‘कौ' हुँदै अंग्रेजीमा ‘काउ' बन्यो । संस्कृतको ‘माता' ल्याटिनमा ‘मातर' हुँदै अंग्रेजीमा ‘मदर' बन्न पुग्यो । त्यसैगरी संस्कृतको ‘नस' ल्याटिनमा ‘नासुस' हुँदै अंग्रेजीमा ‘नोज' बन्योे । संस्कृतको ‘नाम' ल्याटिनमा ‘नोमेन' हुँदै अंग्रेजीमा ‘नेम' बन्न पुग्यो । संस्कतको ‘बार्बरा' ल्याटिनमा ‘बार्बरिया' हुँदै अंग्रेजीमा ‘बार्बरियन' बन्यो । संस्कृतको ‘म' ल्याटिनमा ‘मी' हुँदै अंग्रेजीमा पनि ‘मी' नै रह्यो ।

त्यसैगरी संस्कृतको ‘भ्राता' ग्रिकमा ‘प्रतर' हुँदै अंग्रेजीमा ‘ब्रदर' बनेको छ । संस्कृतको ‘घास' जर्मनमा ‘ग्रासा' हुँदै अंग्रेजीमा ‘ग्रास' बनेको छ । त्यसैगरी संस्कृतको ‘सम' प्रोटो जर्मनमा ‘समज' हुँदै अंग्रेजीमा ‘सेम' बनेको छ । संस्कृतको ‘मिथक' ग्रिकमा ‘मिथस' हुँदै अंग्रेजीमा ‘मिथ' बनेको छ । त्यसैगरी संस्कृतको ‘अणु' सोझै अंग्रेजीमा एटम बनेको छ । यी त केही उदाहरण मात्रै हुन्, संस्कृति भाषा समृद्ध भएका बेला कस्ता-कस्ता शब्द कुन-कुन भाषा हुँदै अंग्रेजीमा पुगेका रहेछन् भन्ने । यो सानो आलेखमा सबै उपलब्ध विवरण राख्न सम्भव नभएकाले यी केही संकेत मात्रै लिपिबद्ध गरिएका हुन् ।

वैज्ञानिकहरूमा संस्कृतको प्रभाव

संस्कृतको प्रभाव दार्शनिक, कवि, चिन्तकमा मात्रै होइन, वैज्ञानिकहरूमा समेत उल्लेख्य मात्रामा परेको थियो । अल्बर्ट आइन्सटाइन, निल बोहर, हैजनवर्ग, रोबर्ट ओपेनहेमरहरूले गीता र उपनिषद्को सहयोगमा ‘सवएटमिक कण' को व्याख्या गर्न सहज भएको थियो । अथवा यसरी भनौं सूक्ष्म कणको व्याख्याको लागि यी ग्रन्थभन्दा उपयुक्त अस्त्र उनीहरूलाई उपलब्ध थिएन । सन् १९३२ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता जर्मन वैज्ञानिक हैजनवर्गले ‘सवएटोमिक' कर्णहरूका रहस्य बुझ्न मात्रै होइन, ‘क्वान्टम फिजिक्स' को रहस्य बुझ्नसमेत हिन्दुशास्त्रीय ग्रन्थहरू महत्ववपूर्ण कडी भएको उल्लेख गरेका छन् ।

पृथ्वी उत्पत्तिका विषयमा बाइबलले इसापूर्व ४००४ मा बनेको बताउँछ । बेबिलोन माया (म्याक्सिको) सभ्यताले पृथ्वीको उत्पत्ति लाखौं वर्ष पहिले भएको बताउँछ । वैदिक ग्रन्थहरूमा भने पृथ्वीको उत्पत्ति अर्बौं वर्ष पहिला भएको उल्लेख पाइन्छ । नभन्दै आधुनिक खगोल विज्ञानले समेत वैदिक प्रक्षेपणलाई पुष्टि गर्दै पृथ्वीको उत्पत्ति चार अर्ब ५४ करोड वर्ष पहिला भएको र ब्रह्माण्ड १३ अर्ब ७५ करोड वर्ष पहिला उत्पत्ति भएको निष्कर्ष निकालेको छ ।

यही तथ्यलाई हृदयंगम गरी पुलित्जर पुरस्कार विजेता अमेरिकी खगोल वैज्ञानिक कार्ल सेगन (सन् १९३४—१९९६) ले वैदिक खगोलशास्त्र मात्रै आधुनिक खगोलशास्त्रसँग मेल खाने उल्लेख गरेका छन् । उपनिषद् र वेदले चार हजार पाँच सय वर्षअघि तारामण्डल र आकाशगंगाका बारेमा गरेको व्याख्या आजको खोजभन्दा अलिकति पनि तलमाथि नभएको फ्रेन्च खगोलशास्त्री क्योडी वेलीले बताएका छन् ।

खगोलको ज्ञान, गणित तथा वैज्ञानिक शोध तथा अनुसन्धानको ज्ञान यो भूभागबाट अरेबिया, पर्सिया तथा अन्य क्षेत्रमा व्यापारको सिलसिला तथा सांस्कृतिक आदनप्रदानका क्रममा पुगेको इतिहासकार आरसी मजुमदारले उल्लेख गरेका छन् । ऋग्वेदमा समुद्र तथा मेरिटाइम गतिविधिको सयौ ठाउँमा चर्चा छ । यसबाट पनि त्यतिबेला व्यापार र सांस्कृतिक प्रदानको आयाम प्रस्ट्याउँछ ।

हामीलाई पाठ्यक्रममा पढाइएको विवरणले भन्छ- यो ब्रह्माण्डको पहिलो रहस्य पत्ता लगाउने खगोल वैज्ञानिक कपर्निकस हुन् । कपर्निकसले सन् १५४३ मा सूर्य सौर्यमण्डको केन्द्र भएको बताएका थिए, जसलाई पहिलोपटक सूर्यलाई अरू ग्रहले परिक्रमा गर्ने सिद्धान्तका प्रतिपादक मानिन्छ । तर योभन्दा एक हजार वर्ष पहिल्यै ब्रह्माण्डको यो रहस्य पूर्वीय दार्शनिकले उद्घाटन गरिसकेका थिए ।

संस्कृतमा भारतीको हालसालै प्रकाशित पुस्तक ‘प्राइड अफ इन्डिया' का अनुसार सन् ४९९ मै खगोल वैज्ञानिक आर्यभट्टले सूर्यकेन्द्रित सौर्यमण्डलको सिद्धान्त प्रतिपादन गरिसकेका थिए ।

संस्कृत शिक्षा बहिस्कार गर्ने, संस्कृतलाई पुरातन र कर्मकाण्डीको उपक्रम मात्रै ठान्ने र उपेक्षा गर्नेहरूको लागि यो अद्भुत शिक्षा हो । यो ज्ञान तथा सूचनाको प्रचार संस्कृत वाङ्मयको प्रवद्र्धन र संरक्षणबाट मात्रै सम्भव छ ।
—यात्री एपी वान टेलिभिजनका समाचार प्रमख हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.